देउवा र शेखरबीच भेट, क्रियाशील सदस्यता र अनुशासन कारबाहीबारे छलफल
काठमाडौं : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। उनीहरूबीच क्रियाशील सदस्यता वितरण र केन्द्रीय अनुशासन समितिको कारबाहीका विषयमा छलफल भएको जनाइएको छ। भेटका क्रममा कोइरालाले क्रियाशील सदस्यता वितरण समितिले नम्बर बिनाका फाराम जिल्ला–जिल्ला पठाएको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन्।
कोइरालाले बिना नम्बरका फारामका कारण पार्टीभित्र देशभर जटिल समस्या सिर्जना भएको बताउँदै ती फाराम तत्काल फिर्ता गरी नयाँ नम्बरयुक्त फाराम पठाउन सभापति देउवालाई आग्रह गरे। कोइरालाले नम्बर बिनाका फारामका आधारमा महाधिवेशन प्रक्रिया सुरु गर्न सम्भव नहुने बताएका थिए।
भेटमा अनुशासन कारबाहीको विषयमा पनि कोइरालाले देउवाको ध्यानाकर्षण गराएका थिए। उनले केन्द्रीय अनुशासन समितिले सिफारिस गरेका सबै कारबाही फुकुवा गरी पार्टीलाई महाधिवेशन र आगामी आम निर्वाचनमा सक्रिय रूपमा परिचालन गर्न निर्देशन दिनुपर्ने धारणा राखे।
२०७९ सालको आम निर्वाचनका बेला गठबन्धनका क्रममा भएका विषयलाई लिएर अहिले कारबाही गर्नु उपयुक्त नहुने कोइरालाको भनाइ रहेको छ। भेटमा कोइरालासँगै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजाल पनि सहभागी थिए।
प्रतिक्रिया दिनुहोस !