१३ वर्षीया अंशु हत्या प्रकरण, छिमेकी पक्राउ

१३ वर्षीया अंशु हत्या प्रकरण, छिमेकी पक्राउ
अंशु गौतम

विराटनगर : मोरङको लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या प्रकरणमा छिमेकीको संलग्नता देखिएको भन्दै प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । स्थानीय करिब ५०–५२ वर्षीय पदम अधिकारीलाई नियन्त्रणमा लिएर गहन सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ । तर, घटनामा उनको संलग्नता छ कि छैन भनेर प्रहरीले अधिकारिक पुष्टि गरिसकेको छैन । 

प्रहरी स्रोतका अनुसार सोधपुछका क्रममा पदम अधिकारीले अंशुको हत्या गरेको स्वीकार गरेका छन् । तर, प्रहरी अधिकारीहरूले औपचारिक पुष्टि गर्न बाँकी छ । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले घटनाको संवेदनशीलतालाई ध्यानमा राखेर प्रारम्भिक निष्कर्ष सार्वजनिक गर्न हतार नगर्ने बताए ।
अंशु असोज २१ गते दिउँसो घरबाट निस्किएपछि बेपत्ता भएकी थिइन् । करिब दुई हप्तापछि, कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र अत्यन्तै विभत्स अवस्थामा शव फेला परेको थियो । शव टाउको र शरीर छुट्टिएको अवस्थामा, कुहिएको र दुर्गन्धित अवस्थामा भेटिएको थियो । 

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार अंशुको हत्या घरबाट हराएकै दिन गरिएको हुन सक्छ । तर, बलात्कारपछि हत्या भएको हो वा होइन भन्ने विषय हालसम्म यकिन भइसकेको छैन । घटनास्थलमा ट्राउजर, हाफपाइन्ट र चप्पल फुकालिएको अवस्थामा भेटिएकोले घटनाले यौनजन्य हिंसाको समेत संकेत गर्ने प्रहरी अधिकारीहरूको भनाइ छ । यद्यपि, यसको वैज्ञानिक पुष्टि भइसकेको छैन ।
अनुसन्धानमा संलग्न प्रहरी स्रोतका अनुसार अभिभावकसँग रहेको पुरानो रिसइबीका कारण नियोजित रूपमा बालिकाको हत्या गरिएको हुन सक्ने आशंका छ ।  प्रहरीका अनुसार हालसम्मको अनुसन्धानले घटनामा पदम अधिकारी एक्लैको संलग्नता देखाए पनि विस्तृत अनुसन्धान जारी छ ।

जिल्ला प्रहरी कार्यालय मोरङ, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को संयुक्त टोलीले यो घटनामा लामो समयदेखि अनुसन्धान गर्दै आएको थियो । शव अत्याधिक कुहिएको अवस्थामा भेटिएकाले फरेन्सिक प्रमाण संकलनमा कठिनाइ आएको र धेरै प्रमाण नष्ट भइसकेको प्रहरीले जनाएको छ । प्रहरीलाई यो घटना अनुसन्धान निकै जटिल र चुनौतीपूर्ण बनेको थियो ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल स्वयं घटनाको अनुसन्धानमा खटिएका थिए । उनले भने, ‘यो अत्यन्त संवेदनशील र गम्भीर अपराध हो । हामी पोस्टमार्टम रिपोर्ट, डीएनए परीक्षण र फरेन्सिक विश्लेषणका आधारमा मात्रै अन्तिम निष्कर्षमा पुग्छौं । अहिले केही व्यक्तिमाथि सोधपुछ भइरहेको छ । सबै कुरा पुष्टि भएपछि मात्र सार्वजनिक गर्नेछौं ।’

अंशुको शवको सनाखत अभिभावकहरूले गरेका थिए । प्रहरीले डीएनए परीक्षणका लागि नमुना संकलन गरी प्रयोगशालामा पठाइसकेको छ । त्यसको रिपोर्ट अझै आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
अंशु स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत थिइन् । उनका अभिभावकको आर्थिक अवस्था कमजोर रहेको वडाध्यक्ष तेजप्रसाद तिम्सिनाले बताएका छन् । उनले घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको आशंका गरिएको बताउँदै सत्य तथ्य प्रहरी अनुसन्धानबाट पत्ता लाग्ने बताए । 
प्रहरीले अनुसन्धानका क्रममा अंशुको परिवार, छिमेकी, विद्यालयका शिक्षक, सहपाठी लगायत दर्जनौं व्यक्तिसँग सोधपुछ गरेको थियो । घटनास्थल वरपरका बासिन्दाको बयान, प्राविधिक विश्लेषण र शंकास्पद व्यक्तिहरूको गतिविधिको अध्ययन गर्दै अन्ततः मुख्य अभियुक्तसम्म पुग्न प्रहरी सफल भएको छ । पक्राउ परेका पदममाथि थप अनुसन्धान जारी छ । घटनामा संलग्नविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने तयारी रहेको प्रहरी स्रोतले बतायो । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.