क्रिकेटमा शरदका अविस्मरणीय इनिङ्स

क्रिकेटमा शरदका अविस्मरणीय इनिङ्स

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीमा 'हिटर'का रूपमा पहिचान बनाएका शरद भेषावकरले अन्ततः संन्यास लिएका छन्। हङकङमा आयोजित सुपर सिक्सेसअन्तर्गत युएईसँग अन्तिम खेल खेल्दै उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका हुन्।

सन् २०१२ बाट नेपाली राष्ट्रिय टिममा डेब्यु गरेका शरद विश्वकप छनोटपछि चर्चाको शिखरमा पुगेका थिए। गत दुई दशकदेखि नेपाली क्रिकेटको हरेक उतार चढावमा साक्षी र समकक्षी बनेका शरदले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरे। उनका लागि यो सही समय थियो र सही निर्णय पनि। केही वर्ष यता शरद राष्ट्रिय टिमको क्रिकेटबाट पर थिए। युवा खेलाडीले उनलाई प्रतिस्थापन गरेसँगै उनी क्रिकेट कमेन्टेटर र क्रिकेट विश्लेषकको रूपमा चिनिन थालेका थिए।

शरदले क्रिकेटमा नै केही गर्छन् भन्ने धेरैको आकलन छ। उनले भने हालसम्म यस विषयमा केही पनि टीका टिप्पणी दिएका छैनन्। तर उनका समकक्षीले उनलाई क्रिकेटको दोस्रो इनिङ्सका लागि शुभकामना भन्दै रिटायरमेन्ट नोट लेखेका छन्। गत दुई वर्षयता शरद राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट कमेन्ट्रीमा व्यस्त थिए। नेपाली क्रिकेट ज्ञाताको हिसाबमा उनले नेपाली राष्ट्रिय क्रिकेट टिमको कमेन्ट्रीमा निकै राम्रो दखल दिए। 

शरदको अविस्मरणीय इनिङ्स 
शदर भेषावकर, नाम सुन्ने बित्तिकै धेरैले सम्झिने संयोग हो, २०१३ को विश्वकप छनोट। युएईमा आयोजना भएको छनोटमा नेपालका लागि शरदले महत्त्वपूर्ण इनिङ खेलेका थिए। त्यस छनौटमा खेलमा शरदले युएईविरुद्ध अविजित ४३ रन, अफगानिस्तानविरुद्ध अविजित २७ रन, हङकङविरुद्ध अविजित १३ रन, केन्याविरुद्ध अविजित २३ रन र डेनमार्कविरुद्ध ५ रनमा अविजित रहेका थिए। महत्त्वपूर्ण खेलमा उनले नेपालका लागि त्यस प्रतियोगितामा रन बनाएका थिए। केन्या र युएईविरुद्धको खेलमा उनले ३-३ छक्का प्रहार गरेका थिए। 

उनका धेरै समकक्षी अहिले क्रिकेटबाट संन्यास लिइसकेका छन्। उनीसँगै खेलिरहेका विनोद भण्डारी र सोमपाल कामी भने अझै पनि राष्ट्रिय टिमका सदस्य छन्। विनोद भण्डारी केही समययता राष्ट्रिय टिममा अटाउन सकेका छैनन् तर सोमपाल कामी भने हालसम्म पनि नेपाली राष्ट्रिय क्रिकेट टिमको एक मुख्य सदस्य हुन्।

नेपालले २०१४ मा पहिलोपटक विश्वकप खेलेपछि हालका राष्ट्रिय टिमका खेलाडीहरूले क्रिकेटमा आफ्नो भविष्य खोजेका थिए। यसमा धेरै खेलाडीहरूले २०१४ को विश्वकपपछि आफूले क्रिकेटलाई गम्भीरतापूर्वक लिँदै क्रिकेट खेल्न सुरु गरेको बताउँछन्। राष्ट्रिय टिमका कप्तान रोहित पौडेल, पूर्व कप्तान सन्दीप लामिछानेलाई उदाहरणका रूपमा लिन सकिन्छ। नेपाललाई विश्वकपमा खेलेको देखेपछि त्यो छबिलाई पछ्याउन आफूहरूले पनि क्रिकेट खेलेको उनीहरूले बताउँदै आएका छन्।

शरदकै आँखा अगाडि नेपालले तेस्रोपटक विश्वकप खेल्दैछ। अघिल्लोपटक विश्वकप छनोट हुँदा मूलपानी मैदानमा विश्लेषकका रूपमा सञ्चार माध्यमसँग जोडिएका शरद टिमसँग खुसी साट्न पुगेका थिए। ३७ वर्षमा राष्ट्रिय टिमबाट संन्यास लिएका शरदले हालका लागि २० वटा टी-२०अन्तर्राष्ट्रिय खेल खेलेका छन्। जसमा उनले ३२५ रन प्रहार गरेका छन्। एकदिवसीय तर्फ चार खेल खेल्दै उनले एक अर्धशतक प्रहार गरेका छन्। उनले नेपालका लागि लिस्ट ए तर्फ ३९ र टी-२० ४३ खेल खेलेका छन्।

शरदलाई कसले के भने?
शरदले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेसँगै उनका समकक्षी ज्ञानेन्द्र मल्लले फेसबुकमा स्टाटस लेखे। ‘झन्डै दुई दशकदेखि राष्ट्रिय टिमको हरेक जितमा बलियो आधारको रूपमा उभिएर धेरै ऐतिहासिक इनिङ्सहरू खेल्ने एउटा युवा प्रतिभाबाट सिनियर लिडरको रुपमा राष्ट्रका लागि तिमीले आफ्नो सीप र क्षमताले जिम्मेवारी निकै राम्रोसँग निभायौं। मोडर्न (आधुनिक) नेपाली क्रिकेटको बलियो आधार तयार पार्न तिम्रो समर्पण कदरयोग्य छ। तिमीलाई धन्यवाद। आगामी भविष्यको धेरै धेरै शुभकामना,’ उनले भनेका छन्।

नेपाली राष्ट्रिय टिमका कप्तान रोहित कुमार पौडेल लेख्छन्, ‘दाइ, तपाईँले नेपाली क्रिकेटलाई खेलाडीको रूपमा दिनुभएको योगदानका लागि धेरै धेरै धन्यवाद। धेरै युवाका लागि प्रेरणाको स्रोत बन्नुभएको छ। खेलमैदान भित्र हजुरको शान्त स्वभावको म सधैं अनुयायी हुँ। क्रिकेटको दोस्रो इनिङ्सको लागि शुभकामना।’

हङकङ सिक्सेस अन्तर्गत कप्तानको भूमिकामा रहेका सन्दीप जोराले उनलाई धन्यवाद भन्दै एक पोस्ट सार्वजनिक गरे। जसमा उनी लेख्छन्, ‘धन्यवाद शरद दाई तपाईंले क्रिकेटको एक अर्को पुस्तालाई प्रेरित गर्नुभएको छ। तपाईंको लिगेसी सधैं बाँचिरहनेछ। एक युगको अन्त्य भएको छ। अनगिन्ती प्रेरणादायी क्षणहरूका लागि धन्यवाद। तपाईंको आगामी अध्यायको लागि तपाईंलाई धेरै धेरै शुभकामना।’

राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने लेख्छन्, ‘धन्यवाद शरद दाइ तपाईँको योगदानका लागि, सम्झनामा रहने इनिङ्सदेखि लिएर ड्रेसिङ रुममा तपाईंको बलियो उपस्थितिले एक पुस्तालाई नै आकार दिएको छ। तपाईँको शान्त नेतृत्व, कडा परिश्रम र खेलप्रतिको लगावले धेरै युवाहरूलाई आफ्नो सपना ठूलो देख्न र त्यसका लागि मेहनत गर्न प्रेरणा दिएको छ। तपाईं साँच्चिकै नेपाली क्रिकेटको एक स्तम्भ हुनुहुन्छ। तपाईंको जीवनको दोस्रो इनिङ्सको लागि सफलता र खुसीको धेरै शुभकामना।’

नेपाली राष्ट्रिय क्रिकेट टिममा शरद भेषवाकर सँगै खेलेका समकक्षी हुन्, पारस खड्का। उनी नेपाल क्रिकेट संघ क्यानका सचिव छन्। उनी लेख्छन्, ‘तिमीलाई धेरै धेरै बधाई छ। नेपाली क्रिकेटप्रति तिमीले विगत दुई दशक यता दिएका योगदानहरूका लागि। आगामी भविष्यको धेरै धेरै शुभकामना।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.