मातृत्वको पीडा, अधिकारको संघर्ष

मातृत्वको पीडा, अधिकारको संघर्ष

सुरक्षित मातृत्व–हरेक आमाको अधिकार भन्ने नारालाई व्यवहारमा उतार्न हामी सबैले हातेमालो गर्नुपर्छ। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ पूर्ण कार्यान्वयन हुन नसक्दा धेरै महिलाहरू अनिच्छित गर्भधारण गर्न बाध्य छन्।

कात्तिक ७ गते सुत्केरी गराउन ललितपुरमा रहेको किस्ट अस्पताल पुगेकी ३३ वर्षीया मीना श्री राईको भोलिपल्टै बिहान मृत्यु भयो । तेस्रो सन्तानलाई जन्माउन अस्पताल पुगेकी उनले नर्मल डेलिभरीमार्फत शिशुलाई जन्म दिएकी थिइन् । 

०००

केही दिनअघि दोस्रो बच्चालाई जन्म दिएकी गुल्मीकी रचनाको अस्पताल अनुभव भने खासै राम्रो रहेन । सरकारी अस्पतालमा नियमित चेकजाँच गराइरहेकी उनले सुत्केरी भएपछि अस्पतालमा कुरुवा बस्न खेताला खोज्नुपर्‍यो । रातको समयमा पुरुषलाई अस्पतालमा बस्न नदिने नियमले गर्दा गाउँमा रहेकी दिदीलाई बोलाउन परेको थियो । एकातिर सुत्केरी हँुदाको पीडा छ, अर्कोतिर बच्चालाई हेरचाह गर्ने श्रीमान्सँगै नहँुदा मानसिक तनावसमेत झेल्नु परेको उनले बताइन् । उनी भन्छिन्, प्रसूतिको समयमा श्रीमान् जस्तो नजिक अरु हुँदै हुन्न । अस्पतालले यो विषयमा विचार गर्नुपर्छ । 

०००

अधिकांश नेपाली महिलाका लागि मातृत्व केवल खुसीको अनुभव होइन, पीडादायी संघर्ष बनेको छ । ग्रामीण क्षेत्रका सुत्केरी महिलाहरू अझै पनि पर्याप्त स्वास्थ्यसेवा, पोषण र सामाजिक सहयोग नपाएर गम्भीर जोखिममा परिरहेका छन् । सुरक्षित सुत्केरी हुने अवसरको अभावमा प्रसूतिकै 
बेला ज्यान जाने क्रम रोकिएको छैन । असुरक्षित सुत्केरी भएकै कारण वर्षमा सयौं महिला र नवजात शिशुले ज्यान गुमाउँछन् । 

नेपालमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लागू भइसकेको छ्र । तर यो ऐन पूर्ण कार्यान्वयन हुन नसक्दा धेरै महिलाहरू अनिच्छित गर्भधारण गर्न बाध्य छन् । असुरक्षित रूपमा सुत्केरी हुन विवश छन् । नेपालको संविधानले मातृत्वलाई ‘स्वास्थ्य अधिकार’ अन्तर्गत सुनिश्चित गरेको छ । यसमा प्रत्येक महिलाले सुरक्षित प्रसूति सेवा र सुत्केरीपछिको हेरचाह पाउनुपर्ने कानुनी व्यवस्था छ । तर महिलाका लागि संविधानले नै संरक्षण गरेको यो अधिकार पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन । आमा बन्न लागेका हरेक गर्भवतीहरू अस्पतालबाट जीवित फर्कन्छु भनेर ढुक्क हुन सकेका छैनन् । 

गर्भमा हुर्कंदै गरेको सन्तानलाई सकुशल जन्म दिन्छु भन्ने वातावरण अझै बनेको छैन । हाँस्दै हाँस्दै अस्पताल गएका महिलाले ज्यान गुमाउनु परेको छ । आमामात्रै हैन, प्रसूतिको समयमा हुने लापरबाही, असावधानी, सीमित स्रोतका कारण नवजात शिशुले पनि ज्यान गुमाइरहेका छन् । प्रसूतिको समयमा अस्पताल र स्वास्थ्यकर्मीले गर्ने नराम्रो व्यवहार भोगेका आमाहरू लामो समय मानसिक ट्रमामा समेत पर्ने गरेका छन् । 

समाजले महिलामाथि राख्ने दबाब र अपेक्षाकै कारण पनि महिलाहरू पूर्वतयारी बिना नै गर्भधारण गरिरहेका छन् । आमा बन्नु महिलाको धर्म हो भन्ने सोचले धेरैजसो महिलालाई अनिच्छित गर्भधारण गर्न बाध्य बनाउँछ । गर्भधारणका लागि महिलाको मन, तन र शरीर तयार हुन जरुरी छ । महिलाले नचाहँदै गरेको गर्भधारण पीडामा बदलिन्छ । 

मातृत्व मानव जीवनको सबैभन्दा संवेदनशील, पवित्र र जिम्मेवार चरण हो । मातृत्व सुरक्षित रहनु भनेको केवल आमाको स्वास्थ्यमात्र होइन, नवजात शिशुको जीवन र विकाससँग पनि प्रत्यक्ष सम्बन्धित हुन्छ । त्यसैले सुरक्षित मातृत्व अधिकार व्यावहारिक रूपमा कार्यान्वयन हुनुपर्छ । 

महिलाहरू प्रसूतिकै समयमा अनेक समस्या, हिंसा भोग्न बाध्य छन् । यो समस्या समाधानका लागि पछिल्लो समय सम्मानजनक प्रसूतिको धारणा विकास भएको छ । यसअन्तर्गत गर्भधारणदेखि लिएर प्रसूति र त्यसपछिको अवधिसम्म आमा र शिशु दुवैको स्वास्थ्य सुरक्षित राख्न गरिने सम्पूर्ण उपायहरूलाई जनाउँछ । यसमा पौष्टिक आहार, नियमित स्वास्थ्य परीक्षण, प्रशिक्षित स्वास्थ्यकर्मीको निगरानीमा प्रसूति, स्वच्छ वातावरण, आवश्यक औषधोपचार तथा मानसिक सहयोगका कुरा पर्छन् ।

राष्ट्रिय जनगणना २०७२ अनुसार, नेपालमा प्रत्येक एक लाख जीवित जन्ममा करिब १ सय ५१ आमाको मृत्यु हुने गरेको छ । दुर्गम तथा विकट स्थानका महिलाहरूको लागि सुरक्षित सुत्केरी हुन पाउनु भाग्यको कुरा जस्तै बनेको छ । सयममा उपचार पुराउन नसक्दा धेरै महिलाको सुत्केरीकै समयमा ज्यान जान्छ । ग्रामीण निम्नवर्गीय महिलामा यो संख्या धेरै छ । 

२०२५ को अप्रिलमा संयुक्त राष्ट्रसंघले निकालेको एक रिपोर्टअनुसार एक लाख जीवित जन्ममा १ सय ४२ आमाहरूको मृत्यु हुने गरेको छ । यही रिपोर्टअनुसार एक हजार जीवित जन्ममा १७ जना नवजात शिशुहरूको मृत्यु हुने गर्छ । नेपाल जनसांख्यिकीय तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार, नेपालमा नवजात शिशु मृत्युदर २१ रहेको छ । प्रति एक हजार जीवित जन्ममा २१ जना नवजात शिशुले ज्यान गुमाउँछन् । नेपालले आफ्नो १६औं पञ्चवर्षीय योजनामा यो दर घटाएर १३ मा झार्ने लक्ष्य लिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. कृष्ण पौडेलका अनुसार, मातृ मृत्युदर र शिशु मृत्युदर घटाउनको लागि सरकारले विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ । आमा सुरक्षित मातृत्व कार्यक्रम राखेर अस्पतालमै सुत्केरी गराउनको लागी प्रोत्साहन गरेको छ । सरकारले निःशुल्क प्रसूति सेवासमेत सञ्चालन गरिरहेको छ । 

अस्पतालका विभिन्न तथ्यांकको अवस्था हेर्दा पनि नेपालमा मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार पूर्ण रूपमा सुरक्षित हुन सकेको छैन । प्रसूतिको बेलामा विभिन्न स्वास्थ्य तथा सामाजिक समस्यासँग जुध्न परेको छ । प्रसूति हिंसासमेत भोग्नु परेको छ । गाउँगाउँमा स्वास्थ्यचौकीसम्म पुग्ने सडक सहज छैन । स्वास्थ्यकर्मीको कमी उस्तै छ । आवश्यक औषधि तथा उपकरणको अभावले धेरै सुत्केरी महिलाहरूको जीवन जोखिममा पारिरहेको छ ।

नेपालजस्ता विकासोन्मुख देशहरूमा मात मृत्युदर अझै पनि चिन्ताजनक छ । डब्लूएचओका अनुसार, विकासशील राष्ट्रहरूमा प्रत्येक एक लाख जीवित जन्ममा सयौं आमाहरूको मृत्यु हुन्छ । यी मृत्युहरूमध्ये धेरैजसो गर्भवस्थाको जटिलता, रक्तस्राव, संक्रमण, उच्च रक्तचाप, वा अप्रशिक्षित हातबाट गरिएको प्रसूतिको कारणले हुनेगर्छ । 

अधिवक्ता सविन श्रेष्ठका अनुसार नेपालमा पछिल्लो पटक सम्मानजनक प्रसूति र मानव अधिकारको विषयमा आवाज उठाइन थालेको छ । गर्भावस्था, सुत्केरी हुने प्रक्रिया तथा सुत्केरीपछिको अवधिमा महिलाको गरिमा, आत्मनिर्णयको अधिकार तथा मानव अधिकारको संरक्षण हुन जरुरी छ । प्रसूतिको समयमा गरिने असावधानीले पनि सयौं आमाहरूको ज्यान जाने बताउँदै उनले सम्मान र संवेदनशीलताका साथ प्रसूति गराउन पाउने अधिकार संरक्षण गरिनुपर्ने तर्क गरे ।

यस्तै, वरिष्ठ अधिवक्ता मीरा ढुंगाना हरेक महिलाले सम्मानजनक प्रसूति सेवा पाउनुपर्ने बताउँछिन् । संविधानले नै सम्बोधन गरेको महिलाको यो हक पूर्णरूपमा कार्यान्वयन हुनुपर्छ । डा. रविन बस्नेत सम्मानजनक प्रसूति सेवाको लागि सुत्केरीको मानसिक स्वास्थ्यको पनि ख्याल गरिनुपर्ने बताउँछन् । आमा बन्न शारीरिकसँगै मानसिक रूपमा पनि तयार हुनुपर्ने बताउँदै उनले गर्भावस्थामा देखिने जटिलताले उनीहरूमा सन्तान जन्माउनु भनेको ‘मरेर बाँच्नु’ जस्तै डर उत्पन्न हुने गरेको तर्क गरे । 

सन्तान जन्माउँदाको खराब अनुभूतिले उनीहरूमा लामो समयसम्म मानसिक विचलन उत्पन्न हुने हुन्छ । डा. बस्नेत भन्छन्, प्रसूतिको समयमा हुने मातृशिशु मृत्युदर घटाउन सरकारले जुन उद्देश्य बोकेर काम गरिरहेको छ । यसले आशातित रिजल्ट दिन सकेको छैन । यस्तो अवस्थामा राज्यले नयाँ नीति बनाउन आवश्यक छ । गाउँघरमा युवा जनशक्ति नै छैनन् । ग्रामीण भेगका सुत्केरीलाई अस्पताल पुर्‍याउन जनशक्तिसमेत भेटिन छाड्यो । परिस्थिति अनुकूलको नीति र कार्यक्रम बनाएर कार्यान्वयन गर्न अति जरुरी छ ।

दुर्गम क्षेत्रका धेरै महिलाहरूले उचित सेवा पाउन सकेका छैनन् । चेतना अभाव, आर्थिक कठिनाइ र परम्परागत सोचका कारणले धेरै गर्भवतीहरू स्वास्थ्य संस्थामा नजाने प्रवृत्ति देखिन्छ । सुरक्षित मातृत्व केवल आमाको व्यक्तिगत जिम्मेवारी होइन, परिवार र समाज दुवैको साझा दायित्व हो । गर्भवती महिलालाई परिवारका सदस्यहरूले मानसिक र भावनात्मक सहयोग गर्न जरुरी छ । 

सरकारले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५’ ल्याएर महिलाको स्वास्थ्यलाई कानुनी अधिकारको रूपमा स्थापित गरेको छ । साथै विभिन्न संघसंस्थाले पनि ग्रामीण क्षेत्रमा सचेतना फैलाउने, प्रसूति सेवा सुधार्ने र स्वास्थ्यकर्मी तालिम दिने कार्य गर्दै आएका छन् । कतिपय ठाउँमा स्थानीय तहमा नै सुविधा सम्पन्न बर्थिङ सेन्टर स्थापना पनि गरिएका छन् । तर नीतिगत स्तरमा भएका सुधारहरू व्यवहारमा लागू गर्न अझै चुनौती छ । विशेषगरी दुर्गम क्षेत्रहरूमा सेवा विस्तार, दक्ष जनशक्ति अभाव, र स्वास्थ्य संरचनाको कमजोरीले बाधा पुर्‍याइरहेको छ ।

आजको युगमा जहाँ प्रविधि र ज्ञान तीव्र रूपमा अगाडि बढेको छ, त्यहाँ आमाहरू अझै असुरक्षित रहनु दुर्भाग्यपूर्ण कुरा हो । त्यसैले ‘सुरक्षित मातृत्व — हरेक आमाको अधिकार’ भन्ने नारालाई व्यवहारमा उतार्न हामी सबैले हातेमालो गर्नुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.