चालकको लापसेले सडक सुरक्षामा गम्भीर चुनौती: ४१ जनाको परीक्षण गर्दा १० जनाको रिपोर्ट ‘पोजिटिभ’

चालकको लापसेले सडक सुरक्षामा गम्भीर चुनौती: ४१ जनाको परीक्षण गर्दा १० जनाको रिपोर्ट ‘पोजिटिभ’

विराटनगर : मोरङको बुढीगंगा गाउँपालिकास्थित नेमुवामा गरिएको सवारी चालकको आकस्मिक लागु पदार्थ सेवन (लापसे) परीक्षणले सार्वजनिक यातायात र सडक सुरक्षाको भयावह यथार्थ उजागर गरेको छ। परीक्षणबाट चालकले लापसे गरेर सवारीसाधन चलाउने गरेको पुष्टि भएपछि सडक सुरक्षामा गम्भीर चुनौती खडा भएको तथ्य बाहिर आएको हो। शुक्रबार गरिएको परीक्षणमा ४१ जना चालकको स्वास्थ्य जाँच गर्दा १० जनाले लागुऔषध सेवन गरेर सवारी चलाइरहेको यकिन भएको छ। यो परीक्षणको २४ प्रतिशत हो। चालकले लापसे गर्ने गरेको पाइएपछि ट्राफिक प्रहरी सतर्क बनेको छ।

ट्राफिक प्रहरीले व्यवहार, बोलीचाली र शारीरिक अवस्थाका आधारमा शंकास्पद चालकलाई चिकित्सकीय परीक्षणका लागि पठाएको थियो। परीक्षणपछि म्याजिक भ्यानका ६ जना चालक, टिपर, विङ्गर, मोटरसाइकल र सीटी सफारीका एक–एक जना चालकको रिपोर्ट ‘पोजिटिभ’ आएको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले जानकारी दिए। लागुऔषधको प्रभावमा सवारीसाधन चलाइरहेका ती सबै चालकलाई तत्काल नियन्त्रणमा लिइएको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रवक्ता डीएसपी सन्तोष श्रेष्ठका अनुसार शंकास्पद देखिएका चालकलाई मात्र परीक्षण गरिएको थियो। ‘सामान्य चेकिङकै क्रममा चालकको प्रतिक्रिया ढिलो, बोली अस्पष्ट र गतिविधि असामान्य देखिएपछि स्वास्थ्य परीक्षण गराइयो,’ उनले भने, ‘त्यसबाट १० जनामा लापसे पुष्टि भयो।’ 

डीएसपी श्रेष्ठका अनुसार पक्राउ परेका चालकलाई लागुऔषध ऐनअन्तर्गत कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ। ती चालकलाई हिरासतमा लिएर प्रहरीले थप अनुसन्धान एवं कारबाहीको प्रक्रिया अघि बढाएको छ। कोशी प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी दीपक गिरीले परीक्षण गरिएका चालकहरूमध्ये २४ प्रतिशतमा लापसे देखिनु अत्यन्तै गम्भीर विषय भएको बताए। ‘यात्रुको जीवन हातमा लिएर बसेका चालकले लागुऔषध सेवन गरेर सवारी चलाउनु गलत र कानुनविपरीत हो,’ उनले भने, ‘यसले सवारी दुर्घटनाको जोखिम अत्यधिक बढाउँछ।’

एसपी गिरीका अनुसार पछिल्लो समय लागुऔषध सेवन गरेर सवारी चलाउने गरेको गुनासो बढ्दै गएपछि आकस्मिक चेकिङ र स्वास्थ्य परीक्षणलाई तीव्र पारिएको छ। मापसे र लापसे सवारी दुर्घटनाका प्रमुख कारण भएकाले सडकमा कडाइ गरिएको उनको भनाइ छ। ‘सडक सुरक्षालाई कमजोर बनाउने कुनै पनि गतिविधिमा शून्य सहनशीलता अपनाइन्छ,’ उनले स्पष्ट पारे।

इलाका प्रहरी कार्यालय नेमुवाको परिसरमा गरिएको चालकको स्वास्थ्य परीक्षण नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको आयोजना, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको समन्वय र कोशी प्रदेश प्रहरी अस्पताल इनरुवाको प्राविधिक सहयोगमा सम्पन्न भएको हो। इन्स्पेक्टरसमेत रहेका डाक्टर शेरजंग तामाङको नेतृत्वमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले चालकको स्वास्थ्य परीक्षण गरेको थियो।

ट्राफिक प्रहरीले लापसे र मापसे गरेर सवारी चलाउने चालकलाई उच्च जोखिम समूहमा राखेर विशेष निगरानी गर्न थालेको छ। सडक सुरक्षालाई प्राथमिकतामा राख्दै प्रदेशभर नियमित चेकिङ विस्तार गरिएको एसपी गिरी बताउँछन्। उनका अनुसार आगामी दिनमा लागुऔषध सेवन गरेर सवारी चलाउने प्रवृत्तिविरुद्ध विस्तृत योजना बनाएर अझ कडा कारबाही गरिनेछ। लापसे गरेर सवारी साधन चलाउने प्रवृत्ति बढ्दै जाँदा चालकसहित यात्रुको ज्यान जोखममा पर्नुका साथै सडक सुरक्षामा गम्भीर चुनौती थपिएको उनको भनाइ छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.