विराटनगरमा अन्तर्राष्ट्रियस्तरको मेला आयोजनाको तयारी

विराटनगरमा अन्तर्राष्ट्रियस्तरको मेला आयोजनाको तयारी

विराटनगर : विराटनगरमा अन्तर्राष्ट्रियस्तरको  ‘विराट ट्रेड एक्स्पो–२०२५’ आयोजनाको तयारी गरिएको छ। मोरङ उद्योग व्यापार संघले विराटनगर महानगरपालिका–२ शान्ति चोकमा आयोजना गर्ने व्यापार मेलाको तयारी तीव्र पारिएको हो।  

आगामी पुस ९ देखि १९ गतेसम्म व्यापार मेला सञ्चालनको तयारी छ। विराटनगरमा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत संघले एक्स्पोको तयारी, उद्देश्य र सम्भावित प्रभावबारे विस्तृतमा जानकारी गराएको छ। आर्थिक गतिविधिलाई चलायमान बनाउने, स्वदेशी उत्पादनको प्रवर्धन गर्ने र अन्तर्राष्ट्रिय बजारसँग जोड्ने लक्ष्यसहित भव्य रूपमा एक्स्पो आयोजना गर्न लागिएको जानकारी संघका अध्यक्ष अनुपम राठीले दिए। एक्स्पोमा जर्मन प्रविधिबाट तयार गरिएको ह्याङगर संरचनासहित २ सय ३० वटा स्टल रहने छन्। ८० प्रतिशतभन्दा बढी स्टल बुकिङ भइसकेको राठीले बताए। 

नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगका उत्पादन, कृषिजन्य वस्तु, औद्योगिक सामग्री, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, पर्यटन र सेवा क्षेत्रसँग सम्बन्धित सामग्रीहरू प्रदर्शनीमा रहने जानकारी राठीले दिए। साथै भारत, बंगलादेश, पाकिस्तानलगायत छिमेकी मुलुकका उत्पादन पनि प्रदर्शनीमा राखिनेछ। जसले उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सहकार्य विस्तार गर्ने अपेक्षा गरिएको राती बताउँछन्। 

उनका अनुसार नेपाल उद्योग वाणिज्य महासंघको संस्थापक सदस्यसमेत रहेको संघले उद्योगी व्यवसायीको हकहित संरक्षण, आर्थिक क्रियाकलापको विविधीकरण र स्वाभिमानी अर्थतन्त्र निर्माणमा निरन्तर योगदान गर्दै आएको इतिहास छ। 

यसअघि संघले कोशी महोत्सव–२०५३, पूर्वाञ्चल औद्योगिक व्यापार मेला–२०५७, विराट महोत्सव–२०६२ र २०७०, विराट ट्रेड एक्स्पो–२०१८ र २०२२ तथा मोरङ व्यापार संघ एक्स्पो–२०२३ सफलतापूर्वक सम्पन्न गरिसकेको छ। यस वर्षको एक्स्पो जेन्जी आन्दोलनपछि देखिएको आर्थिक शिथिलतालाई तोड्दै बजारमा नयाँ ऊर्जा भर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको दाबी आयोजकको छ।  

मुलुकको नेपाल व्यापार रणनीतिअन्तर्गत पहिचान गरिएका कोशी प्रदेशका वस्तुहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार विस्तार, स्वदेशी तथा विदेशी लगानीकर्ताबीच सहकार्य विकास, मोरङ–सुनसरी औद्योगिक करिडोरको प्रवर्धन र कोशी पर्यटन वर्ष–२०८२ को प्रचार–प्रसार एक्स्पोका प्रमुख लक्ष्य हुन्। एक्स्पो अवधिभर स्टार्टअप, साना तथा मध्यम उद्यम, पर्यटन, सूचना प्रविधि, साइबर सुरक्षा, कर तथा लेखा प्रणाली र महिला उद्यमशीलतासम्बन्धी विषयमा गोष्ठी तथा छलफल कार्यक्रम आयोजना गरिनेछ। 

यसले नयाँ उद्यमीलाई व्यवसाय सुरु गर्ने अवसर र विद्यमान व्यवसायीलाई विस्तारका नयाँ सम्भावना दिने विश्वास आयोजकको छ। दर्शकलाई मनोरञ्जनका लागि चर्चित राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनेछ। मेलामा किड्स जोन, सेल्फी जोन, फिस तथा जलपरी टनेल, मनोरञ्जनात्मक खेल सामग्री र नेपाली कलाकृतिमा आधारित आकर्षक प्रवेशद्वार निर्माण गरिनेछ। 

मेलाको २ लाखभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने अनुमान आयोजकको छ। २ करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको एक्स्पोबाट २५ देखि ३० करोड रुपैयाँसम्मको कारोबार हुने अपेक्षा आयोजकले गरेको छ। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.