छोराछोरी लिएर अब कहाँ जाउँ ?

छोराछोरी लिएर अब कहाँ जाउँ ?
सुरक्षा निकायका प्रमुखसहित प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल जानकीको घरमा। तस्बिर : कृष्ण बिष्ट

बैतडी : तीन छोराछोरीसहित किरिया कक्षमा बसेकी छन् एक्ली महिला।  दिनको समयमा सायदै मान्छे आउने जाने गर्छन्।  अधिकांश समय एक्लै बसेर श्रीमान्को १० दिनको किरिया सोमबार सकिँदैछ।  यी १० दिन श्रीमान् गुमाएको पीडाभन्दा अबोध छोराछोरी कसरी हुर्काउने भनेर सोच्दासोच्दै बितेका छन्।  यो अवस्था हो, बैतडीको सुर्नया गाउँपालिका–४ कौलाडीकी २९ वर्षीया जानकी महराको। 

उनका श्रीमान् नरेश महराको यही मंसिर १८ गते मिनी ट्रक दुर्घटनामा मृत्यु भएको हो। श्रीमान् नरेशको कुटाइबाट घरबाट निकालिएकी महरा त्यसअघि सेफ हाउसको सरणमा पुगेकी थिइन्।  सेफ हाउसमै छोराछोरीसहित बस्दै आएकी जानकीका श्रीमान् नरेशको दुर्घटनामा मृत्यु भएको जानकारी पाएपछि किरिया गर्न मंसिर १९ गते घर पुगेकी थिइन्। 

श्रीमान् नरेशले २० रोपनी जमिनसहित घरसमेत बेचेको थाहा पाएपछि उनी घरबारविहीन बन्न पुगेकी हुन्।  किरियासमेत छिमेकीकोमा बसेकी जानकीलाई भविष्यको चिन्ताले निकै सताएको छ। 

मंसिर २७ गतेको अन्नपूर्ण पोस्ट्मा ‘पतिले घरजग्गा बेचेर सके, श्रीमती छिमेकीको घरमा किरिया बस्दै’ शीर्षकको सामाचार प्रकाशन भएपछि बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलसहित सरोकारवाला निकायका प्रतिनिधिहरूले चासो राख्दै आइतबार जानकीको घर पुगेका थिए।  प्रमुख जिल्ला अधिकारी पौडेलले विभिन्न दातृ निकायले सहयोग तथा उद्धार गर्ने विषयमा चासो राखेकाले जानकीको इच्छाअनुसार आवश्यक पहल गर्ने जानकारी दिए।

 ‘जानकीलाई बस्नको लागि पालिकास्तरबाट सहयोग हुनुपर्छ, त्यसका लागि पालिका अध्यक्षसँग पनि मेरो कुराकानी भएको छ।  केही गैरसरकारी संस्थाहरूले पनि आमा र बच्चालाई बस्ने व्यवस्था मिलाइदिने र पढाइको समेत व्यवस्था गरिदिने विषयमा कुराकानी आएको छ।  आवश्यक समन्वय गरेर जानकीको इच्छाअनुसार सहयोग गर्न पहल गर्छौं’, जानकीसँगको भेटका क्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले भने। 
प्रमुख जिल्ला अधिकारीसमक्ष जानकीले उद्धारका लागि सहयोग गर्न आग्रह गरेकी थिइन्।  ‘साना तीन छोराछोरी छन्, किरिया गर्न छिमेकीको घरमा बसें, अब कहाँ जाउँ ?’, जानकीले प्रमुख जिल्ला अधिकारीसमक्ष रुँदै भनिन्। 

‘श्रीमान् जिउँदो छँदा उनको कुटाइ सहन नसेकर सेफ हाउसमा पुगेकी हुँ, रातदिन कुटपिट मात्रै गर्ने, बस्नै नसकेर कानुनी उपचार खोज्न सेफ हाउस पुगेकी थिएँ, त्यही अवस्थामा उनको मृत्यु भएको थाहा पाएर किरिया गर्न घर आउँदा सबै घरबार बेचेका रहेछन्, अब कहाँ जाउँ’, जानकीले प्रमुख जिल्ला अधिकारीको सामुन्ने रुँदै भनिन्। 

श्रीमान्ले रातदिन कुटपिट गर्ने गरेको र उनको कुटाइबाट बच्न सहयोगको माग गर्दै सेफ हाउस पुगेको जानकीले सुनाइन्।  ‘रातदिन कुटाइ सहन सकिन, छोराछोरीहरू तर्सिन्थे, उद्धारको माग गर्दै सेफ हाउस पुगेकी हु, त्यही समयमा यहाँको करिब २० रोपनी जमिन र घर बेचेछन्,’ जानकीले भनिन्। 

गाउँपालिका अध्यक्ष अम्मरबहादुर कँुवरले पनि पालिकास्तरबाट बस्ने व्यवस्था मिलाउन र सरोकारवाला निकायसँग नियमित पहल गरेर उद्धारमा सहयोग गर्ने बताए।  ‘साँच्चिकै जानकीको परिवार शोकमा मात्रै नभई, भविष्य नै अन्धकारको अवस्थामा छ, हामी पालिकास्तरबाट सहयोग गर्छाैँ,’ अध्यक्ष कँुवरले भने। 

जानकीको परिवारको उद्धारका लागि वडा कार्यालयबाट पनि सहयोगका लागि पहल भइरहेको वडाध्यक्ष प्रताप महराले बताए। दृष्टि फाउन्डेसनकी संयोजक कल्पना भट्टले उनको आवश्यक सहयोगका लागि दृष्टि फाउन्डेसन तयार रहेको जानकारी गराइन्।  ‘अन्नपूर्ण पोस्ट्ले भुइँ मान्छेको समाचार लेख्यो, यसले मलाई सहयोग गर्ने इच्छा जागेको छ, ती महिला र बालबच्चाको लागि दीर्घकालीन सहयोग गर्न तयार छौं, आमालाई बस्न र बालबालिकालाई पढाइको पूर्ण व्यवस्था हुन्छ, हामीसँग डेढ दर्जन परिवार छन्,’ भट्टले भनिन्।  दृष्टि फाउन्डेसनले कैलालीमा वृद्धाश्रम र अनाथ तथा बेसाहारहरूका लागि आमा र छोराछोरीहरूका लागि छुट्टै स्थल सञ्चालन गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.