राष्ट्रिय टिमका खेलाडीहरू नै पम्पलेट बोकेर जब एन्फा कार्यालयमा धर्ना दिन पुगे...

राष्ट्रिय टिमका खेलाडीहरू नै पम्पलेट बोकेर जब एन्फा कार्यालयमा धर्ना दिन पुगे...

काठमाडौं : नेपाली फुटबल अहिले यस्तो अवस्थामा छ, जहाँ राष्ट्रिय टिमका खेलाडीहरू मैदानमा खेल्न छोडेर आधिकारिक संघको गेटमा पुगेर धर्ना दिइरहेका छन्। बिहीबार नेपाल राष्ट्रिय टिमका खेलाडी, फुटबल खेलाडी संघ र समर्थकहरू बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यालय अगाडि धर्ना दिए। शान्तिपूर्ण गरिएको प्रदर्शनमा खेलाडी तथा समर्थकलाई एन्फा प्रांगनभित्र प्रवेश गर्न दिइएन। भित्र प्रवेश नै नपाएपछि खेलाडीहरूले आफूले फुटबल खेलेर कमाएको मेडल मूल गेटमा झुन्डाइदिए। ‘मेडल एन्फाले नै लगाओस्,’ एक राष्ट्रिय खेलाडीले भने, ‘खेल्न पाउनुपर्‍यो भनेर संघ अगाडि आन्दोलन गर्ने दिन आयो। योजस्तो विडम्बना के होला?’

फुटबलमा अहिलेसम्म यस्तो अवस्था आएको थिएन। खेलाडीले गएर कार्यालय अगाडि धर्ना बस्नुपर्ने अवस्था आउँदासम्म एन्फा नेतृत्वले उत्तर दिएको छैन। एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङ चितवनमा छन्। फिफा फुटबल फर स्कुलका  महासचिव किरण राई एन्फा प्रेसिडेन्ट कपका लागि हेटौंडामा छन्।

राष्ट्रिय टिमका खेलाडीहरू अन्जन बिष्ट, रोहित चन्द, विकेश कुथु, एरिक बिष्ट, विराज महर्जनजस्ता खेलाडीहरू एन्फा अगाडि धर्नामा पुगेको थियो। खेलाडी र खेलाडी संघको एकमात्र एजेन्डा थियो, डिभिजन लिगहरूको निरन्तरा। तर,  यस विषयमा जवाफ खेलाडी र खेलाडी संघले पाएको छैन।

खेलाडी संघका अध्यक्षसहितको टिमले नवनियुक्त खेलकुद मन्त्री बब्लु गुप्तालाई समेत भेटे। उनीहरूले सोही कुराको माग गरे। साढे २ वर्षभन्दा बढी समयदेखि ए डिभिजन लिग भएको छैन। नेपाली फुटबलको राष्ट्रिय टिम छनोट माध्यमको रूपमा रहेको डिभिजन लिगहरू निरन्तर नहुँदा खेलाडीहरू बेरोजगार छन्। खेलाडी संघका अध्यक्ष विक्रम लामाले अन्नपूर्ण पोस्ट्सँगको कुराकानीमा भने,’ हालको नेतृत्वसँग फुटबल नीति नै छैन। खेल नीतिभन्दा बढी हालको नेतृत्वले कूटनीति गर्‍यो। निरन्तररूपमा फुटबल हुने प्रणाली नै भएन।’

बिहीबार प्रदर्शनका क्रममा आफूहरूले यही मागहरू राखी प्रदर्शन गरेको विक्रमले बताए। नेपाली फुटबलको इतिहासमा अघिल्लो पुस्ताले गर्न नसकेको विद्रोह आफूहरूले गरेको उनको भनाइ छ। ‘नेपाली फुटबलमा भएको चरम लापरबाहीको विरुद्धमा हामीले आवाज उठाएका हौं। यस अगाडिको पुस्ताले आवाज उठाए उठाएनन्, थाहा भएन तर हाम्रो पुस्ताले आगामी पुस्ताको भविष्यको सुनिश्चितताका लागि भए पनि बलिदान गर्न तयार भएका हौं।’

नेपाली घरेलु फुटबल चलायमान बन्ने प्रमुख आधार हो, डिभिजन लिग। शीर्ष डिभिजन लिग नभएको साढे दुई वर्ष भयो। त्यसयता बारम्बार नेपाल फुटबल खेलाडी संघले ज्ञापनपत्र बुझाउने नेतृत्वलाई झक्झकाउने काम गरिरहेको छ। तर, नेतृत्वले आफूहरूको सुझावलाई गम्भीरतापूर्वक नलिएको लामाले बताए। 

‘हामीले पछिल्लो साढे दुई वर्षदेखि ज्ञापनपत्र बुझाउने र उहाँहरूलाई झक्झकाउने काम गरिरहेका छौं। उहाँहरूको कानसम्म हाम्रो आवाज नपुग्दा हामीले नेपाली फुटबलको इतिहासमा पहिलो पटक एन्फा अगाडि धर्ना बस्न बाध्य भएका हौं,' उनले भने।

पछिल्लो समय पंकज विक्रम नेमवाङको अध्यक्षतामा आएको नेतृत्वले कामभन्दा बढी राजनीतिक कारणबाट चर्चा कमाइरहेको छ। पदाधिकारीको विदेश भ्रमण होस् या खेलाडी र खेलसँग सम्बन्धित विषय। फुटबल मैदानमा भन्दा बढी एन्फा कार्यालयमा भइरहेको छ।

null

राष्ट्रिय लिग डिभिजन लिगको सही विकल्प हो?
नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका प्रमुख प्रशिक्षक म्याट रसले लिग नै नभएको देशमा फुटबल खेलाडीले कसरी राम्रो प्रदर्शन गर्न सक्छ? भन्ने कुराको प्रश्न उठाएका थिए। भदौमा नेपालले बंगलादेशसँग २ खेल सम्मिलित मैत्रीपूर्ण खेल खेल्यो। पहिलो खेलमा नेपालले गोलरहित बराबरी खेल्यो।

दोस्रो खेल अगाडिको प्रिम्याच प्रेस कन्फ्रेन्समा पूर्व प्रशिक्षक म्याट रसले भनेका थिए, ‘लिग नै नभएको देशमा राष्ट्रिय टिमका खेलाडीले गोलरहित बराबरी खेल्नु पनि ठूलो कुरा हो।’ डिभिजन लिग निरन्तर हुने हो भने ए डिभिजन, बी डिभिजन र सी डिभिजन गरी हजारौं खेलाडीले प्रतिस्पर्धा गर्ने मौका पाउँछन्। जसबाट राष्ट्रिय टिमको बलियो आधार तयार हुन्छ। विडम्बना हालको एन्फा नेतृत्व यस विषयमा निकै असक्षम र निरीह देखिएको छ। एन्फा र ए डिभजिन क्लबीच सहमति भएको राष्ट्रिय लिगमा खेल्ने खेलाडीभन्दा हेर्ने खेलाडीको संख्या बढी हुन्छ।

हालः हेटौडामा भइरहेको प्रेसिडेन्ट कपको शीर्ष ४ टोलीले पछिल्लो पटक भएको ए डिभिजन क्लबको शीर्ष छ टोलीसँग प्रतिस्पर्धा गर्नेछ। जसमा विभागीय टुई टोली समावेश हुने छैनन्। त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबले पनि राष्ट्रिय लेखको लागि आफूहरू सहमत रहेको भन्दै हस्ताक्षर गरे। वर्षभरि प्रशिक्षण गरेर लिग नखेल्ने निर्णयमा विभागीय टिमहरूले किन हस्ताक्षर गरे? यो अर्को प्रश्न हो ।

नेपाली फुटबल यसपटकमात्र होइन, इतिहासमा पनि नियमित लिग हुन सकेको छैन। विसं २०६० सालयताको मात्रै तथ्यांक हेर्दा पनि लिग नियमित छैन। ‘नेपाली फुटबलमा खेल शिक्षा छैन। खेलको प्राविधिक पक्ष, प्रशिक्षकको शिक्षा तथा फुटबलसँग जोडिएको कुनै पनि शिक्षा नीति नै छैन। नेपालले हालसम्म एउटा पनि प्रो लाइसेन्स प्रशिक्षक जन्माउन सकेको छैन। फुटबल पूर्वाधार छैन,’ विक्रम लामाले भने।

राष्ट्रिय टिमको खेलाडी हुँदै हालः फुटबल खेलाडी संघको अध्यक्षसम्म पुगेका विक्रम लामा भन्छन्, ‘किरण चेम्जोङ, रोहित चन्दजस्ता खेलाडीको विकल्प हामीले तयार गर्न सकेका छैनौं। अबको ४/५ वर्षपछिको राष्ट्रिय टिमको भविष्य के?’

लिग नहुँदा खेलाडीलाई जीविकोपार्जनमा पनि समस्या परेको छ। खेलाडी संघका अध्यक्ष लामा भन्छन्, ‘खेलाडीले विगत साढे दुई वर्ष यता लिग खेल्न पाएको छैन जसले गर्दा खेलाडीको आर्थिक पाटो पनि कमजोर बन्दै गइरहेको छ।’

नेपाली राष्ट्रिय पुरुष टिमका खेलाडीहरू बंगलादेशको लिग खेल्न गइरहेका छन्। कोही भुटानमा लिग खेलिरहेका छन्। नेपालमा लिग नहुँदा छिमेकी राष्ट्रहरूमा हुने लिगमा गएर भए पनि खेलाडीले खेलेर आम्दानीको स्रोत खोजिरहेका छन्।

किन मौन छ एन्फा?
एन्फाको चौतर्फी आलोचनाका बीच पनि मौन छ। सञ्चारमाध्यम, खेलाडी तथा आफ्नै कार्यसमिति भित्रका सदस्यले समेत पारदर्शीता र क्षमतामाथि प्रश्न गरिरहँदा पनि जिम्मेवार पदमा रहेका अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राई मौन छन्। यस विषयमा विभिन्न तर्क वितर्क गर्दै राष्ट्रिय लिगको अवधारणा अघि सारेको एन्फाले आफूमाथि उठेका प्रश्नको जवाफ कहिलो दिने?

नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले एन्फालाई लिग गराउन भनिरहँदा पनि एन्फा बने आफ्नो अड्डी छोड्दैन। हालः हेटौंडामा प्रेसिडेन्ट कप भइरहेको छ। सोही प्रतियोगिताबाट सेमिफाइनल पुगेका चार टिमले राष्ट्रिय लिग खेल्नेछन्। राष्ट्रिय लिगको विजेता टोलीले एएफसी क्लब प्रतियोगितामा भाग लिन पाउनेछ। एन्फा कार्यालयभित्र पक्षभन्दा बढी विपक्षीहरू  हुन्छन्। जसको फलस्वरूप एन्फाले गराएको खेलभन्दा राजनीतिक घटनाक्रमको समाचार बढी बन्छन्। जसको तात्तातो उदाहरण हो, उपाध्यक्ष वीरबहादुर खड्कालाई निलम्बन गरिनु।

साधारण सभाबाट पारित भएको १० करोड ४६ लाख बराबरको बजेटसहितको ए डिभजिन लिग महासचिव किरण राईले एक्लो निर्णयले रोकेको भन्दै वीरबहादुर खड्काले उनलाई आफू कार्यवाहक अध्यक्षको पद सम्हाल्दा निलम्बन गरे। तर, त्यसको ठीक विपरीत महासचिव किरण राईले उनलाई नै अनुशासनहीन भनेर अर्को साधारणसभा नहुँदासम्मका लागि निलम्बन गरेको निर्णय निकाले। 

null

एन्फाभित्रको राजनीतिले फुटबल मैदानमा भन्दा बढी कार्यालयमा देखिएको कारण एन्फाका कार्यसमिति सदस्य पदीय लाभको लागि सही र गलत छुटाउन नसक्नु रहेको उपाध्यक्ष रहेका वीरबहादुर खड्काले अन्नपूर्ण पोस्टसँग बताए। ‘जबसम्म जिल्लाका १०५ जना सदस्य र कार्यसमितिका सदस्यहरूले स-साना स्वार्थका लागि आफ्नो अधिकार बोध गर्दैनन्। तबसम्म नेपाली फुटबल सुध्रिँदैन,’ उनले भने।

फुटबलमा भएको विसंगति र निर्णयहरूप्रति सही र गलत छुट्याउनसक्ने क्षमता हुँदाहुँदै पनि कार्यसमितिका सदस्यहरु मौन हुँदा गलत निर्णयहरू पारित भइरहेको खड्काले बताए।

राष्ट्रिय टिमका खेलाडी भन्छन्ः पलायन हुने अवस्था नआओस्
नेपाली राष्ट्रिय टिमका खेलाडीहरूरु देशमा घरेलु फुटबल खेल्न पाउँ भनेर एन्फा कार्यलय अगाडी बोल्दै थिए। राष्ट्रिय टिमका फर्वाड अन्जन विष्ट भन्छन्, ‘कति खेलाडीहरू विदेशीसके। मेरो दाइ, साथीहरू विदेशीए। यो अवस्था आगामी दिनमा नआओस् भन्ने नै हो। एन्फाले आगामी दिनमा घरेलु फुटबल गरेर हाम्रो कुरा सुनिदिओस्।’

उनीसँगै प्रदर्शनमा पुगेका प्रायः जसो विदेशी लिगमा व्यस्त हुने, राष्ट्रिय टिमका डिफेन्डर रोहित चन्द भन्छन्, ‘म त विदेशमा खेल्छु। विदेशमा भएजस्तै गरी नेपालमा पनि फुटबल होस्। व्यवस्थित होस् भन्ने हो।’

सिनियर खेलाडी विराज महर्जन भन्छन्, ‘मैले ३० वर्ष फुटबल खेलें। तर, आज आएर भाइहरू सडकमा आउने स्थिति भयो। यो स्थितिको अन्त्य हुनुपर्छ। खेलाडीले रोजगारीको अवस्था पाउनुपर्छ।’ राष्ट्रिय टिमका सर्वाधिक सफल कप्तानको छवि बनाएका विराजले थपे, ‘एन्फाले छिटो भन्दा छिटो ए डिभिजन लिग हुने वातावरण बनाओस्।’  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.