कोशीमा २ अर्ब ५ करोडको धानबाली क्षति

कोशीमा २ अर्ब ५ करोडको धानबाली क्षति

सुनसरी : अविरल वर्षा र हावाहुरीले कोशी प्रदेशका किसानलाई ठूलो नोक्सानी पुगेको छ। प्रदेश कृषि निर्देशनालय विराटनगरको विवरणअनुसार प्रदेशका १४ जिल्लामा ५८ हजार २६७.२६ टन पाकिसकेको धान नष्ट भएको छ।

अविरल वर्षा र हावाहुरीका कारण करिब १२ हजार ६ सय ३२ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको कोशी प्रदेश कृषि निर्देशनालयकी प्रवक्ता पूर्णिमाया गुरुङले जानकारी दिइन्। उनका अनुसार प्रदेशको कृषि क्षेत्रको मेरुदण्ड मानिने धानखेती यसपटक गम्भीर संकटमा परेको छ। गुरुङका अनुसार सबैभन्दा बढी क्षति झापामा २१ हजार ८ सय २० टन, मोरङमा १६ हजार ४२०.८ टन र सुनसरीमा १२ हजार ६५८.४४ टन धानमा क्षति पुगेको छ।

उदयपुरमा १ हजार २९२ टन, खोटाङमा ४५०, भोजपुरमा ७४०, इलाममा ८९७.८, धनकुटामा ३८९.४, पाँचथरमा ३४१.४१, ओखलढुंगामा १९०, संखुवासभामा ३१२.५, सोलुखुम्बुमा ४०.९५ र तेह्रथुममा ३७२.०९ टन धानबालीमा क्षति पुगेको छ। वर्षा, बाढी र हावाहुरीले प्रदेशभर करिब २ अर्ब ५ करोड ४३ लाख ६७ हजार रुपैयाँबराबरको क्षति पु¥याएको कृषि निर्देशनालयले जनाएको छ। खोटाङको दिक्तेलका किसान मोतीराम आचार्यले वर्षाले खेतमा स्वत्तर बनाएको धान पूर्णरूपमा डुबानमा परेको छन् भने कतिपय ठाउँमा ढलेर कुहिन थालेका बताए। 

सुनसरीका बराहक्षेत्र, दुहबी, इटहरी र इनरुवाका किसानहरूले पनि डुबान र हावाहुरीका कारण धान बाली नष्ट भएको गुनासो गरेका छन्। कृषि निर्देशनालयले अनुमानित क्षतिको मूल्यांकनसहित किसानलाई आवश्यक राहत र क्षतिपूर्तिका लागि कृषि मन्त्रालयमा लिखित विवरण पेस गरिएको प्रवक्ता गुरुङले बताइन्। 

खोटाङका किसान पर्वत आचार्यले कृषि प्राविधिकहरू क्षति भएको ठाउँमा भने नाअएको बताए। कृषि निर्देशनालयले स्थानीय निकायले दिएको टिपोटकै भरमा विवरण सार्वजनिक गरिएको किसानले बताए। किसानका अनुसार वास्तविक क्षति निर्देशनालयको विवरणभन्दा धेरै छ। ‘पानीले भिजेको धान टुसा पलाएर काम लाग्दैन, हावाहुरीले लडाएको धानको पराल पनि कुहिएर नष्ट भयो’, मोरङको रतुवामाई नगरपालिका–७ का वडाध्यक्ष राम कार्कीले भने। कोशी प्रदेशका किसानले पाकिसकेको धान नष्ट भई जीवनयापनमै संकट परेको भन्दै तत्काल क्षतिपूर्तिको माग गर्दै स्थानीय निकाय, प्रदेश सरकार र संघीय सरकारको ध्यानाकर्षण गराएका छन्।

कृषि प्राविधिकको प्रारम्भिक अध्ययनअनुसार तराईका जिल्लामा करिब ३० प्रतिशत र पहाडी तथा हिमाली जिल्लामा २५ प्रतिशत धान उत्पादनमा क्षति पुगेको छ। यसले प्रदेशको खाद्यान्न सुरक्षामा ठूलो चुनौती उत्पन्न गरेको छ। कृषि निर्देशनालायका निर्देशक प्रकाशकुमार डाँगीका अनुसार वर्षा र हावाहुरीका कारण खेत डुबानमा परेपछि धानको जरा सड्ने, बोट ढल्ने र बालामा दाना नलाग्ने समस्या देखिएको छ। यसले किसानको लगानी मात्र होइन, खाद्य सुरक्षामा पनि संकट निम्त्याएको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.