प्यारालाल ट्याक्सी–वे निर्माणमा सिनामंगल डिपो बाधक

प्यारालाल ट्याक्सी–वे निर्माणमा सिनामंगल डिपो बाधक

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्यारालाल ट्याक्सी–वेलाई पूर्णरूपमा विस्तार गर्न सिनामंगलस्थित हवाई इन्धन डिपो बाधक बनेको छ। रन–वे (धावनमार्ग) को दुवै बिन्दुलाई छुने प्यारालाल ट्याक्सी–वे विस्तारको काममा डिपो स्थानान्तरण बाधक बनिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले बताएको छ।

जग्गा भाडा शुल्क मिनाहामा सहमति नहुँदा डिपो सार्ने प्रक्रिया अघि बढ्न सकेको छैन। विमानस्कलको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले तयार पारेको गुरुयोजनाअनुसार यस डिपोलाई सार्नुपर्ने उल्लेख छ। सोहीअनुसार विमानस्थलको धावनमार्ग उत्तर–पश्चिमतर्फ नेपाली सेनाको गल्फ कोर्स नजिकै गृह्येश्वरीमा प्राधिकरणले ५० रोपनी जग्गा उपलब्ध गराएको छ। 
यो रन–वेबाट ५ सय मिटर टाढा पर्छ। सिनामंगल डिपो कार्यलय उक्त स्थानमा साइट क्लियरेन्सको काम सम्पन्न गरी अस्थायी रूपमा कार्यलय पनि निर्माण गरेको छ। तर, जग्गा भाडासम्बन्धी सहमति नहुँदा नयाँ डिपो निर्माणको काम अघि बढ्न नसकेको सिनामंगल डिपो कार्यलयका प्रमुख ई. प्रदीपकुमार यादव बताउँछन्। 

‘हामीले नयाँ डिपो निर्माण अवधिभर (करिब ३ वर्ष) को जग्गा भाडा निःशुल्क मागेका छौं। सिनामंगल र गृह्येश्वरी गरी २ स्थानको जग्गा भाडा शुल्क तिर्न सक्दैनौं,’ यादव भन्छन्। हाल भएको डिपो र प्रस्तावित डिपोस्थलको प्रतिवर्गकिलोमिटर भाडा ६ सय रुपैयाँ रहेको छ। हालको सिनामंगल डिपो करिब ३७ रोपनीमा फैलिएको छ भने करिब १२ रोपनी प्राधिकरणसँग लिजमा लिएको छ। 

उक्त लिज वापत डिपो कार्यलयले वार्षिक करिब ३६ लाख रुपैयाँ प्राधिकरणलाई तिर्ने गरेको प्रमुख यादव बताउँछन्। एकैपटक दुवै स्थानको जग्गा भाडा तिर्न कार्यलयलाई भार पर्ने उनको भनाइ छ। ‘सिनामंगल डिपोको पनि तिर्नुपर्ने र नयाँ स्थानको पनि तिर्न गाह्रो हुन्छ। अहिले एउटाको तिरिरहेका छौं। नयाँ ठाउँमा डिपो बनाएर सञ्चालनमा आएपछि मात्र जग्गा भाडा तिर्ने हाम्रो प्रस्ताव हो,’ यादवले भने। प्राधिकरणले ६ महिनाभन्दा बढी समयदेखि निर्णय दिन नसक्दा नयाँ डिपो निर्माणका लागि ठेक्का खोल्न नसकिएको कार्यलयको भनाइ छ। कार्यलयले विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न गरिसकेको छ, जसअनुसार नयाँ डिपो निर्माणको लागत करिब ६ अर्ब हुने छ। नयाँ डिपो निर्माणका लागि समयमा नै ठेक्का नलाग्ने हो भने बर्सेनि करिब १० प्रतिशतका दरले निर्माण लागत बढ्ने देखिन्छ।

नयाँ डिपो निर्माणको अवधिको जग्गा भाडा निःशुल्क दिने विषय प्राधिकरण बोर्डमा रहेको सूचना अधिकारी ज्ञानेन्द्र भुल बताउँछन्। ‘बोर्डबाट निर्णय भएको छैन, निःशुल्क गर्ने विषय बोर्ड, मन्त्रालय हुँदै मन्त्रिपरिषद् लैजानुपर्छ,’ भुलले भने। जग्गा भाडा वा लिजमा दिएपछि विमानस्थल सेवा शुल्क नियमावलीअनुसार प्रतिवर्गकिलोमिटरका दरले तिर्नुपर्छ। ‘निःशुल्क पाउन कि त्यो जग्गा आयल निगमको स्वामित्वमा आउनुपर्‍यो। अहिले विमानस्थलको स्वामित्वमा छ। यसका लागि सम्झौता गर्नुपर्‍यो,’ उनले भने। आयल निगम व्यापारिक संस्था भएकाले छुट किन माग्ने भन्ने प्राधिकरणको भनाइ देखिन्छ। जग्गा भाडामा लिने र दिने सम्बन्धमा प्राधिकरण र कार्यलयबीच गत वर्ष नै सम्झौत भने भइसकेको छ।

सिनामंगल डिपो भएको स्थानमा कर्भ गरेर प्यारालाल ट्याक्सी–वे निर्माण सोमबारबाट तत्कालन सिनामंगल डिपो नसर्ने भएपछि सो स्थानमा कर्भ गरेर ट्याक्सी–वेको काम सुरु गर्न लागिएको विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डे बताउँछन्। ‘रन–वे ०२ को कोटेश्वरतर्फको काम प्यारालाल ट्याक्सी–वेको निर्माण भइरहेको छ। इन्धन डिपो नजिकै पुगेपछि त्यहाँ घुमाउरो पारेर पुरानो ट्याक्सी–वेमा जोड्ने काम अघि बढेको छ,’ भन्दै उनले भने, ट्याक्सी–वे निर्माणको काम अबका १ वर्षमा सकिने र सञ्चालन गर्नुपर्ने भएकाले पुरानो ट्याक्सी–वेसँग नयाँ ट्याक्सी–वे जोड्ने (ट्रान्जिसनल ट्याक्सी–वे) अर्थात् यसलाई कर्भ गरेर पनि भन्न सकिन्छ, अघि बढाउने भएका छौं।’ दीर्घकालमा डिपो सारेपछि त्यसलाई सिधा नै लगेर जोडिने योजना रहेको छ। तत्काल सार्न सक्ने अवस्था नरहेकाले यसलाई वैकल्पिक बाटो प्रयोग गरेको तर, डिपोको जोखिम कायम नै रहेकोले सार्नुको विकल्प नरहेको उनी भन्छन्।

सोमबार अर्थात् डिसेम्बर १ नयाँ र पुरानो जोड्ने (ट्रान्जिसनल ट्याक्सी–वे) विस्तारको काम सुरु हुने विमानस्थल विस्तार आयोजनाका प्रमुख दीपेन्द्र श्रेष्ठ बताउँछन्। ‘प्यारालाल ट्याक्सी–वेको कतै पिचको काम हुँदै, कतै पिचभन्दा तलको काम भइरहेको छ। फिलिङ गर्नु नपर्ने ठाउँमा पिचको काम पनि गरिरहेको, कतै अझै फिलिङको काम बाँकी छ। फरकफरक क्षेत्रमा फरकफरक प्रकृत्तिको काम भइरहेको छ, श्रेष्ठले जानकारी दिए।

यता, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मापदण्डअनुसार ट्याक्सी–वे विस्तारको काम भइरहेको छ। २०२६ सम्म सक्ने गरी ३ वर्षका लागि गान्सु मेकानाइज्ड चिनियाँ कम्पनीलाई ट्याक्सी–वे विस्तारको ठेक्का दिइएको हो। एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा ट्याक्सी–वे विस्तारको काम भइरहेको छ। प्यारालाल ट्याक्सी–वे नहुनाले सबै जहाज रन–वेबाट टेक अफ गर्दै आइरहेका छन्। यो समयमा अरू जहाज उडान अवतरण गर्न पाउँदैनन्। 

प्यारालाल ट्याक्सी–वे हुनेबित्तिकै जहाजहरू यसबाट नै उडानका लागि क्युमा जान सक्छन्। यो हुनेबित्तिकै रन–वेको क्षमता करिब २५ प्रतिशतले बढ्ने बताइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.