महिनावारीमा लाज

महिनावारीमा लाज

महिनावारीबारे लाज मान्नुका धेरै गहिरा मनोवैज्ञानिक असर हुन्छन्। महिनावारी भएको छ भने पनि उसलाई थाहा छैन कि उसले अब के गर्ने ? कोसँग भन्ने कसरी भन्ने ? अनि रक्तस्राव देख्दा डराउँछे, रोइहाल्छे। उसले बुझेकी हुँदिन कि उसमा जीवनको एउटा चरण सुरु भएको हो। अनि जब घरमा लाज, लुकाउने व्यवहार देख्छे। उसको मनमा जन्मिन्छ– लाज, अपराधबोध र डर। यस्तो अवस्थामा, महिनावारी आफ्नै शरीरसँग रिस र घृणाको विषय बन्छ। त्यसैले हामीले अब महिनावारीलाई सामान्य, सकारात्मक र सशक्त बनाउँदै लैजानु आवश्यक छ।

परम्परा कि परिस्थिति ? :  समय फेरिएको छ। पुराना सोच र अभ्यासहरू अब विज्ञान, समझदारी र आत्म–सम्मानको दृष्टिकोणले पुनः मूल्यांकन हुनु आवश्यक छ। आजका किशोरीहरूमा पहिलेभन्दा चाँडै महिनावारी सुरु भइरहेको छ, जुन असन्तुलित आहार, तनावपूर्ण जीवनशैली, वातावरणीय असर र कम शारीरिक गतिविधिका कारण हुन सक्छ। कतिपय आमाहरू अझै पनि ‘यो हाम्रो संस्कार हो, बार्नै पर्छ’ भन्ने सोचमा अडिग छन्।

अघिल्लो पुस्ताको समयमा फर्केर हेर्दा, ‘बार्ने’ परम्पराको मूल कारण, सफा पानीको अभाव, सरसफाइको चुनौती, समुचित सामग्री नहुनु वा विश्रामको आवश्यकता थियो। तर आज ती बाध्यता छैनन्। सफा पानी, सेनेटरी प्याड, साबुन, सुरक्षित शौचालय— सबै सहज रूपमा उपलब्ध छन्। त्यसैले अब आवश्यक छ– सोचमा रूपान्तरण।

महिनावारी, जीवनको स्वाभाविक चक्र :  महिनावारी कुनै रोग होइन। न यो लाजको विषय हो, न त कमजोरीको संकेत। यो त प्रकृतिको एक अद्भुत चक्र हो, जसले जीवनको निरन्तरता सम्भव बनाएको छ। तर आज पनि छोरीहरू महिनावारी हुँदा आफैंलाई धिक्कार्छन्। यस्ता सोचको जरा संकुचित व्यवहार र खुला संवादको कमी हो। महिनावारी जानकारी मात्र होइन, समझदारी र भावनात्मक साथ पनि हो। उमेरअनुसार ८–९ वर्ष पार गरिसकेकी बालिकालाई महिनावारीबारे आधारभूत जानकारी दिन थाल्नुपर्छ। जस्तै, तिमीलाई एउटा समयपछि केही शारीरिक परिवर्तनहरू आउन सक्छन्, जुन सबै केटीमा हुन्छ भनेर सरल भाषामा कुरा थाल्न सकिन्छ।

परिवारको भूमिका :  घरमा भाइ वा दाजु छन् भने पनि छोरीलाई लुकाएर राख्ने होइन, उनीहरूलाई समेत सिकाइनुपर्छ। महिनावारी हुँदा दिदी–बहिनीलाई कसरी सहयोग गर्ने ? यसरी हामी घरभित्रै लैंगिक समानता र सहानुभूतिका बिउ रोप्न सक्छौं। भावनात्मक साथ कसरी दिने ? तातो पानी पिउन दिने, मिश्रीकाँडा पानी पिउन दिने, राति निद्रा नलागे गफ गरेर मन हलुका बनाउने, पेट दुख्दा मायालु स्पर्श दिने, तल्लो पेट हट्ब्यागले सेकाउने, राम्रो शान्त वातावरण बनाइदिने, सन्तुलित खानपान दिने— फलफूल, आयरनयुक्त खानेकुरा गाली नगर्ने, डर नदेखाउने बरु ‘यो सामान्य हो’ भनेर आत्मबल बढाउने।

विद्यालय र समाजको जिम्मेवारी :  विद्यालयहरूले महिनावारीलाई केवल स्वास्थ्य शिक्षाअन्तर्गत समावेश गरेर मात्र पुग्दैन। यो विषय विद्यार्थीको आत्मबलसँग जोडिएको छ। कतिपय व्यवहारले किशोरीहरू अझ संकोचमा छन्, ‘शिक्षकको अगाडि प्याड माग्दा लाज पो हुने हो कि ?’ ‘घरबाटै ल्याउनुपर्छ भनियो भने !’ हो, तसर्थ प्याडको प्रयोग, रगतको रंग, हार्माेनको प्रभाव, स्वभावको उतारचढावजस्ता सबै कुरा कक्षामा खुला र सहज रूपमा सिकाइनु पर्छ।

ग्रामीण र सहरी सन्दर्भ :  सहरका कतिपय विद्यालयमा महिनावारीबारे क्लास लिइँदैछ, तर गाउँका धेरै स्थानहरूमा अझै चुप्पी छ। कतै ‘यो त घरको कुरा हो’ भनेर टारिन्छ, कतै ‘यिनीहरूलाई किन अहिले नै भन्ने ?’ भनेर ढिला गरिन्छ। सहरमा सुविधा छ तर संवाद छैन। गाउँमा संवादको सुरुवात छैन, अझै परम्पराले थिचेको छ।

आमा–छोरी संवाद :  स्मार्ट पेरेन्टिङ नेपालको ‘अभिभावक चौतारी’मा आमाहरूले उल्लेख गरेका थिए–‘मलाई जब पहिलो पटक महिनावारी भयो, मलाई कोही थिएन सल्लाह दिने। डरले रोएँ। अब मेरो छोरीलाई त्यो पीडा नहोस् भनेर म खुलेर कुरा गर्छु।’
यस्ता आवाजले अब परिवर्तन सम्भव छ। जब आमाले डर हटाएर संवाद गर्छिन्, छोरीले आत्मविश्वास पाउँछे।‘सोचमा परिवर्तन अबको अनिवार्य आवश्यकता हो।’

‘अब हाम्रो समाजले निम्न कुरामा रूपान्तरण ल्याउनु अत्यावश्यक छ– प्याडलाई ‘विस्पर’ भनेर लाज नमानी, ‘सेनेटरी प्याड’ भन्न र माग्न सक्ने साहस, पसलमा लुकाएर होइन, खुला रूपमा दिइने संस्कार, विद्यालयमा निःसंकोच माग्न सक्ने आत्मबल, महिनावारी हुँदा पनि पढाइ, खेलकुद, घुमघाम रोक्न नपर्ने माहोल,किशोरीहरूलाई महिलापनप्रति गर्व गराउने वातावरण।’

निष्कर्ष– साझा जिम्मेवारी :  महिनावारीबारे कुरा गर्नु केवल आमाको जिम्मा होइन— बाबु, दाजु, शिक्षक, विद्यालय, स्वास्थ्यकर्मी, समाज सबैको साझा जिम्मेवारी हो। जब घर र विद्यालयले यसलाई जैविक, सामान्य, स्वाभाविक प्रक्रिया मानेर प्रस्तुत गर्छन्, तब मात्र छोरीहरूले आफ्नो शरीरप्रति गर्व गर्न सिक्छन्। सचेतना भनेको जानकारी दिनुमात्र होइन, सोच र व्यवहार बदल्ने प्रक्रिया हो र यो रूपान्तरण हामी सबैको सहभागिताबाट मात्र सम्भव छ।

यो लेख ‘स्मार्ट पेरेन्टिङ नेपाल’को अभिभावक चौतारी, एपिसोड –३६ मा आमाहरूले व्यक्त गरेको जीवन्त अनुभवको आधारमा तयार गरिएको हो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.