न्यूयोर्क मेयर चुनावबाट नेपालका जेनजीहरूले सिक्नुपर्छ : बाबुराम
काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अमेरिकाको न्यूयोर्कमा सम्पन्न मेयरको निर्वाचनबाट नेपालमा जेनजी र नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरूले सिक्नुपर्ने बताएका छन्। नेता भट्टराईले सामाजिक सञ्जालमा लेख्दै न्यूयोर्कको मेयरमा लोकतान्त्रिक समाजवादी विचारका जोहरान ममदानीको चुनावी अभियान र यसले उठाएका वैचारिक राजनीतिक मुद्दाहरूलाई सबैले अनुशरण गर्नुपर्ने बताएका हुन्।
'अमेरिकाको सबभन्दा ठूलो शहर न्यूयोर्कको मेयरमा लोकतान्त्रिक समाजवादी विचार अंगीकार गर्ने नवनिर्वाचित युवा जोहोरान ममदानीको चुनावी अभियान र त्यसले उठाएका वैचारिक-राजनीतिक मुद्दाहरूलाई हाम्रो नेपालका जेन-जी युवाहरू र नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरूले पनि उपयोगी सन्दर्भ-सामाग्रीको रूपमा लिन जरूरी छ,'उनले सामाजिक सञ्जालमा लेखेका छन्,' विचार र व्यक्ति दुवैको सम्मिश्रणले सही नेतृत्व जन्मन्छ। विचार विनाको व्यक्ति र व्यक्तित्व विनाको विचारले सही राजनीतिक नेतृत्व गर्न सक्दैन। विश्व इतिहासको अनुभवले यही भन्छ।'
न्यूयोर्कको मेयरमा ३४ वर्षीय ममदानी विजयी भएका छन्। उनी मुस्लिम समुदायबाट पहिलो मेयर बनेका हुन्। उनी न्यूयोर्कका पूर्व गभर्नर एन्ड्रयू कुमो र रिपब्लिकन कर्टिस स्लिभालाई पराजित गर्दै मेयर बनेका हुन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावअघि जोहरान ममदानीलाई मतदान नगर्न अपील गरेका थिए। ट्रम्पले यदि ममदानी मेयर बने भने उनलाई न्यूयोर्कलाई आर्थिक सहयोग गर्न गाह्रो हुने अभिव्यक्ति दिएका थिए।
प्रतिक्रिया दिनुहोस !