कक्रोच जनता पार्टीको मार्च गर्ने क्रममा दिल्लीमा तनाव: प्रदर्शनकारीमाथि प्रहरीद्वारा लाठी र अश्रुग्यास प्रहार

कक्रोच जनता पार्टीको मार्च गर्ने क्रममा दिल्लीमा तनाव: प्रदर्शनकारीमाथि प्रहरीद्वारा लाठी र अश्रुग्यास प्रहार
तस्बिर : बीबीसीबाट
सुन्नुहोस्

काठमाडौं : भारतमा शिक्षा प्रणालीमा सुधारको माग गर्दै 'कक्रोच जनता पार्टी' (सीजेपी)ले गरेको आह्वानपछि सोमबार हजारौं मानिसहरूले संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। तिनमा विद्यार्थी, अभिभावक,अभियानकर्मी तथा नेताहरू पनि छन्।

दिल्लीमा विरोधप्रदर्शन गर्न तोकिएको स्थान जन्तरमन्तरमा प्रदर्शनकारीहरूको घुइँचो लागेको छ। त्यहाँ सयौँको सङ्ख्यामा प्रहरी तथा अर्धसैनिक बलका सुरक्षाकर्मीहरू खटाइएको छ।

समाचारसंस्था एएनआईले सार्वजनिक गरेको भिडिओमा केही सुरक्षाकर्मीहरूले सीजेपीका समर्थकहरूलाई तितरबितर पार्न लाठीचार्ज गरेको देखिएको छ। प्रदर्शनकारीहरू अगाडि बढ्न खोजेपछि प्रहरीले एक ठाउँमा उनीहरूलाई तितरबितर पार्न अश्रुग्यास पनि प्रहार गरेको छ।

सीजेपीको समर्थनमा २१ दिनदेखि अनशनमा बसेका अभियानकर्मी तथा शिक्षाविद् सोनम वाङ्चुकलाई शनिबार सुरक्षाकर्मीहरूले बलपूर्वक अस्पताल लगेपछि तनाव चुलिएको हो। उनले अस्पतालमा पनि अनशन जारी राखेका छन्।

दिल्ली प्रहरीले प्रदर्शनकारीहरूलाई मार्च गर्ने अनुमति नभएको बताएको छ। तर, सीजेपीका प्रवक्ताले बीबीसीलाई बताएअनुसार अनुमति नभए पनि प्रदर्शनकारीहरू संसद् भवनतिर बताएका थिए। सीजेपीको स्थापना अभिजित दीपकेले गरेका हुन्।

पार्टी भनिए पनि सीजेपी कतै दर्ता भएको राजनीतिक संस्था भने होइन। प्रश्नपत्र बाहिरिनेसहित परीक्षामा हुने अनियमितताको विरोध गर्न गत मे महिनामा अनलाइन मञ्चमा व्यङ्ग्यात्मक आन्दोलनका रूपमा यो समूह अगाडि आएको थियो।

त्यसपछि सीजेपीले ठूलो समर्थन पाएको छ। शिक्षा क्षेत्रमा देखिएको अनियमितताको जिम्मेवारी धर्मेन्द्र प्रधानले लिनुपर्ने र राजीनामा दिनुपर्ने माग सीजेपीका समर्थकहरूको छ। तर प्रधानले सीजेपी र त्यसका समर्थकहरूलाई "उच्छृङ्खल तत्वहरूको बी-टीम" भन्दै आलोचना गरेका छन्।

सीजेपीका प्रवक्ता सौरव दासले सीजेपीका संस्थापक अभिजित दीपकेलाई प्रहरीले नियन्त्रणमा लिएको  दाबी गरेका छन्। ​​​​​​​सौरव दासले सडकमा ओर्लिएका विद्यार्थीहरूको पक्षमा उभिन सबै सांसदहरूलाई आह्वान गरेका छन्। उनले प्रहरीले शान्तिपूर्ण प्रदर्शनकारीहरूलाई कुटपिट गरिरहेको दाबी गरेका छन्।

बीबीसी हिन्दीका अनुसार यसअघि सीजेपीका संस्थापक अभिजित दीपके र सोनम वाङ्चुककी पत्नी गीताञ्जलि जे अङ्ग्मोले सोमबार संसद्‌तिर मार्च गर्ने प्रयास गरेका थिए। तर प्रहरीले उनीहरूलाई रोकेको थियो।

दिल्लीमा सोमबार बिहान ठूलो वर्षा भए पनि जन्तरमन्तरमा भेला भएका सयौँ प्रदर्शनकारीहरू विचलित भएनन्। धेरै प्रदर्शनकारीहरूले भारतको राष्ट्रिय झण्डा फहराएका थिए भने केहीले शान्तिको प्रतीकस्वरूप प्लास्टिकका गुलाफका फूलहरू हातमा लिएका थिए।

सुरुमा प्रहरीले उनीहरूमाथि सामान्य बल प्रयोग गरेको थियो। अत्यधिक गर्मीका कारण केही मानिसहरू बेहोस पनि भए। केही मानिसहरू विरोधप्रदर्शनस्थलबाट अन्यत्र गएको पनि देखियो।

कक्रोच जनता पार्टीले आफ्ना समर्थकहरूले जसरी पनि संसद्‌सम्म शान्तिपूर्ण मार्च गर्ने दाबी गरेको थियो। 'ठूलो वर्षा र कडा सुरक्षा...। तर आज कक्रोचलाई कसैले रोक्न सक्ने छैन,'सीजेपीले सामाजिक सञ्जाल 'एक्स'मा लेखेको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.