अंशुको हत्यापछि विस्थापनको पीडामा आरोपीका परिवार
विराटनगर : मोरङको लेटाङ नगरपालिका–२ की १२ वर्षीया अंशु गौतमको बलात्कारपछि हत्या गरिएको घटना एक बालिकाको ज्यान लिने अपराधमा मात्रै सीमित रहेन। यो घटनाले सिंगो गाउँको सामाजिक बनोट, छिमेकीबीचको सम्बन्ध र पीडित तथा आरोपी दुवै परिवारको जीवनलाई गहिरो रूपमा तहसनहस बनाइदिएको छ। अंशुको निर्मम हत्या भएपछि एकातिर पीडित परिवार शोक, अभाव र असह्य पीडामा डुबेको छ भने अर्कोतिर आरोपी व्यक्तिका परिवारजन आफ्नै थातथलो छाडेर विस्थापित जीवन बिताउन बाध्य भएका छन्।
अंशुको हत्या प्रकरणमा छिमेकी ५९ वर्षीय पदमबहादुर अधिकारी पक्राउ परेपछि गाउँमा फैलिएको आक्रोशले सामाजिक सन्तुलन नै भत्काइदिएको छ। पदमबहादुर र अंशुको घर एकै ठाउँमा छ। जोडिएको घरमै बस्ने व्यक्तिले बलात्कार गरी बालिकाको हत्या गरेको निष्कर्ष सार्वजनिक भएसँगै लेटाङ–२ को वातावरण तनावग्रस्त बन्यो। पीडित र आरोपी परिवार दशकौँदेखि एउटै ठाउँमा छिमेकीका रूपमा बस्दै आए पनि यो घटनाले पुरानो सम्बन्धलाई अपराध, घृणा र डरले चिराचिरा पारिदिएको छ।
प्रहरीले पदमबहादुरलाई मंसिर १८ गते नियन्त्रणमा लिएर कर्तव्य ज्यान र जबरजस्ती करणी मुद्दामा अनुसन्धान गरिरहेको छ। इलाका प्रहरी कार्यालय लेटाङका इन्स्पेक्टर सागर साह नेतृत्वको टोलीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ। मोरङ प्रहरीले मंसिर २१ गते घटनाको विस्तृत विवरण सार्वजनिक गरेको थियो। त्यसपछि गाउँमा आक्रोश झनै फैलियो। सोही साँझ आक्रोशित भिडले पदमबहादुरको घरमा आक्रमण गर्दै तोडफोड गर्यो। ठूलो संख्यामा परिचालित सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिएर घरलाई थप क्षति हुनबाट जोगाए पनि आरोपीका परिवारजनले सुरक्षित महसुस गर्न सकेनन्।
असुरक्षाको डर, आक्रोशित भिडको सम्भावित आक्रमण र सामाजिक दबाबका कारण पदमबहादुरको परिवारका सदस्यले तत्काल गाउँ छाड्नुपर्ने अवस्था आयो। विस्थापनको पीडा भोगिरहेको उनको परिवार अहिले विभिन्न खालका संकटमा छ। वडाध्यक्ष तेजप्रसाद तिम्सिनाका अनुसार कानुनी रूपमा अपराधमा संलग्न व्यक्ति मात्र दोषी ठहरिए पनि सामाजिक यथार्थ फरक हुन्छ। गाउँमै बसे थप घटना हुन सक्ने जोखिम देखिएपछि सुरक्षाका दृष्टिले पनि आरोपीका परिवार बाहिरै बस्नु उपयुक्त ठानिएको उनले बताए।
पदमबहादुरको पारिवारिक अवस्था आफैंमा कमजोर र जटिल छ। उनकी श्रीमती, तीन छोरी र एक छोरा छन्। दुई छोरीको विवाह भइसकेको छ भने कान्छी छोरी अविवाहित छिन्। छोरा यसअघि जबरजस्ती करणी आशयको मुद्दामा दोषी ठहर भई कैद सजाय भुक्तान गरेर कात्तिक १८ गते मात्रै जेलमुक्त भएका थिए। जेलबाट छुटेपछि पनि उनी स्थिर जीवनमा फर्कन नसकेको स्थानीयको भनाइ छ। बुहारीले यसअघि नै छाडिसकेकी थिइन्।
पतिको १ वर्षअघि निधनपछि माइली छोरी माइतीमै बस्दै आएकी थिइन्। घटना हुनुअघि पदमबहादुर पत्नी र विवाह भइसकेकी माहिली छोरीसँगै बस्दै आएका थिए भने छोरा जेलबाट छुटेर घर फर्किएका थिए। तर, पदमबहादुर पक्राउ परेपछि परिवारका सबै सदस्य घर छाड्न बाध्य भएका छन्।
वडाध्यक्ष तिम्सिनाका अनुसार पदमबहादुरको आर्थिक अवस्था सामान्य छ। वैदेशिक रोजगारीका लागि साउदी अरब गएका उनले करिब नौ वर्षअघि फर्किएपछि खेती किसानी गरेर परिवार पाल्दै आएका थिए। गाउँमा करिब १५–१६ कट्ठा जग्गा भए पनि अपराधको आरोप लागेपछि घर, घरभित्रका सबै सामान र खेतबारी छाडेर परिवारका सदस्य विस्थापित हुनुपर्यो। विस्थापित जीवन बिताइरहेका उनीहरुले अहिले बसेकै ठाउँमा मानसिक तनावसँगै दैनिक जीवन चलाउनलाई अभावका साथै विभिन्न कठिनाइ झेलिरहेका छन्।
पदमबहादुरकी माइली छोरी भन्छिन्, ‘घरमा तोडफोड गरियो। गाउँमा बस्नै दिइएन। कपडाबाहेक केही पनि निकाल्न पाएनौँ। खेतमा लगाएको बाली छ, तर जानै दिँदैनन्। असुरक्षित भएपछि थातथलो नै छाड्नुपर्यो।’ पदमबहादुरकी पत्नी हाल सुन्दरहरैँचाको खोर्सानेस्थित उनै माइली छोरीको घरमा बसिरहेकी छन् भने छोरा झापामा काकाको घरमा आश्रय लिएर बसेका छन्।
वडाध्यक्ष तिम्सिनाका अनुसार झट्ट हेर्दा विस्थापनजस्तो देखिए पनि यो अवस्थामा पीडकका परिवारलाई जोगाउन नै पर्ने अवस्था आयो। ‘बालिकाको हत्याजस्तो जघन्य घटनाले गाउँमा आक्रोश चुलिँदा आरोपीका परिवारका सदस्यलाई सुरक्षा आवश्यक थियो। यदि परिवारका सदस्य त्यहीँ बसेका भए उनीहरूमाथि पनि आक्रमण हुन सक्ने खतरा हुन्थ्यो,’ तिम्सिनाको भनाइ छ। आफन्तको सहयोग एवं समन्वयमा विस्थापित भएकाहरुलाई अस्थायी हिसाबले व्यवस्थापन गरिएको उनले बताए।
इतिहासले पनि पीडित र पीडक दुवै परिवारलाई एउटै पीडामा बाँधेको तथ्य बाहिर आएको छ। तिम्सिनाका अनुसार २०४३ सालको बाढीपछि दुवै परिवार विस्थापित भएका थिए। रेडक्रसको समन्वयमा उपलब्ध गराइएको जग्गामा रकम तिरेर दुवै परिवारले घर बनाएर बस्न थाले। एउटै विस्थापनको पीडा भोगेका परिवार दशकौँसम्म छिमेकी भएर बसे। तर, विगतदेखि नै सम्बन्ध राम्रो नभएको स्थानीय बताउँछन्। अन्ततः जोडिएको घरमै बस्ने व्यक्तिबाट भएको जघन्य अपराधले छिमेकीको इतिहास र सम्बन्धलाई पूर्ण रूपमा अर्थहीन बनाइदियो।
अर्कोतिर, अंशुको परिवारको अवस्था पनि अत्यन्तै दयनीय छ। अंशुका बुवाले दैनिकजसो गाउँबाट कागती किचेर बेच्दै आएको आम्दानीले चामल, नुन र तरकारी किनेर परिवार चलाउँदै आएका थिए। रेडक्रसले उपलब्ध गराएको सानो जग्गामा बनेको घरमा बस्दै आएका परिवारका लागि अंशुको हत्या जीवनकै सबैभन्दा ठूलो आघात बनेको छ। अहिले अभिभावक किरियामा छन्। स्थानीय, संघसंस्था र कर्मचारीहरूले किरिया खर्चमा सहयोग गरिरहेको स्थानीय पत्रकार प्रशान्त निरौलाले बताए। उनका अनुसार पारिवारिक आर्थिक अवस्था अत्यन्तै नाजुक भएकाले सहयोग जुटाउन अनलाइन अभियानसमेत चलाइएको छ।
अंशुको हत्या प्रकरणको अनुसन्धान प्रहरीका लागि निकै चुनौतीपूर्ण बन्यो। असोज २१ गते दिउँसो घरबाट निस्किएकी अंशु साँझसम्म नफर्किएपछि खोजी सुरु गरिएको थियो। कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र उनको शव टाउको र शरीर अलग, कुहिएको एवं दुर्गन्धित र बीभत्स अवस्थामा फेला पर्यो। शव पहिचान गर्नै नसकिने अवस्थामा थियो। घटनास्थलबाट फेला परेका चप्पल र कपडाका आधारमा मात्र अभिभावकले सनाखत गर्न सके।
जिल्ला प्रहरी कार्यालय मोरङ, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को संयुक्त टोलीले ‘जस्टिस फर अंशु गौतम’ (जग) नाम दिएर विशेष अपरेशन सञ्चालन गरेको थियो। मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल स्वयं अनुसन्धानमा खटिए। मोबाइल प्रयोग नगर्ने बालिका, प्रत्यक्षदर्शीको अभाव र सीमित प्रमाणका कारण अनुसन्धान अत्यन्तै कठिन भएको एसपी कटवालको अनुभव छ। उनका अनुसार ३ सयभन्दा बढी व्यक्तिसँग सोधपुछ र १६ जनाको पोलिग्राफ परीक्षण गरिएको थियो। विद्यालयका साथी, शिक्षक, छिमेकी र जंगल क्षेत्रमा जाने सबैलाई अनुसन्धानको दायरामा ल्याइएको थियो।
प्रहरीका अनुसार पदमबहादुरका छोरा जेलमुक्त भएको भोलिपल्टै पदमबहादुर शंकास्पद रूपमा भारततर्फ लागेका थिए। मेघालयमा गाई फार्ममा काम गरिरहेका उनलाई आफन्तमार्फत गाउँमा बोलाएर मंसिर १८ गते नियन्त्रणमा लिइयो। अनुसन्धानका क्रममा उनले अपराध स्वीकार गरेको प्रहरीको दाबी छ। ‘घाँस काट्न सघाए पैसा दिन्छु’ भन्दै सुनसान जंगलतर्फ लगेर जबरजस्ती करणी गरेपछि हँसियाले घाँटी रेटेर हत्या गरेको विवरण प्रहरीले सार्वजनिक गरेको छ। त्यसपछि उनी घाँसको भारी बोकेर घर फर्किए र अंशुको खोजीमा सहभागी हुँदै आफूलाई जोगाउने प्रयास गरे।
घटनामा संलग्नको पहिचानका क्रममा प्रहरीले विभिन्न व्यक्तिसँग गरेको सोधपुछ एवं अनुसन्धानका कारणले पनि आक्रोश बढ्ने अवस्था बनेको वडाध्यक्ष तिम्सिनाको भनाइ छ। ‘घर नै जोडिएका व्यक्तिले बीभत्स बालिकाको हत्या गरेको पाइयो। तर, त्यसअघि अपराधी खोज्ने क्रममा प्रहरीले गाउँभरिका व्यक्तिसँग सोधपुछ एवं अनुसन्धान गरेको थियो। एउटाले अपराध गर्दा सिंगो गाउँले दुःख पाउने अवस्था आएको थियो। त्यही भएकाले पनि प्रहरीले घटनामा संलग्न पत्ता लगाएपछि आक्रोशित बनेको भिडले आरोपीको घरमा तोडफोड गरिदिएको हो,’ उनले भने।
उनका अनुसार यो घटना एक परिवारको पीडामा मात्रै सीमित छैन। यसले समाजमा बालबालिकाको सुरक्षा, अपराधपछि उत्पन्न हुने सामूहिक आक्रोश र अपराधमा संलग्न नभएका परिवारजनले भोग्नुपर्ने अमानवीय पीडाबारे गम्भीर प्रश्न उठाएको तिम्सिना बताउँछन्। एक जनाले गरेको अपराधले सिंगो परिवार विस्थापित हुनु परेको यो यथार्थले न्याय, सुरक्षा र सामाजिक उत्तरदायित्वबारे सोच्न बाध्य बनाएको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !