उम्मेदवारीले संस्थापन तितरवितर, ओली पक्षमा भुँइचालो
मागेको उम्मेदवारी नपाएपछि ओली निकट नै बिच्किए
काठमाडौं : एमालेको ११औं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल मैदान आएका छन्। ओली र पोखरेल आगामी अध्यक्षको लागि उम्मेदवार दर्ता गरेका छन्। ओली र पोखरेल दुवै प्यानल बनाएर नै प्रतिस्पर्धामा उत्रिएका छन्।
ओली प्लानलबाट महासचिवमा शंकर पोखरेल र पोखरेल समूहबाट सुरेन्द्र पाण्डेको उम्मेदवारी परेको छ। यस्तै उपाध्यक्षमा संस्थापनबाट विष्णुप्रसाद पौडेल, रामबहादुर थापा, पृथ्वीसुब्बा गुरुङ र गुरु बरालको उम्मेदवारी परेको छ। प्रदीप ज्ञवालीले भने उपाध्यक्षमा दिइएको उम्मेदवारी अस्वीकार गरेका छन्। पोखरेल पक्षबाट उपाध्यक्षमा गोकर्ण विष्ट, विन्दा पाण्डे, अरुण नेपाल, परशुराम मेघी गुरुङको उम्मेदवारी परेको छ । स्वतन्त्र रूपमा उम्मेदवारी दिएका रघुजी पन्तलाई समेट्ने प्रयास पोखरेल पक्षबाट भइरहेको छ। टंक कार्कीसहित ११ जनाको उपाध्यक्षमा उम्मेदवारी परेको छ ।
संस्थापनबाट उपमहासचिवमा विष्णु रिमाल, लेखराज भट्ट र रघुवीर महासेठको उम्मेदवारी परेको छ। पोखरेल पक्षबाट उपमहासचिवमा योगेश भट्टराई, आनन्द पोखरेल र बैजनाथ चौधरीको उम्मेदवारी परेको छ। संस्थापनबाट सचिवमा शेरधन राई, हिक्कम कार्की, भानुभक्त ढकाल, डा.राजन भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, पदमाकुमारी अर्याल, यमलाल कँडेल, छविलाल विश्वकर्माले उम्मेदवारी दर्ता गराएका छन्।
पोखरेल समूहबाट सचिवमा गोकुल बास्कोटा, कर्ण थापा, ठाकुर गैरे, रचना खड्का, विनोद ढकाल, पुरुषोत्तम पौडेल, कृष्णगोपाल श्रेष्ठ र इन्द्रलाल सापकोटाले उम्मेदवारी दिएका छन्। सचिवमा २० जनाको उम्मेदवारी परेको छ । १९ पदाधिकारीसहित ३ सय १ जना केन्द्रीय सदस्यका लागि ठूलो संख्यामा उम्मेदवारी परेको छ। यो पटक एमालेले ५ प्रतिशत युवालाई केन्द्रीय कमिटी ल्याउने भएको छ। युवाहरूको पनि उत्साहजनक उम्मेदवारी परेको छ। एमालेमा २ हजार २ सय ६३ प्रतिनिधि छन्।
महासचिवको प्रतिस्पर्धा रोचक
महाधिवेशनमा महासचिवको प्रतिस्पर्धा रोचक हुने देखिएको छ। महासचिवमा ओली पक्षबाट पोखरेल र पोखरेल पक्षबाट पाण्डेले प्रतिस्पर्धा गर्दै छन्। पोखरेल वर्तमान महासचिव हुन्। जबजका व्याख्यताका रूपमा पनि पोखरेललाई चिनिने गरेको छ। एमालेमा संविधानसभाको विषय पार्टीमा निर्णय गराउने नेता पनि हुन्। अन्तरमुखी स्वभावका भनेर विपक्षीहरूले उनलाई आरोप पनि लगाउने गरेका छन्। पाण्डेलाई एमालेका बौद्धिक नेता हुन्। नवौं महासचिव लडेका थिए । झिनो मतले ईश्वर पोखरेलसँग पराजित भएका थिए। अहिले ईश्वर पोखरेलकै प्यानलबाट महासचिव
पुनः लडिरहेका छन्।
उम्मेदवारीले संस्थापन तितरवितर, ओली पक्षमा भुँइचालो
उम्मेदवारी दर्तासँगै संस्थापन पक्ष तितरवितर भएको छ। आकांक्षी धेरै भएका कारण व्यवस्थापन हुन नसक्दा ओली रुष्ट भएका छन्। आफूले मागेको पद नपाएपछि केही प्रभावशाली नेताले संस्थापन पक्ष छोडेका छन् भने मौन रहेका केही नेता इतर समूहमा खुलेका छन्।
महासचिवको दाबी गरिरहेको अध्यक्ष ओली विश्वासपात्र उपमहासचिव प्रदीप ज्ञवालीले महासचिवको पदको दाबी गरेका थिए तर उनलाई उपाध्यक्षको उम्मेदवार बनाएपछि असन्तोष व्यक्त गरेका छन्।
उनले उपाध्यक्षको उम्मेदवारी नै अस्वीकार गरेका छ्न। उपमहासचिव थिए, उनलाई उपाध्यक्ष उम्मेदवार बनाइयो तर उनले त्यो स्वीकार गरेनन्। महासचिव नै हुनुपर्ने अड्डी कसे। महासचिव नपाएपछि ज्ञवाली महासचिवको उम्मेदवारी नपाएमा ओली निवास गुण्डुबाट रुँदै हिँडेको पनि बताइएको छ। केन्द्रीय सदस्य मात्रै लड्ने बताएर गुण्डुबाट हिँडेका उनले केन्द्री सदस्यमा मात्रै उम्मेदवारी दिएका छ्न।
पदाधिकारीको दाबी गरिरहेका वर्तमान स्थायी समिति सदस्य एवं प्रचार तथा प्रसारण विभागका इन्चार्ज राजेन्द्रप्रसाद गौतमले असन्तुष्टि जनाउँदै उपमहासचिवमा उम्मेदवारी दिएका छन्।
ओली पक्षको उम्मेदवारको लिस्टमा नपरेपछि गौतमले पनि उपमहासचिवमा उम्मेदवारी दर्ता गराएका छन्। आनन्द पोखरेलले पनि उपमहासचिवमा नै उम्मेदवारी दिएका छन्। ओली निकट रहेका पोखरेलले पदाधिकारीमा उम्मेदवारी नपाएपछि उपमहासचिवमा स्वतन्त्र रूपमा उठेका हुन् तर उनलाई ईश्वर पोखरेल प्यानलमा समेट्न प्रयास भइरहेको छ।
‘केपी ओली इज केपी ओली, फुटबलको पेलेजस्तै’ भन्ने कृष्णगोपाल श्रेष्ठले इतर पक्षमा लागेका छन्। पछिल्लो समयमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी निकट भएका श्रेष्ठले ईश्वर पोखरेल समूहबाट सचिवको उम्मेदवार भएका छन्। उनले महाधिवेशनस्थलमा पत्रकारसँग आफू पछिल्लो समय ओलीबाट पेलिएको बताए।
हालै अपदस्थ भएको ओली नेतृत्वको सरकारमा शिक्षामन्त्री रहेका रघुजी पन्तले स्वतन्त्र रूपमा उपाध्यक्ष उम्मेदवारी दिएका छन्। २०७८ सालमा एमाले विभाजन ताका १० भाइमा पर्थे। पछिल्लो समय पन्त ओली निकट भएर शिक्षामन्त्री भएका थिए। उनले दुवै पक्षको साझा उम्मेदवार बन्ने प्रयास गरिरहेका छन्। पूर्वसचिव भीम आचार्यले पनि उपाध्यक्षमा नै उठेका छन्। आचार्य पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचारमा मुछिएका छन्। उनीविरुद्ध अख्तियारले मुद्दा नै हालेको छ।
ओलीका विश्वासपात्रका रूपमा रहेका पूर्वमहान्यायाधिवक्तासमेत रहेका अग्नि खरेलले सचिवमा उम्मेदवारी दिएका छन्। उनले पनि ओलीको निर्णय अवज्ञा गरेका छन्। प्रधानमन्त्री रहेका बेला ओलीको विज्ञ सल्लाहाकार भएरसमेत खरेलले काम गरेका थिए। उनलाई संस्थापन पक्षबाट खुला केन्द्रीय सदस्यमा उम्मेदवार बनाइएको थियो।
२०७४ सालको ओली सरकारको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भएका लालबाबु पण्डितले स्वतन्त्र रूपमा सचिवमा उम्मेदवारी दिएका छन्। उम्मेदवारी कारण केहीले संस्थापन छोडेर इत्तर पक्षबाट उम्मेदवार भएको घोषणा पनि गरेका छन्। केहीले स्वतन्त्र उम्मेदवारी दिएका छन्। संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ छोरा सुहाङ नेम्बाङले पनि स्वतन्त्र खुला सदस्यमा उम्मेदवारी दिएका छन्।
१० भाइ ओली इतर
११ औं महाधिवेशनमा १० भाइ ओली इतर देखिएका छन्। गोकर्ण विष्ट उपाध्यक्षमा उम्मेदवार भएका छन्। पोखरेल समूहका महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डे पनि १० भाइ भित्रकै हुन्। भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञावाली, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण बिष्ट, घनश्याम भुषाल, भीम आचार्य, अमृत बोहोरा र रघुजी पन्त ‘१० भाइ’ समूहमा पर्छन्।
२०७७ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटन गरेपछि ओलीसँग अन्तरसंघर्ष गरे पनि १० जनाले विभाजनताका एमालेमै बसे। माधव नेपाल समूहमा रहेका उनीहरूले पार्टी विभाजन गर्दा नेपाललाई साथ दिएनन्। एमालेमा नै अन्तरसंघर्ष गरेर बसे। भीम रावल, घनश्याम भूषालले पार्टी छोडिसकेका छन्। अहिले भीम रावल र घनश्याम भुसालले पार्टी छोडिसकेका छन्।
शाक्य र ज्ञवालीले अब चुनाव लड्ने घोषणा गरिसकेका छन्। बोहोरा खासै सक्रिय छैनन्। योगेश भट्टराई पोखरेल समूह निर्माण गर्ने मध्येका एक प्रमुख पात्र हुन्। सोही समूहबाट उनको उपमहासचिवमा उम्मेदवारी परेको छ। भीम आचार्य र रघुजी पन्तको स्वतन्त्र रूपमा उम्मेदवारी परेपछि संस्थापन समूहमा १० भाइ नअटाएको देखिन्छ।
पूर्वमाओवादी भने संस्थापनमा नै
नेकपाकालमा माओवादी केन्द्रबाट एमालेमा बसेकाहरू भने संस्थापन अर्थात् ओली पक्षमा देखिएका छन्। संस्थापनबाटै रामबहादुर थापाले उपाध्यक्षको उम्मेदवारी पाएका छन् भने लेखराज भट्टले उपमहासचिवको टिकट पाएका छन्। सुरुवातमा नाम सार्वजनिक गर्दा भट्टको नाम सचिवमा थियो। उनले असहमति प्रकट गरेपछि उपमहासचिवको उम्मेदवार बनाइएको हो। सचिवको चर्चामा रहेकी रामकुमारी झाँक्रीले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवार बनाइएको छ। तर, उनले पार्टीले जे जिम्मेवारी दिन्छ त्यसलाई बहन गरेर अघि बढ्ने बताएकी छन्।
उनले भनिन्, ‘अहिले पनि त्यही हो। पार्टीले जे प्रकारको जिम्मेवारी दिन्छ त्यही प्रकारको जिम्मेवारी बोक्ने। त्यसैमा आफूले आफ्नो–आफ्नो क्यालिबर लगाउने। त्यहाँ वेल पर्फर्म गर्ने। त्यसकै आधारमा अगाडि बढ्ने। ’
प्रतिक्रिया दिनुहोस !