एमालेको राष्ट्रिय महाधिवेशन
विद्युतीय मेसिनबाट मतदान : महाधिवेशन प्रतिनिधि उत्साहित, केही दिक्क
काठमाडौं : ‘सजिलो त भयो, तर धेरै उम्मेदवार भएकाले समय धेरै लाग्ने रहेछ, बाँँकेकी एकमाया विकले भनिन्, ‘मलाई मतदान गर्न ३५/३६ मिनेट लाग्यो। उम्मेदवारको फोटो र नाम आउँछ तर सबै उम्मेदवारको नाम कण्ठ नभएकाले अलमल हुने रहेछ, त्यसले गर्दा धेरै समय लाग्यो।’
एमालेको नयाँ नेतृत्व चयनका लागि विद्युतीय मेसिनको प्रयोग भए पनि समय धेरै लागेकोमा मतदाता प्रतिनिधि दिक्क थिए। एमालेका २ हजार २ सय ६३ प्रतिनिधि छन्। बुधबार बिहान सवा ९ बजेबाट सुरु भएको मतदान अबको केही समयमा सकिँदैछ।
एमालेको निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले एक जनालाई मतदान गर्न ९ मिनेटदेखि २ घण्टा ५ मिनेटसम्म समय लागेको जानकारी दिए। उनका अनुसार सरदर एक व्यक्तिलाई ३० देखि ३५ मिनेट लागिरहेको छ। बुधबार बिहान ११ बजेदेखि मतदान सुरु भएको हो।
अध्यक्ष केपी ओलीलाई ४० मिनेट समय लागेको थियो। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफूलाई १ घण्टा ४ मिनेट लागेको बताए। भोटिङ मेसिनबाट गरिएको मतदान सुस्त गतिमा भइरहेको छ। ८० वटा भोटिङ मेसिन भएकाले एक पटक ८० जनाले मतदान गर्न सक्छन्। समय धेरै लागेका कारण प्रतिनिधिहरू मतदान गर्न ६/७ घण्टासम्म लाइन बसेका छन्। बिहान ११ बजे लाइन बसेकी बाँकेकी प्रतिनिधि विक बेलुका पौने ६ बजेमात्रै बाहिर निस्किएकी थिइन्। ‘लाइन बस्दा–बस्दा ढाडै दुख्यो, पसिनाले सबै लुगा भिज्यो,’ उनले भनिन्, ‘बिहान ११ बजे लाइनमा बसेको साँझ पौने ६ बजेमात्रै भोट हालेर निस्किएँ।’
लामो समय लाइनमा बस्नुपर्ने बाध्यता हटाउन कुपन प्रणाली लागू गरिएको निर्वाचन आयोग उपाध्यक्ष पोखरेलले जानकारी दिए। ‘टोकन प्रणाली लागू भएपछि लाइन बस्नु परेन, यताउता बस्दा हुन्छ, टोकन नम्बरअनुसार मतदान गर्न पाउने व्यवस्था गरिएको छ, उनले भने।
प्रतिनिधि विकले भोटिङ मेसिनबाट मतदान गर्न निष्पक्ष निर्वाचन हुनेमा आफूलाई विश्वास लागेको बताइन्। ‘बदर हुने डर पनि हुँदैन, न धाँधली हुन्छ न बुथ क्याप्चर हुन्छ, यो त अति राम्रो प्रणाली रहेछ। अब स्थानीय तहको निर्वाचन भोटिङ मेसिन प्रयोग गरेमा निष्पक्ष चुनाव हुन्छ, पूर्वखजुरा गाउँपालिकी उपाध्यक्षसमेत रहेकी विकले भनिन्। एमालेले लोकतान्त्रिक अभ्यासका साथ ११ औं महाधिवेशन गरिरहेको छ। मंसिर २७ गते उद्घाटन गरिएको महाधिवेशन जारी छ। बुधबार बिहानबाट महाधिवेशन मतदान कार्य सुरुवात गरेको हो। बिहान ९ बजेर १२ मिनेटमा मतदान थालिएको हो। निर्वाचन आयोग उपाध्यक्ष पोखरेलअनुसार यसपछि लगातार मतदान भइरहेको छ।
अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलले भोट हालेर मतदान थालिएको थियो। पोखरेलले आफूलाई १ घण्टा ४ मिनेट समय लागेको बताए। ‘थोरैमा १२/१५ मिनेटदेखि धेरैमा दुई घण्टासम्म लागिरहेको सुन्दै छु। मलाई नै १ घण्टा ४ मिनेट लाग्यो,’ उनले भने। क्लस्टरअनुसार मतदान गर्नुपर्ने भएकाले लामो समय लागिरहेको उनले बताए। यो समाचार तयार गर्दासम्म लगातार मतदान भइरहेको छ। एमालेका केन्द्रीय सदस्य महेशकुमार बर्तौला बुधबार रातभरि मतदान हुने बताउँछन्। उनले आफू टोकन लिएर बसिरहेको बताए। केन्द्रीय सदस्य सूर्य ढकाल लोकतान्त्रिक अभ्यासको प्रयोग गरेर एमालेको निर्वाचन भइरहेको बताए। मतदान प्रक्रिया लामो भए पनि भोटिङ मेसिनबाट छिटो परिणाम आउने उनले बताए।
एमालेमा ओली र पोखरेल प्यानलबीच प्रतिस्पर्धा छ। महासचिवमा ओली प्यानलबाट शंकर पोखरेल र ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डेको भिडन्त छ। दुवै एमालेका वैचारिक र निस्कलंक छवि बनाएका नेता हुन्। ओली समूहबाट उपाध्यक्षमा रामबहादुुर थापा, विष्णुप्रसाद पौडेल, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र रघुजी पन्तको उम्मेदवारी । उपमहासचिवमा विष्णु रिमाल, रघुवीर महासेठ र लेखराज भट्टको उम्मेदावरी परेका छन्। त्यस्तै सचिवमा शेरधन राई, हिक्मतकुमार कार्की, भानुभक्त ढकाल, महेश बस्नेत, डा. राजन भट्टराई, खगराज अधिकारी, छविलाल विश्वकर्मा, पद्माकुमार अर्याल र यामलाल कँडेलको उम्मेदवारी परेको छ।
ईश्वर पोखरेल समूहबाट गोकर्ण विष्ट, बृन्दा पाण्डे, अरुण नेपाल र टंकप्रसाद कार्की र पर्शुराममेघी गुरुङ उपाध्यक्षमा उम्मेदवार भएका छन्। उपमहासचिवमा योगेश भट्टराई, आनन्दप्रसाद पोखरेल र बैजनाथ चौधरी छ। सचिवमा विनोद ढकाल, अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, गोकुलप्रसाद बास्कोटा, ठाकुरप्रसाद गैरे, पुरुषोत्तम पौडेल, रचना खड्का र कृष्णगोपाल श्रेष्ठ उम्मेदवार छन्।
महाधिवेशनमा २ हजार २ सय ६३ प्रतिनिधि छन्। १९ पदाधिकारीसहित ३ सय १ सदस्यीय केन्द्रीय कमिटी तथा दुई आयोगको लागि प्रतिनिधिले मतदान गर्नुपर्नेछ । ६ सय ४२ जना उम्मेदवार छन्। जसमा १२ जना भने निर्विरोध भएका छन्। एमाले महाधिवेशनले राजनीतिक गतिविधिलाई बढाएको छ। यता मतदानस्थल भृकुटीमण्डपको बाहिर प्रदर्शनी मार्ग प्रतिनिधि र कार्यकर्ता ठूलो जमघट छ ।
प्रतिक्रिया दिनुहोस !