दुई दिनदेखि गोरखाको हिमालमा अलपत्र परेका आरोहीको उद्धार हुन सकेन
गोरखा : गोरखाको पाङ्वारी हिमाल आरोहणको क्रममा फसेका तीन इटालियन र एक नेपाली नागरिकको उद्धार हुन सकेको छैन । पहिलो शिविरमा फसेका ६७ वर्षीय स्तेफानो फरीनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटो र बेसक्याम्पमा फसेका ६५ वर्षीय भेल्टर पेरलिनोको दुईदिनदेखि उद्धार हुन नसकेको हो ।
साथै उनीहरूसँग शेर्पा अल्पाइन ट्रेकिङ सर्भिस प्रालिबाट गएका एक नेपाली सहयोगी पनि ४८ घण्टादेखि हिमालमा अलपत्र छन् । उनीहरूको उद्धारका लागि चुमनुब्री- १ साम्दोबाट गएका दुईजना सहयोगी पनि बेसक्याम्पमा रहेको प्रहरीले जनाएको छ ।
चुमनुब्री गाउँपालिका- १ मा अवस्थित ७००५ मिटर अग्लो सो हिमाल आरोहण गर्न नसकी उनीहरू बुधबार बिहान फर्केका थिए । फर्कने क्रममा भारी हिमपातका कारण उनीहरू फसेका सोही टोलीका सहयोगी राजु तामाङले जानकारी दिए । उनका अनुसार बेसक्याम्पमा पाँच फिटसम्म हिउँ जमेको छ भने पहिलो शिविरमा त्योभन्दा धेरै हिमपात भएको छ ।
फसेकामध्य बेसक्याम्पमा रहेका ६५ वर्षीय भेल्टर पेरलिनो खुट्टा मर्केर घाइते भएको उनले बताए । तामाङ र अरु दुईजना सहयोगी भने त्यहाँबाट फर्केर साम्दोमा आइपुगेका छन् । उद्धारका लागि हेलिकोप्टर माग गरे पनि प्रतिकूल मौसमका कारण उद्धार उडान सम्भव नभएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !