महेश बस्नेत चढेको गाडीमा मसी हान्ने युवा कांग्रेसका कार्यकर्ता

महेश बस्नेत चढेको गाडीमा मसी हान्ने युवा कांग्रेसका कार्यकर्ता

विराटनगर : विराटनगरमा नेकपा (एमाले)का नेता महेश बस्नेत र भानुभक्त ढकाल चढेको गाडीमा रातो मसी हान्ने युवाहरू नेपाली कांग्रेसका कार्यकर्ता रहेको खुलेको छ। 

काठमाडौंबाट श्री एयरलाइन्सको जहाज चढेर आएका उनीहरू बा १७ च ५९६१ गाडी चढेर विराटनगर विमानस्थलबाट बाहिरिने क्रममा रातो रंग र पानी भरिएको बेलुनको लोलाले आइतबार बिहान १०:५० बजेतिर प्रहार गरिएको थियो। गाडीमा रातो मसी प्रहार गर्ने विराटनगर महानगरपालिका–१ का २५ वर्षीय संजोग गौतम र विराटनगर–२ का १९ वर्षीय अर्पित कुँवर पक्राउ परेका छन्। 

घटनासँग सम्बन्धित भिडियो पनि बाहिर आएको छ। पक्राउ परेकामध्ये अर्पितले पानी र रंग भरिएको बेलुनको लोलाले गाडीमा प्रहार गरेको र संजोगले भिडियो खिचेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार दुवै जना कांग्रेसका कार्यकर्ता हुन्। उनीहरू पार्टीको संस्थापनइतर एवं डा. शेखर कोइराला पक्षधर रहेको नेताहरूले बताए। 

कांग्रेस स्रोतका अनुसार गौतम विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा इतर पक्षबाट नेपाल विद्यार्थी संघ (नेविसंघ)का सभापतिसमेत छन्। साथै, पार्टीको विराटनगर महानगर सदस्यसमेत हुन्। नेविसघ महेन्द्र मोरङमा कांग्रेसको संस्थापन समूहको सभापति भने प्रशान्त यादव छन्।

घटनामा संलग्न कुँवर पनि नेविसंघ आबद्ध रहेको बताइएको छ। स्रोतका अनुसार भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि उनी सरकारसँग वार्ता गर्न भनेर काठमाडौं गएका थिए। सरकारसँग वार्ता गर्न भनेर काठमाडौं गए पनि कुँवर कांग्रेसमा आबद्ध रहेको सार्वजनिक भएपछि उनी वार्ता टोलीमा सहभागी हुन नपाएको स्रोतले बतायो। 

कांग्रेस विराटनगर महानगर सभापति दीपक चापागाईंले मसी हानिएको घटनामा संलग्नहरू पार्टीमा आबद्ध रहेको स्वीकार गरे। ‘घटनामा संलग्न कांग्रेसभित्रका जेनजीहरू रहेछन्। ‘कांग्रेस हैनन् भन्न पनि मिल्दैन। रंग हानेनन् भन्न पनि मिलेन। जेनजी आन्दोलनपछि उनीहरू कता–कता लागेछन् भन्ने पत्तै भएन। अब पार्टीमा फर्काएर ल्याउने पो कसरी हो ?’ चापागाईं भन्छन्। 

उनले जोसुकै भए पनि यस्तो दुर्व्यवहारपूर्ण घटनामा संलग्न हुनु गलत भएको बताए। ‘यो एकदमै गलत प्रवृत्ति हो। यसले राम्रो सन्देश जाँदैन। सबैले सभ्य समाज निर्माणमा ध्यान दिनुपर्छ। निर्वाचनमा गएर लोकतन्त्रको रक्षाका लागि आधारस्तम्भ तयार पार्नुपर्छ,’ सभापति चापागाईं भन्छन्, ‘लोकतन्त्रमा पार्टीका नेतालाई निषेध गर्ने र आक्रमण गर्ने कुरा मान्य हुँदैन। यसले द्वन्द्व बढाउँछ। सबै लोकतान्त्रिक र संयमित भएर अघि बढ्नुपर्छ। कुनै समस्या आएमा छलफल र संवादमार्फत हल गर्नुपर्छ।’  

काठमाडौंबाट विराटनगर विमानस्थल हुँदै इटहरीमा युवा संघको कार्यक्रममा सहभागी हुनलाई जाने क्रममा विमानस्थलबाट गाडी चढेर बाहिरिने क्रममा पूर्वमन्त्रीहरू बस्नेत र ढकालमाथि दुर्व्यवहारपूर्ण व्यवहार भएको प्रहरीले जनाएको छ। उनीहरू विराटनगर आउने खबरसँगै सुरक्षा व्यवस्था कडा बनाइएको थियो। सुरक्षाका लागि वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी अनमोल खड्काको नेतृत्वमा प्रहरी परिचालन गरिएको थियो। 

तर, विमानस्थल परिसरमा रहेका युवाहरूले रंग भरिएको लोला हान्ने र भिडियो बनाउने काम गर्न भ्याए। मसीले गाडीको सिसामा लागेको थियो। तर, घटनामा संलग्न दुवै जनालाई तत्कालै पक्राउ गर्न प्रहरी सफल भयो। विमानस्थलबाट बाहिरिने क्रममा प्रहरीको भ्यानले अघिअघि लागेर नेताहरूको ‘स्कर्टिङ’ गरिरहेको थियो। प्रहरीको भ्यानको पछि कुदिरहेको बस्नेत र ढकाल सवार गाडीमा मसी हानिएको हो। लगत्तै उक्त गाडी रोकिएको थियो। 

पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको उनको भनाइ छ। मुद्दा चलाउने वा नचलाउने भन्ने विषयमा निर्णय हुन बाँकी रहेको प्रहरी स्रोतले बतायो। एमाले नेता बस्नेतले पनि खुला रूपमा राजनीतिक गतिविधि गर्न रोक लगाउनु र कार्यक्रममा जान अवरोध पुर्‍याउनु लोकतन्त्रकै उपहास भएको बताएका छन्। 

त्यस्तै, बस्नेत लगायतका एमाले नेता सुनसरीको इटहरीमा जाने क्रममा केही युवाहरूले सुनसरीको दुहबीमा पनि प्रदर्शन गरेका छन्। बस्नेत र नेता ढकाल सवार भएको गाडी इटहरीतर्फ गइसकेपछि दुबहीका युवाहरूले टायर बालेर प्रदर्शन गरेका हुन्। त्यस क्रममा उनीहरूले बस्नेत र एमालेविरुद्ध नाराबाजी गरेका थिए। सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले सडकमा बालिएको आगो नियन्त्रणमा लिइएको बताए। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.