एमाले भोजपुरका प्रभावशाली नेता ध्रुव राई हर्क साम्पाङको पार्टीमा प्रवेश
सुनसरी : नेकपा एमालेको भातृ संस्था लोकतान्त्रिक किरात राई संघका कोशी प्रदेश अध्यक्ष तथा भोजपुरको ट्याम्केमैयुङ गाउँपालिकाका पूर्व अध्यक्ष ध्रुव राई श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। एमाले भोजपुरका पूर्व उपाध्यक्षसमेत रहेका राईलाई एमालेका जुझारु नेताको रूपमा चिनिँदै आएको थियो।
बुधबार धरानको भानु चोकमा आयोजित एक विशेष कार्यक्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राईलाई पार्टी प्रवेश गराएका हुन्। कार्यक्रममा बोल्दै राईले एमालेले पछिल्लो समय देश र जनताको पक्षमा काम गर्न छाडेको आरोप लगाउँदै पार्टी परित्याग गरेको बताएका छन्। उनले जनताको श्रम, पसिना र स्वाभिमानको सम्मान गर्ने राजनीतिक शक्तिको आवश्यकता रहेको उल्लेख गर्दै श्रम संस्कृति पार्टीले त्यही भावना बोकेको दाबी गरेका छन्।
राई माओवादी कार्यकर्तामाथि आक्रमण गरेको घटनापछि राष्ट्रियस्तरमै चर्चामा आएका व्यक्ति हुन्। उनले आफू सधैं अन्याय, भ्रष्टाचार र बेथितिको विरुद्धमा उभिँदै आएको भन्दै अब नयाँ राजनीतिक यात्रामा अघि बढेको बताए। राजनीति सत्ताको लागि होइन, जनताको सेवाका लागि हुनुपर्ने राईले बताए।
कार्यक्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ध्रुब राईजस्ता अनुभबी र जनआधार भएका नेताको पार्टी प्रवेशले आन्दोलनलाई थप बल पुग्ने विश्वास व्यक्त गरेका छन। उनले पुराना दलहरूले जनताको भरोसा गुमाउँदै गएको अवस्थामा वैकल्पिक राजनीतिक शक्तिको निर्माण आवश्यक रहेको बताए। धरानको भानु चोकमा आयोजित कार्यक्रममा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस !