रविलाई छाड्ने आदेश हुँदा छविको हकमा अदालतले के भन्यो?
भैरहवा : उच्च अदालत तुलसीपुर बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सर्तसहित रिहा गर्ने आदेश गर्दा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको थुनामै रहने भएका छन्।
उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले सक्कल प्रमाणसहित निवेदन दिएमा पुनःविचारका लागि सक्कल मिसिल जिल्ला अदालतमा पठाउन आदेश गरेको छ।
जोशीले उच्च अदालतमा दिएको निवेदन रितपूर्वक पेस नभएकाले उनको हकमा यस्तो आदेश आएको मुद्दाको बहस गरेका एक अधिवक्ताले बताए।
जोशीको हकमा आदेशमा भनिएको छ, ‘मेरो हकमा दामासाहीले कायम हुने बिगो वापत जमानत दिई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार आदेश गरीपाउँ भनी जमानतको छायाप्रति सहित अनुरोध गरेको देखिँदा सो समेतको परिस्थितिलाई विचार गरी ०८२ असोज २६ मा भएको सुरु जिल्ला अदालतको आदेश बदर गरिदिएको छ। पक्षले सक्कल प्रमाण सहित निवेदन दिएमा पुनः विचार गर्नु भनी सक्कल मिसिल सुरु जिल्ला अदालतमा पठाइदिनू।’
‘जोशीले अदालतमा दिएको निवेदन रविको जस्तै भएको भए उनको हकमा पनि थुनामुक्त हुने आदेश आउँथ्यो’, बहस गरेका ती अधिवक्ताले भने, ‘अब उच्चको आदेशले फेरि जिल्ला अदालतमा गएर निवेदनसहित बिगो बराबरको बैंक जमानत पेस गरे रविजस्तै थुनामुक्त आदेश हुने अवस्था रहन्छ।’
प्रतिक्रिया दिनुहोस !