कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला जारी
काठमाडौं : नेपाली कांग्रेसमा नियमित महाधिवेशन गर्ने कि विशेष भन्नेमा विवाद बढ्दै जाँदा ध्रुवीकरण बढेको छ। कांग्रेसका नेताहरुबिच महाधिवेशनको विषयमा सहमति जुट्न नसक्दा संस्थापन पक्ष र संस्थापनइत्तर पक्ष गुटगत र समूहगत छलफलमा जुटेका छन्।
सोमबार कार्यसम्पादन समितिमा नरहेका संस्थापन पक्षका केन्द्रीय सदस्यहरूले भेलामा गरेका थिए। आज विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका नेताहरुको भेला जारी रहेको छ।
भेलामा कांग्रेस नेता गुरुराज घिमिरे लगायत सहभागी छन्। घिमिरेले नियमित महाधिवेशनको तयारीका लागि पार्टीले अग्रसरता नलिएकाले वैधानिक रूपमा महाधिवेशन गर्न आफूहरूले बाटो खोलिदिएको तर्क गरिरहेका छन्।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा विशेष महाधिवेशन माग गरेर बुझाइएको हस्ताक्षर एजेन्डा नबनेपछि संस्थापनइत्तर पक्षले पनि विशेष भेला आह्वान गरेको थियो। कांग्रेस नेता घिमिरेको नेतृत्वमा २९ असोजमा २,४८८ जना महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएपनि त्यसको औपचारिक जानकारी केन्द्रीय समिति बैठकको एजेन्डाका रूपमा प्रवेश भएको छैन।
कांग्रेसको दोस्रो पटक आइतबार बोलाइएको केन्द्रीय कार्यसमिति बैठक पनि आज दिउँसोसम्म स्थगित भएको छ। केन्द्रीय समिति बैठकमा महामन्त्री र संस्थापन पक्षले फरक–फरक कार्यतालिका प्रस्ताव गर्दै आएका छन्। महामन्त्रीद्वयले ढिलोमा पुसभित्रै महाधिवेशन गर्नुपर्ने अडान राख्दै आएका छन् भने संस्थापन पक्षले वैशाखमा महाधिवेशन गर्नुपर्ने र निर्वाचन अघि सम्भव नभएको र व्यवहारिक पनि नहुने अडानमा छन्।
प्रतिक्रिया दिनुहोस !