प्यानल बनाएरै होमिए ओली र पोखरेल, केही नेताहरू रुष्ट (क-कसले दिए उम्मेदवारी)
काठमाडौं : नेकपा एमालेको ११औं महाधिवेशनबाट चुनिने नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता गरिएको छ। यसपटक एमालेमा दुई प्यानलबाट उम्मेदवारी दर्ता गरिएको छ। अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलले उम्मेदवारी दिएका छन्। अध्यक्षका आकांक्षी ओली र पोखरेलले प्यानल नै बनाएर निर्वाचनमा होमिएका हुन्।
ओली प्यानलबाट उपाध्यक्षमा रामबहादुर थापा, विष्णु प्रसाद पौडेल, गुरु बराल र पृथ्बीसुब्बा गुरुङले उम्मेदवारी दिएका छन्। यसअघि उपाध्यक्षका दाबेदार भनिएका प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै मनोनयन गरेको बताइएको छ। स्रोतका अनुसार महासचिव नपाएपछि ज्ञवाली ओलीसँग रुस्ट बनेका छन्।
ओलीले महासचिवमा शंकर पोखरेललाई नै दोहोर्याएका छन्। त्यस्तै उपमहासचिवमा विष्णु रिमाल, रघुवीर महासेठ र लेखराज भट्टले उम्मेदवारी दिएका छन्।
त्यस्तै सचिवमा पद्मा अर्याल, शेरधन राई, यामलाल कँडेल, राजन भट्टराई, महेश बस्नेत, छबिलाल विश्वकर्मा, खगराज अधिकारी, हिक्मत कार्की र भानुभक्त ढकालले उम्मेदवारी दिएका छन्। ओली पक्षका केही नेताहरूले पदाधिकारी नपाएपछि स्वतन्त्र उम्मेदवारीसमेत दिएका छन्। यसअघि प्रचार प्रसार विभाग प्रमुखसमेत रहेका राजेन्द्र गौतमले उपमहासचिवमा स्वतन्त्र उम्मेदवारी दिएका छन्।
त्यस्तै पोखरेल प्यानलबाट उपाध्यक्षमा बिन्दा पाण्डे, परशुराम मेघी गुरुङ, गोकर्ण विष्ट, अरुण नेपाल र रघुजी पन्तले उम्मेदवारी दिएका छन्। त्यस्तै महासचिवमा सुरेन्द्र पाण्डे, उपमहासचिवमा योगेश भट्टराई, बैजनाथ चौधरी र आनन्द पोखरेलले उम्मेदवारी दिएका छन्।
त्यस्तै सचिवमा गोकुल बास्कोटा, कर्ण थापा, ठाकुर गैरे, रचना खड्का, विनोद ढकाल, पुरुषोत्तम पौडेल र कृष्णगोपाल श्रेष्ठले उम्मेदवारी दिएका छन्। १९ सदस्यीय पदाधिकारीमा पोखरेलको तर्फबाट १७ जनाको उम्मेदवारी मात्र परेको छ।
महाधिवेशन प्रचार प्रसार समितिका संयोजक पद्मा अर्यालले यसअघिको कार्यतालिकामा केही परिवर्तन हुने जानकारी दिइन्। यसअघि मंगलबार विहान ११ देखि साँझ ५ बजेसम्म विद्युतीय माध्यमबाट मतदान हुने कार्यतालिका रहेको थियो। तर, उम्मेदवारहरूबीच सहमतिको अधिकतम प्रयास गरिने भएकाले उक्त समय परिवर्तन हुनसक्ने संयोजक अर्यालले बताइन्।
'उम्मेदवारहरूबीच सहमतिको अधिकतम प्रयास गर्नेछौं। त्यसैले मतदान हुने समय ठ्याक्कै भन्न सकिँदैन। भोलि भएन भने पर्सी पनि हुनसक्छ,' उनले भनिन्।
प्रतिक्रिया दिनुहोस !