अन्तरिम सरकारका १०० दिन, निर्वाचनका लागि चट्टान झैं दृढ
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समय फागुन २१ गते निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न चट्टान झैं दृढ रहेको बताएकी छन्। सरकारका १ सय दिन पुगेको अवसरमा प्रधानमन्त्री कार्कीले देशवासीको नाममा जारी गरेको सन्देशमा चुनावप्रति अठोट व्यक्त गरेकी छन्।
‘अहिले कतिपयको मनमा एउटा जिज्ञासा र केही ठाउँमा भ्रम पनि छ। प्रश्न गर्नेहरूले भन्ने गर्नुभएको छ। के देश साँच्चै चुनावतिरै बढेको हो त ? के सरकारले शान्ति सुरक्षाको ग्यारेन्टी दिन सक्छ ? प्रधानमन्त्री कार्कीले सन्देशमा भनेकी छन्, ‘आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रस्ट पार्न चाहन्छु— २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई स्थिरता दिने र नयाँ युगको सुरुआत गर्ने एक मात्र निर्विकल्प मार्ग हो।’
उनले चुनाव सार्ने वा रोक्नजस्ता हल्ला निराधार र भ्रमपूर्ण रहेको स्पष्ट पारेकी छन्। ‘म तपाईंहरूलाई आश्वस्त पार्न चाहन्छु, चुनाव सार्ने वा रोक्नेजस्ता हल्लाहरू पूर्णतः निराधार र भ्रमपूर्ण छन्। यो सरकार तोकिएको समयमै, निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न चट्टान झैं दृढ छ,’ उनले भनेकी छन्।
प्रधानमन्त्री कार्कीले निर्वाचनका लागि सरकारले आफ्नो तर्फबाट सम्पूर्ण तयारी पूरा गरेको बताएकी छन्। उनले भनिन्, ‘सुरक्षाको सवालमा हामीले कुनै कसर बाँकी राखेका छैनौं।’ प्रधानमन्त्री कार्कीले चुनावका लागि एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत भइसकेको छ र नेपाली सेनाको परिचालन सुनिश्चित गरिएको बताएकी छन्। आन्दोलनका क्रममा लुटिएका १ हजार ३४२ थानमध्ये अधिकांश हतियार बरामद गरिसकिएको र यस अतिरिक्त अन्य ३२ थान हतियार पनि प्रहरीले नियन्त्रणमा लिएको उनले जनाएकी छन्।
‘क्षतिग्रस्त भएका ४६५ वटा प्रहरी कार्यालयहरूलाई पुनः सञ्चालनमा ल्याई सुरक्षा व्यवस्थालाई अभेद्य बनाइएको छ। निर्वाचन आयोगलाई आवश्यक ६ अर्ब ७३ करोड रुपैयाँ बजेट सुनिश्चित गरिएको छ। उनले भनेकी छन्, ‘हामीले यसपटक अर्को ऐतिहासिक फड्को मारेका छौं। मतदाता नामावली ऐनमा संशोधन गरी निर्वाचनको मिति घोषणापछि पनि ८ लाख ३७ हजार नयाँ युवालाई मताधिकार सुनिश्चित गरेका छौं। आज १ करोड ८१ लाखभन्दा बढी नेपालीको हातमा देशको भाग्य बदल्ने साँचो छ।’
११४ वटा राजनीतिक दलहरू निर्वाचन प्रक्रियामा सहभागी हुनुले लोकतन्त्रको जरा कति बलियो छ भन्ने प्रमाणित भएको उनको भनाइ छ। ‘विचारमा मतभेद भए पनि देशलाई निकास दिन हामी सबै एक ठाउँमा छौं। चुनाव कसैको हार–जित होइन, यो त लोकतन्त्र र सुशासन जिताउने अभियान हो,’ प्रधानमन्त्री कार्कीले भनेकी छिन्, ‘तपाईंहरूले चाहेको भ्रष्टाचारमुक्त समाज र सुशासनयुक्त सरकारको चाहना पूरा गर्ने वैधानिक बाटो चुनाव नै हो।’ प्रधानमन्त्री कार्कीले जेन–जी युवााई सम्बोधन गर्दै भनेकी छन्, ‘तपाईंहरूको आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस्। सडकको आन्दोलनले प्रश्न उठाउँछ, तर मतपत्रले समाधान दिन्छ।’ उनले प्रत्येक भोटको सुरक्षा राज्यले गर्ने विश्वास दिलाएकी छन्।
‘तपाईंको प्रत्येक भोटको सुरक्षा राज्यले गर्छ। आजभन्दा एक सय दिनअघि देशको अवस्था के थियो र अहिले के छ भनेर तुलना गरी हेर्न पनि म सबै राजनीतिक पक्षहरूलाई विनम्र अनुरोध गर्दछु,’ उनले भनेकी छन्, ‘असामान्य परिस्थितिलाई सामान्य अवस्थामा फर्काउन मेरो मन्त्रिपरिषद्का सदस्य, सुरक्षा निकाय, राष्ट्रसेवक र नागरिक समाजका सदस्यहरूले अथक प्रयास गर्नुभएको छ।’ फलस्वरूप मुलुकमा शान्ति स्थापना गरी स्थितिको सामान्यीकरण र कानुनको शासन बहालीमा सफलता मिलेको उनले बताएकी छन्। उनले सुरक्षा निकायको मनोबल बढाउने काम पनि भइरहेको बताएकी छन्। उनले भनेकी छन्, ‘खासगरी सुरक्षा निकायको मनोबल अहिले र आजका लागि मात्र होइन, दीर्घकालसम्म बढाउने काम गर्दैछौं।’
१०० दिनको अवधिमा देश फेरि शान्तिको बाटोमा फर्किएको कार्कीले बताएकी छन्। उनले भनेकी छन्, ‘अब हामीले ती नमीठा पलहरूलाई बिर्सेर एउटा सुन्दर र स्थिर भविष्य निर्माणतर्फ हातमा हात मिलाएर अघि बढ्नुपर्छ।’
उनले आगामी फागुन २१ को निर्वाचनलाई परिवर्तनको ढोका उघार्ने एक राष्ट्रिय अनुष्ठानका रूपमा सम्पन्न गर्न पनि आह्वान गरेकी छन्। राष्ट्रिय एकताको सूत्रमा बाँधिएर देशलाई नयाँ दिशातिर लैजाऔं। यो निर्वाचनले नेपालको राजनीतिमा एउटा नयाँ, स्वच्छ र सुनौलो अध्यायको सुरुआत गर्नेछ, उनले भनेकी छन्।
अपराध र भ्रष्टाचारका प्रकरणमा अनुसन्धान
प्रधानमन्त्रीको सन्देमा विगतमा शक्तिको आडमा दबाउन खोजिएका अपराध र भ्रष्टाचारका प्रकरणहरूमा अनुसन्धान गर्ने निकायहरूले हाल पूर्ण व्यावसायिक स्वतन्त्रताका साथ कारबाही अघि बढाएको उल्लेख छ। यी कारबाहीले जतिसुकै शक्तिशाली व्यक्ति वा पदाधिकारी भए पनि कानुनले उन्मुक्ति दिँदैन भन्ने मान्यता स्थापित गरेको पनि उनले बताएकी छन्।
कुनै पद वा शक्तिको निकटता नहेरी प्राप्त उजुरी र गुनासाका आधारमा अनुसन्धान अघि बढाइएको प्रधानमन्त्री कार्कीको दाबी छ। मिलेमतोमा ठेक्का हात पार्ने, विकास आयोजनाहरूको कामै नगर्ने र राज्यको स्रोतसाधन दुरुपयोग गर्नेहरूको माखेसाङ्लो तोड्न पनि सरकार लागिपरेको देशवासीको नाममा जारी सन्देशमा उल्लेख छ।
पूर्णपाठ
प्रतिक्रिया दिनुहोस !