स्कुटरले साइकललाई ठक्कर दिँदा स्कुटरमा सवार महिलाको मृत्यु
विराटनगर : मोरङको सुन्दरहरैँचामा शुक्रबार दिउँसो स्कुटरले साइकललाई ठक्कर दिँदा स्कुटरमा सवार महिलाको मृत्यु भएको छ।
मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार विराटनगर–विराटचोक सडक खण्डअन्तर्गत सुन्दरहरैँचा नगरपालिका–१ मा को ३६ प ५०९५ नम्बरको स्कुटरले बाटो क्रस गर्दै गरेको साइकललाई दिउँसो २:४० बजेतिर ठक्कर दिएको थियो।
सुन्दरहरैँचा–१ का ३५ वर्षीय उमेश खत्रीले चलाएको साइकललाई ठक्कर दिनासाथ स्कुटर आफैं अनियन्त्रित भएर सडकबाट नालीमा खसेको जानकारी उनले दिए। उनका अनुसार दुर्घटनामा स्कुटर चालक सुन्दरहरैँचा–१२ का ६७ वर्षीय बुद्धिमान श्रेष्ठ र पछाडि सवार उनकी पत्नी ६४ वर्षीया जीवनकुमारी श्रेष्ठ गम्भीर घाइते भएका थिए। घाइते दुवै जनालाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल भर्ना गरिएको थियो।
उपचाररतमध्ये जीवनकुमारीको अपरान्ह ४:२५ बजेतिर मृत्यु भएको इन्स्पेक्टर न्यौपानेले बताए। उनका अनुसार जीवनकुमारीका पति बुद्धिमानको उपचार भइरहेको छ। दुर्घटनामा साइकल यात्री खत्री भने सकुशल रहेको प्रहरीले जनाएको छ। स्कुटर, साइकल र साइकल यात्री खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ।
प्रतिक्रिया दिनुहोस !