धानको भकारी शकुन–अपशकुन

धानको भकारी शकुन–अपशकुन

धानका बाला झुल्ने बेला, कृषिप्रधान देश, दैवी देव भूमि जहाँ न्यायले नेपाली रक्षित हुने देश हाम्रो। भ माने भकारी भन्नुपर्ने ध माने धान भन्नुपर्ने तर भ माने भोक टार्न खाडी र ध माने धकेलिने नेपाली भएका छौं। ल माने लक्ष्मी पढेको पहिले, अहिले त ल माने राजनीतिक लफडा बुझ्नुपर्ने भएको छ र त बेरोजगारीको पीडा, विप्रेषणको आगमन र ३५ वर्षमा ३० जनाको प्रधानमन्त्रित्व काल भएको छ।

धान्य पूर्णिमा पनि मार्गमै पर्ने जतिबेला नयाँ चामल, धानको नयाँ अन्नको न्वाँगी खान पहिले होमादी कर्म गरिने र लक्ष्मी भित्र्याउने भन्दै पूजामा सहित भकारी भर्ने चलन थियो। तर, अहिले त्यो छैन र आयातित २० किलो चामल बोकी स्कुटीमा राखेर कोठामा भित्र्याउने चलन चलेको छ। पहिले धान चामल निर्यात हुन्थ्यो अहिले त खोइ के खोइ के भन्नु परेको छ। हिजोआज इलेक्ट्रोनिक पढाइ हुन्छ, पठन संस्कृति पनि खासै छैन। बोर्डिङ स्कूलहरूले मनग्गे पैसा लिन्छन्, नपढे पनि पास गराइदिन्छन्। बाल्य जीवन हाम्रो कठिन थियो पढ्नैपर्ने।

बाह्रखरी पढ्दाको याद आउँछ भ माने भकारी ग माने गणेश, तर अहिले भकारीमा धान छैन, अबको पढाइ भनेको स माने सानो देशको बढी खर्चिलो संघीयता, भ माने भरिया भई ख माने खाडीमा जाउँ भन्ने हो, र ग माने गणतन्त्र हो र त देशको अर्थतन्त्र विप्रेषणमा चलेको छ, पेट भने विदेशको चामलमा। आम चुनाव वा दसैं–तिहार केहिले रोक्न सकेन विदेश जान, त्यो पनि रोजगारीकै लागि। देशमा नेताहरूले ठूला–ठूला भाषण दिए, समृद्धिको नारा पनि खन्याए, तिनलाई जिताउने दिन नै खाडीमा जाने नेपालीको भिड देखियो। अहिले असोजमा दुई खर्ब रेमिट्यान्स प्राप्त भएको छ, जेन–जीहरूले देखाइदिए शक्ति तर राजनीति भने पुनर्मुसीको भव नै भएको छ, मार्ग सात अन्तिम भनेको पनि धेरै भयो, आन्दोलन फेरि तुहियो फिर्ता भयो। रडाको छ देशमा राजनीतिको तर आर्थिक क्रान्ति कसैले गरेन र त सात सालदेखि दुई प्रतिशत औसत आर्थिक वृद्धि मात्र छ। उब्जनीमा ओरालो त पहिले नै लागेको हो। धान, गहुँ, मकै सबैलाई चाहिने विदेशी रासायनिक मल हो। दुईतिहाइको सरकारले पनि मल आपूर्ति गर्न सकेन समयमा। ५२ सालदेखिको चुनावी घोषणापत्रमा भनियो मल कारखाना खोल्ने भनेर। अब त्यो सिद्धान्त करिब कोरा भएको छ र पनि पंक्ति तयार गर्दा पुरानो अहंकार र हुंकार यथावतै देखिएको छ।

देशमा नीतिप्रधान नभई नेताप्रधान भएपछि सबैजसो उद्योगधन्दा बत्ती बालेर खोज्नुपर्ने बेला भएको छ। यस्तो बेला मलको कारखानाबाट उत्पादन आउने भनेको मेलम्चीबाट काठमाडौं धुने पानी भन्ने उखानभन्दा कम भएन, जसोतसो त्यो पानी आयो फेरि रडाको बन्चरेको फोहोर जस्तै छ त्यो पनि। देश कृषि होइन, कुर्सी प्रधान भयो। नयाँ कुर्सीको रडाकोले एकातिर देशले अनेक समस्या भोगिरहेछ अर्कोतिर फागुनमा चुनाव भइहाले फेरि बाँकी रडाका मच्चिनेमा दुईमत छैन। उही किनबेच, होटल बुक, अनि विदेश सयर, सरकार दुई माने टिकेन, एक माने टिकेन, चौथाइ पनि टिकेन।

मरिहत्ते गरेर ठूलै खर्च गरेर गरेको चुनावको परिणति हेर्नलायक थियो मतदानकै दिन मार्ग चार गते पहिले, अहिले पनि त्यही हालत होला कि तर यसपाली ८ लाख बढीले नाम दर्ता गराएका छन्, घट्ने कति हो थाहा छैन। गहुँ, आलुबाली लगाउने बेला हुन लाग्यो, मंसिरमा धान भित्र्याउने बेला सबैजसो किसानलाई भोटको लाइनमा राख्यो देशले। किसानले अपेक्षा गरेको सिँचाइ, मल, बिउबिजन भने सरकारले उपलब्ध गराएन। न सुलभ ऋण वा औजार नै, प्रविधि त कहाँ छ र कृषि यान्त्रीकरणको कुरा पनि बजेट वक्तव्यमामात्रै हुने गरेको थियो पहिले।

मीन अर्थात् माछालाई पनि जाडो हुने, ५० दिनसम्म जाडोको संकेत मीन पचासको समय, घाँस, चरन एवं हरियालीमा कमी र मुख्य धानबाली भित्र्याई वर्षभरि सुख, सन्तोष र धनधान्यकी प्रतीक लक्ष्मीको विशेष पूजा गरिने समय अहिले हो। तर, किसानका घरमा भकारी नदेखिनु अचम्मको विषय बनेको छ र त कृषिप्रधान देश भन्न पनि असहज हुँदैछ। अर्बौं रकम विदेश पठाएर धान, चामलको आयात गर्दैछौं हामी। गहुँ, कोदो, भटमास, मकै, फापर, जौं, फलफूल, माछा, मासु भनौं दैनिक खाद्यान्नका सबै सामान वा भनौं चाडबाडमा प्रयोग हुने सबैजसो सामान आयात भइरहेको छ।

र त देश विदेशी ऋणमा छ। ठूलै व्यापार घाटामा छ। विदेशी मुद्रा सञ्चिति भने बढेको छ। अमेरिकी डलरको मूल्यवृद्धिले देशलाई मन्दीतिर धकेल्दै छ। नीति निर्माताहरू भने केवल चुनाव, गठबन्धन, सत्ता बाँडफाँट, भनौं आफ्नो स्वार्थतिर रहे। लामो समयदेखि नेपालीहरूले धानको भकारी भर्न पाएका छैनन्, कृषि उब्जनीमा लाग्ने हातहरू खाडीतिर, खुट्टाहरू राजनीतिको झोला बोकी महाधिवेशन, दलको चुनावी प्रचारप्रसार, घरदैलो कार्यक्रममा व्यस्त देखिए।

र त देशमा हरेक दिन चुनावी माहोल मात्रै बन्यो, खेती र किसानी माहोल बनेन। राजनीतिक दर्शनहरू, आफ्नो माटो सुहाउँदो दर्शन यहाँ छैन। र त यहाँ विदेशीहरू खुब घुम्छन्। जनता सुक्ने नेता फुक्ने दर्शन छ यहाँ। गाईबस्तुहरूको सम्मान गोठपूजा, घरघरमा गैडुपूजाले संस्कार पाएको थियो पहिले, अब त्यो क्रम घटेको छ। सबैजसो सहरमुखी भएका छन्। गाउँका बारी, खेत जहाँ अन्न उब्जा हुन्थ्यो त्यहाँ असारे डोजरे विकास भएको छ।

खेतमा पीच भयो तर पिचमा गुडाउने सामान विदेशबाट ल्याउने देश हो हाम्रो। कागदेखि सर्पसम्मलाई सम्मान गछौं हामी, गथ्र्यौं हामी, धान रोपाइँ गर्ने दिन खेतको आलीमै कपासको प्युरीसमेत राखेर नागको पूजा गथ्र्यौं। सहकालका देवता भन्दै मत्स्येन्द्रनाथको पूजा गथ्र्यौं। नागपोखरी, सुन्धाराका नागदेवता, टौदहको नागदह, पशुपतिको बासुकी नाग, शिवगलाको नागमणि सबैलाई पूजा गरिन्थ्यो। किसानहरूले धान भित्र्याएपछि धानको भकारीमा कुवेरको प्रतीक बिमिरो राखी धान्यलक्ष्मीको पूजा गथ्र्यौं पहिले।

हिजोआज खेतको खलाबाटै मोलतोल गरी केही उब्जाबालीलाई बजारमा पठाइने गर्नाले पनि धान भनौं लक्ष्मीको सह भएको छैन खेत, बारी, भकारी, नाम्लो, डोको, ढिकी, जाँतो, घट्ट, चोया, निगालो, बाँस, बाबियो, गोठ, गहँुत, गोबर आदि शब्द अब शब्दकोशमा सीमित भएका छन्। लक्ष्मी र गणेशको पूजा गरी धान्य पर्वत दान गर्ने समेत चलन भएको धान्य पूर्णिमा हो।

आशा छ, अब धर्मगुरुहरू व्यास पीठमै नछिन्लान्, सुत्केरी आमा दिनदहाडै बिदा नहोलान्। काजकिरिया बसेका मान्छेको बलिदान नदिइएला। शिक्षकलाई लगेर रुखमा बाँधेर नसिध्याएला। एम्बुसमा राखेर बसहरू नजलाइएलान्। गाईको आन्द्रा नलाइएला। सीडीओहरू सुरक्षित होलान्। बन्धकमा पारी हत्या नगरिएला। विदेशमा गोलीगठ्ठा तयार गरेर उतै लुकेर यहाँकालाई सिध्याउने काम नहोलान्। गद्दीनसिनहरूले नै न्याय नपाई संसार छोड्नु नपर्ला।

अनि, जुत्ता लगाएर मठ मन्दिरको शिलान्यास र उद्घाटन नहोला। बाबुआमाको किरिया छोडेर दरबार गई प्रधानमन्त्रीको दाबी नगरिएला। पशुपतिमा सुनको राजनीति नगरिएला। बागमती आदि नदीहरूले न्याय पाउलान्। निर्मलाहरूले समेत र पापको साह्रै ठूलो घडा भरिएपछि पोखिने र पोखिँदा आफू विस्थापित हुने दिन सायद अब नआउला। वैदिकधर्मी नेपालमा धर्मदेशनाबाट सुरक्षा र सुशासन अनि पुनः धान धर्मको भकारी भरिएला कि ? आशा गरौं न त अब।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.