अवस्था र व्यवस्थाले बढायो युवा पलायन

अवस्था र व्यवस्थाले बढायो युवा पलायन

जहाँ मान्छेको सम्मान छैन। रोजगारीको सम्भावना छैन। बन्धुबान्धव तथा इष्टमित्र पनि छैनन्। विद्याप्राप्तिको कुनै उपाय छैन। त्यस्तो ठाउँ वा देशलाई छोडिदिनुपर्छ। चाणक्य नीतिमा यी कुरा लेखिएका छन्। चाणक्य नीतिमा लेखिएका उपर्युक्त संस्कृतका श्लोकहरू हाम्रो देशको वर्तमान सन्दर्भमा ठ्याक्कै मिलेका छन्। यहाँ देशलाई छोड्नुपर्ने अवस्था छ।

युवाले देशमै भविष्य खोजेका थिए र अझै खोजिरहेका छन्। तर सरकार युवालाई देशमा टिकाउन होइन, लखेट्न उद्यत् रहँदै आयो। आधुनिक सूचना, सञ्चार र प्रविधिको माध्यमले विश्वसँग भलभाँती परिचित युवा हरेक विषयमा सचेत र सजग छन्। यिनै सचेत र सजग युवाले आफ्ना कदमविरुद्ध आवाज उठाउँछन्, आन्दोलन गर्छन्। आफ्नो राजनीतिक र सत्तायात्रामा अवरोध सिर्जना गर्छन् भनेर हरबखत चिन्तित रहँदै आयो सरकार र राजनीतिक नेतृत्व पनि। ऐन, मौकामा तिनै युवालाई प्रयोग गरेर सत्तामा पुगेका नेताहरूले पनि आफ्नो स्वार्थ पूरा भएपछि युवालाई उपेक्षा गर्ने वा पन्छाउने परिपाटी विगतदेखि नै चल्दै आयो। युवालाई शिक्षा, रोजगारी, उद्यमशीलता आदिको अवसरबाट बञ्चित गरेर राज्यले युवा मनमा निराशा भर्ने काम गर्‍यो। अनि देशप्रति निराशा र विद्रोहको बिज रोप्यो।

विगतका कुनै पनि सरकार युवाको शक्ति, जोश, जाँगर, सिर्जनशीलता र उद्यमशीलतालाई राष्ट्रिय विकासमा उपयोग गर्न तत्पर बनेन। बरु तिनै युवाको जोश र जाँगरबाट तर्सेको सरकार आफ्नो सत्ताको जग हल्लाउन लागिपर्छन् कि भनेर हरदम त्रसित रह्यो। त्यसैले सरकार आफ्नो सत्तायात्रालाई सहज र निष्कन्टक बनाउन त्यस्ता युवालाई पन्छाउने दाउमा मात्रै केन्द्रित रहँदै आयो। अवसरको खोजीमा रहेका र परिवर्तनको आकांंक्षी युवालाई शिक्षा, रोजगारी र उद्यमशीलताको अवसर नै नदिएर चरम निराशाको चपेटामा पारेर देशबाट पलायन हुने अवस्थामा धकेल्न निरन्तर प्रयत्नरत रहँदै आयो। अनि युवा पुस्ता पनि देशमा विद्यमान अनेकौं बेथिति र आफूप्रति राज्यले गरेको उपेक्षाले निराश र विरक्त भएर देशै छोड्ने मनस्थितिमा पुगे। देशमै भविष्य खोज्ने युवाको कहालीलाग्दो पलायन यही निराशा र विरक्तिको परिणाम हो।

राष्ट्रिय युवा नीति २०८२ ले परिभाषित गरेको नयाँ परिभाषाअनुसार १८ देखि ३५ वर्षको उमेरलाई युवा भनिएको छ। यही नयाँ परिभाषाअनुसार देशको कुल जनसंख्यामा ३१.६२ प्रतिशत अर्थात् ९२ लाख २० हजार ७ सय १२ युवा जनसंख्या रहेको देखिन्छ। तर देश विकास र समृद्धिको सपना साकार पार्न आवश्यक ऊर्जाशील युवा जनसंख्याको झन्डै ६० लाख अर्थात् ६५.० प्रतिशत युवा रोजगारीका लागि बिदेसिएको सरकारी तथ्यांक छ। अद्यापि बर्सेनि करिब ८ लाख युवा रोजगारीका लागि बिदेसिइरहेका छन् भने शिक्षाआर्जनका बर्सेनि एक लाखभन्दा बढीको संख्यामा संसारका विकसित मुलुक पुग्ने गरेका छन्। जसमध्ये धेरै उतै बस्छन् र थोरैमात्र स्वदेश फर्किन्छन्। देश विकास र निर्माणका लागि अत्यावश्यक ऊर्जाशील युवा जनशक्ति यसरी बिदेसिनु देशकै दुर्भाग्य हो। देशका लागि अत्यावश्यक युवा जनशक्तिलाई स्वदेशमै रमाउने र स्वदेशमै कमाउने वातावरण सिर्जना गर्न नसक्नु दुर्भाग्य हो, विडम्बना हो।

युवाले समयको पदचापलाई चिन्न सक्छन् र समयसँगसँगै हिँड्न पनि खोज्छन्। युवाको समयको पदचापलाई चिन्न सक्ने क्षमता र समयसँगसँगै हिँड्न खोज्ने चाहना र आकांक्षालाई राज्यले चिन्न वा बुझ्न नसक्नु त्यो राज्यको ठूलो कमजोरी हो। राज्यले युवाको फरक क्षमतालाई चिन्न नसक्दा र युवाको चाहना र आकांक्षालाई बुझ्न नसक्दा युवामनमा निराशा, कुण्ठा र विद्रोह उत्पन्न हुन्छ। त्यो निराशा, कुण्ठा र विद्रोह यथास्थितिवादी राज्यसत्ताका निम्ति घातक पनि हुन सक्छ। समयसमयमा युवा पुस्ताले गर्ने आन्दोलन र तिनले राज्यसत्तालाई पारेको प्रभावबाट यो तथ्य पुष्टि हु्ँदै आएको छ। नेपालमा पछिल्लो पटक भएको जेन-जी आन्दोलनले यो तथ्यलाई थप पुष्टि गरेको छ।

वर्तमान समयमा युवा र डिजिटल प्लेटफर्म एकअर्काको पर्यायजस्तै भएका छन्। धेरैले ठान्छन, डिजिटल प्लेटफर्म मनोरञ्जनको साधनमात्रै हो। तर कुरा त्यस्तो होइन। डिजिटल प्लेटफर्म त युवाको आधुनिक शिक्षाको कक्षाकोठा पनि हो। रोजगारीको ढोका हो। आफ्नो सिर्जनात्मक क्षमता देखाउने थलो पनि हो र विश्वसँग प्रत्यक्ष सम्पर्क राख्ने भरपर्दो सेतु पनि हो। यस्तो महत्त्वपूर्ण माध्यमलाई युवा पुस्ताले सरकारको विरोध गर्ने माध्यम बनायो भनेर सरकारले डिजिटल प्लेटफर्ममाथि बन्देज लगाएर अप्रत्यक्ष रूपमा युवा पुस्तालाई निराश भएर विदेश पलायन हुन प्रेरित गर्‍यो। भ्रष्टाचारले देशको अर्थतन्त्रलाई जर्जर बनायो र समाजमा आर्थिक असमानता बढायो भनेर भ्रष्टाचार नियन्त्रण र सुशासनको माग गर्ने युवालाई गोली हानेर हत्या गर्ने निर्दयी र अविवेकी सरकारले युवा पुस्तालाई देशबाटै लखेट्न खोजेको महसुस गराएको छ। यतिमात्रै होइन, लोकतन्त्रमा पनि निरंकुशताको आभास गराएको छ। युवा पुस्ता तँछाडमछाड गर्दै बिदेसिन आतुर हुनुको पछाडि यस्तैयस्तै कारण छन्। त्यसैले देश छाड्ने युवा दोषी होइनन्। बरु युवालाई आफ्नै देशमा पराई बनाउने व्यवस्थाको दोष छ।

चाणक्य नीतिमा भनिए झैं देशमा बस्न र टिक्नका लागि न युवाको फरक क्षमताको कदर र सम्मान हुन सक्यो। न त युवाले खोजेको रोजगारी नै दिन सक्यो। न त विद्या प्राप्तिको उचित अवसर नै दिन सक्यो। बरु देशमा बस्ने वातावरण देऊ। देशमा गरिखाने अवसर देऊ भनेर आवाज उठाउने युवामाथि गोली बर्साएर राज्यसत्ताले निरंकुशताको प्रदर्शन गर्‍यो। आन्दोलनकारी जेन-जीहरूलाई आतंककारीको आरोप पनि लगाइँदैछ। वर्षौंदेखि राजनीतिक आतंक मच्चाउँदै हत्या र हिंसालाई प्रश्रय दिएर जनतालाई त्रसित र भयभीत पार्दै आएका र परिवर्तनका आकांक्षी स्वाभिमानी युवालाई आतंककारीको विशेषण दिइने संस्कार बोकेका नेताहरूको हालिमुहाली भएको देशमा कसरी टिक्न सक्छन् आफ्नो योग्यता, क्षमता र 

दक्षतामा विश्वास गर्ने स्वाभिमानी युवा ?

जन्मँदै भ्रष्टाचार देख्नुपर्ने र जन्मँदै झन्डै ९१ हजार रुपैयाँको सार्वजनिक ऋण बोक्नुपर्ने देशमा जन्मेका युवाले पाइलापाइलामा बेथितिको सामना गर्नुपर्ने अवस्था छ। तैपनि देशप्रेमी स्वाभिमानी युवा देशकै माटोमा आफ्नो श्रम, सीप र सिर्जनाको सुवास छर्न लालायित छन्। तर राज्यसत्ता आफ्नो बैरी बनेको अनुभूति गर्न विवश छन् युवा पुस्ता। देशले आफूलाई लखेट्न खोजेको तीतो अनुभूतिले मनमा तिक्तता बोकेर बाँच्न विवश छन् युवा पुस्ता। त्यही तिक्तताले युवाले बेलाबेलामा राज्यसत्ताका विरुद्ध आन्दोलन गर्दै आएका छन्। यसो त हरेक परिवर्तनकारी क्रान्तिमा युवाकै भूमिका उल्लेख्य रहँदै आएको छ। युवाले देशमा बसेर न सुशासनको अनुभूति गर्न पाए। न न्यायको अनुभूति गर्न पाए। न कुनै अवसर प्राप्त गरे। जताततै आफू उपेक्षित भएको, हेपिएको, थिचिएको र ठगिएको अनुभूति गरेका युवा कसरी टिक्न सक्छन् देशमा ? पाइलापाइलामा बेथिति देख्न र निराशा भोग्न विवश युवाको मनमा सधैं उब्जिरहने एउटै प्रश्न हो यहाँ बसेर के हुन्छ ? यही प्रश्नले लखेटिएर विदेश पलायन हुँदैछन् नेपाली युवा। सहज जीवनयापन र सुरक्षित भविष्य हरेक नागरिकको सपना हो। त्यही सपना युवाले देख्नु अनौठो होइन।

त्यसैले सहज जीवनयापन र सुरक्षित भविष्यका लागि युवाले देशमा सबै प्रकारका बेथितिको अन्त्य होस् भन्ने चाहेका हुन्। न्याय र सुशासनको अनुभूति गर्न पाइयोस्। सहज जीवनयापन गर्न पाइयोस् र भविष्य सुरक्षित बनोस् भन्ने चाहेका हुन्। अतः देशमा सुशासन, न्याय र समान अवसरको वातावरण सिर्जना नभएसम्म युवा पलायनको गति रोकिने अपेक्षा गर्नु व्यर्थ छ। अनि युवा चाहना र आकांक्षालाई बुझ्ने चेष्टा नै नगरी युवा पलायन बढ्यो भनेर रोइँदालो गर्नु पनि व्यर्थ छ। युवाको चाहना बुझ्ने, उनीहरूका लागि काम गर्ने र सम्मानजनक अवसर सिर्जना गर्ने नीतिको कार्यान्वयन नगरी युवा पलायन रोकौं भन्ने नारा औचित्यहीन हुन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.