एमाले राष्ट्रिय महाधिवेशन : मतदान आज, प्यानलमै चुनाव
काठमाडौं : एमालेको नयाँ कार्यसमितिका लागि बुधबार मात्रै मतदान हुने भएको छ। मंगलबार दिउँसोबाट मतदान हुने भनिए पनि पटक–पटक समय सार्दै बुधबारलाई मतदानको समय तोकिएको हो।
महासचिव शंकर पोखरेलले बुधबार बिहान ८ बजेपछि मतदान हुने जानकारी दिए। विद्युतीय मेसिनको व्यवस्थापनमा कठिनाइका कारण तोकिएको समयमा मतदान गराउन नसकिएको नेताहरूले बताएका छन्। यद्यपि, गुटगट प्यानल र असन्तुष्टलाई मिलाउन संस्थापन पक्षले मतदान पर सार्दै आएको अध्यक्षका प्रत्याशी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहको आरोप छ।
मंगलबार मतदान हुने भनिएपछि भृकुटीमण्डप क्षेत्र एमालेमय बनेको थियो। पुस १ गतेको चिसो मौसममा पनि आआफ्ना पक्षका उम्मेदवारको पक्षमा नारावाजीले भृकुटीमण्डप तातिएको थियो। कोही गाउँदै, कोही नाच्दै र कोही रमाइलो गर्दै आआफ्ना उम्मेदवारका पक्षमा प्रचार–प्रसार गरेका थिए। प्रचार सामग्रीले भृकुटीमण्डपको सडक ढाकिएको थियो। नाचगानदेखि आआफ्ना सांस्कृतिकका प्रस्तुति प्रदर्शन गरिएका थिए। देउडादेखि दोहोरीसम्मका आआफ्ना क्षेत्रका सांस्कृतिक प्रदर्शनीहरू एमाले प्रतिनिधि तथा कार्यकर्ताले गरिरहेका थिए। पन्चेबाजादेखि आआफ्ना जातजातिका बाजागाजामा पनि प्रस्तुति गरिरहेका थिए। जेन–जी आन्दोलनपछि सुस्ताएको राजनीतिक महोललाई एमालेको महाधिवेशनले गर्माएको भृकुटीमण्डपमा देखिएको दृश्यले पनि स्पष्ट देखाएको थियो।
मतदान आज बिहान ८ बजेबाट
मंगलबार बिहानबाट मतदान गर्ने भनिए पनि बुधबार बिहानबाट मात्रै मतदान हुने भएको छ। विद्युतीय मेसिनको व्यवस्थापनमा कठिनाइ भएको कारणले मतदान सरेको नेताहरूले बताएका छन्। केपी ओली पक्षका महासचिवका उम्मेदवार शंकर पोखरेलले बुधबार बिहान ८ बजेपछि सुरु गर्ने गरी मतदान स्थगित भएको जानकारी दिए।
मंगलबार बेलुका ७ बजे मतदान हुने भनेर लामबद्ध भएका प्रतिनिधिहरू चुनाव सरेपछि रित्तै फर्केका थिए। एमाले महाधिवेशनमा २ हजार २ सय ६३ प्रतिनिधि छन्। १९ पदाधिकारीसहित ३ सय १ जना केन्द्रीय सदस्यको लागि निर्वाचन हुँदै छ। जसका लागि ६ सय बढीको उम्मेदवारी परेको छ। एमालेको यो ११ औं महाधिवेशन मंसिर २७ गतेबाट सुरुवात भएको हो। मंसिर २९ मा सक्ने गरी तय भएको यो महाधिवेशन लम्बिँदै गएको छ। जसले गर्दा प्रतिनिधिहरू सकसमा छन्।
प्रदीपको विद्रोहको फाइदा रघुजी पन्तलाई
समूहगत प्यानल बनाएर केपी शर्मा ओली र ईश्वर पोखरेलको प्यानल चुनावी मैदानमा उत्रिएको छ। आइतबार उम्मेदवारी दर्ता भए पनि प्यानलको अन्तिम टुंगो भने सोमबार मात्रै लागेको हो।
अध्यक्ष ओलीलाई आफ्नो प्यानलका उम्मेदवारी टुंग्याउन ठूलो सकस बेर्होनु परेको छ। केहीले त विद्रोह नै गरेर पोखरेल समूहबाट उम्मेदवारी दिएका छन्। सालिन विद्रोह गरेका प्रदीप ज्ञवालीले अन्ततः ओली समूहका उम्मेदवारलाई सहयोग गर्न अपिल गरेका छन्। उनलाई दिइएको उपाध्यक्षको उम्मेदवारी भने उनले अस्वीकार गरे। महासचिव पद आफू पाउनुपर्ने अडानमा थिए ज्ञवाली। ओली समूहबाट शंकर पोखरेलले महासचिवको उम्मेदवारी पाएका छन्।
प्रदीप ज्ञवालीले उपाध्यक्ष उठ्न नमानेको फाइदा भने रघुजी पन्तलाई पुगेको छ। स्वतन्त्र रूपमा उपाध्यक्षमा उम्मेदवारी दिएका पन्तलाई ओली प्यानलले टिममा राखेको छ। ओली समूहबाट उपाध्यक्षमा रामबहादुुर थापा, विष्णुप्रसाद पौडेल, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र पन्तको उम्मेदवारी फाइनल भएको छ । उपमहासचिवमा विष्णु रिमाल, रघुवीर महासेठ र लेखराज भट्टको उम्मेदावरी परेका छन्। त्यस्तै सचिवमा शेरधन राई, हिक्मतकुमार कार्की, भानुभक्त ढकाल, महेश बस्नेत, डा. राजन भट्टराई, खगराज अधिकारी, छविलाल विश्वकर्मा, पद्माकुमार अर्याल र यामलाल कँडेलको उम्मेदवारी परेको छ।
पोखरेल समूहबाट गोकर्ण विष्ट, बृन्दा पाण्डे, अरुण नेपाल, टंकप्रसाद कार्की र पर्शुराममेघी गुरुङ उपाध्यक्षका उम्मेदवार छन्। यो प्यानलबाट महासचिवमा सुरेन्द्रप्रसाद पाण्डेको उम्मेदवारी परेको छ। उपमहासचिवमा योगेश भट्टराई, आनन्दप्रसाद पोखरेल र बैजनाथ चौधरी छन्।
सचिवमा विनोद ढकाल, अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, गोकुलप्रसाद बास्कोटा, ठाकुरप्रसाद गैरे, पुरुषोत्तम पौडेल, रचना खड्का र कृष्णगोपाल श्रेष्ठको उम्मेदवारी फाइनल भएको छ। ओली समूहबाट विद्रोह गरेर खरेल ईश्वरको समूहको सचिवको उम्मेदवार बनेका छन्।
उनी ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता र प्रधानमन्त्रीको विशेष कानुनी सल्लाहकार पनि भइसकेका छन्। दुवै टिममा नपरी स्वतन्त्र रूपमा उम्मेदवारी दिएका कतिपयले उम्मेदवारी फिर्ता पनि लिएका छन्। उपमहासचिवमा उम्मेदवारी दिएका राजेन्द्रप्रसाद गौतमले फिर्ता लिएका छन्। त्यस्तै ओलीको प्यानलमा पर्ने आशा गरेर स्वतन्त्र रूपमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका किस्मतकुमार कक्षपतिले पनि उम्मेदवारी फिर्ता लिएका छन्।
कतिपय स्वतन्त्र रूपमा उम्मेदवारी दिएकाहरू टिममा समावेश गरिएका छन्। इलामका युवा नेता सुहाङ नेम्बाङलाई ओली समूहले आधारिक उम्मेदवारको लिस्टमा राखेको छ। महाधिवेशनमा ओली समूह र पोखरेल समूहबीच प्रतिस्पर्धा हुनेछ। विशेषतः महासचिवमा कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ। ओली पक्षबाट शंकर पोखरेल र ईश्वर पक्षबाट सुरेन्द्र पाण्डे महासचिवमा भिड्दैछन्। प्रदीप ज्ञवालीको विद्रोहले पनि महासचिवको प्रतिस्पर्धालाई रोचक बनाएको छ। ओलीपछिको नेतृत्व कसको हातमा आउने भन्ने विषयले पनि प्रतिस्पर्धालाई थप रोचक बनाएको हो।
१२ जना सर्वसम्मत
एमालेको ११ औं महाधिवेशनमा १२ जना निर्विरोध निर्वाचित भएका छ्न। बाजुराका नरेश रोकाया खुला युवा कलस्टरमा केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। उनीसँगै युवा कलस्टरमै सुशीलकुमार थापा पनि निर्विरोध निर्वाचित भएका छन्। केन्द्रीय सदस्यमा निर्विरोध भएका रोकाया अनेरास्ववियुका निवर्तमान महासचिवसमेत हुन्। त्यस्तै लुम्बिनी प्रदेशको ४० वर्षमुनिका युवातर्फ लीलामणि गौतम पनि निर्विरोध भएका छन्।
लुम्बिनीमा महिलातर्फ गुमादेवी आचार्य (गोमा), मेनकाकुमारी पोखरेल र शान्तिदेवी ढकाल निर्विरोध निर्वाचित भएका छन्। केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा प्रा.डा. भरतराज पहारी, उपाध्यक्ष चक्रबहादुर पराजुली, सचिव डा.राजेन्द्र घिमिरे पनि निर्विरोध विजयी भएका छन्।
केन्द्रीय लेखा आयोगको अध्यक्षमा डा. पुष्पराज कँडेल, उपाध्यक्ष धनेन्द्रराज घिमिरे, सचिवमा ईश्वरीप्रसाद खरेल पनि सर्वसम्मत भएका छन्।
प्रतिक्रिया दिनुहोस !