मधेशको सभामुखमा जसपा र एमालेबाट उम्मेदवार, आइतबार मतदान हुने
जनकपुरधाम : मधेश प्रदेशको सभामुखमा दुई जनाको उम्मेदवारी परेको छ। सात दलीय गठबन्धनले जनता समाजवादी पार्टीका रामअशिष यादवलाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेको तर्फबाट त्रिलोकी प्रसाद चौधरीलाई उम्मेदवार बनाइएको हो।
जसपा नेपालका उम्मेदवार रामअशिष यादवको प्रस्तावकमा नेपाली कांग्रेसका सांसद वीरेन्द्र प्रसाद सिंह र समर्थकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक फकिरा महतो छन्। यादव जसपा नेपालबाट धनुषाको क्षेत्र नं. २ (क) बाट निर्वाचित सांसद हुन्। यता एमालेका त्रिलोकी चौधरीको प्रस्तावकमा एमालेकी सांसद शारदा देवी थापा र समर्थकमा जय चन्द्र प्रसाद पटेल छन्। एमालेका यादव बारा क्षेत्र नं. १ (क) बाट निर्वाचित सांसद हुन्।
मधेश प्रदेशसभाले प्रदेशसभा कार्य सञ्चालन नियमावली ७ बमोजिम निर्वाचन कार्यक्रम अन्तर्गत सभामुखमा निर्वाचन गरियोस् भन्ने प्रस्तावको सूचना दिने समयावधिमा क्रमशः रामअशिष यादव र त्रिलोकी यादवको उम्मेदवारी दर्ता भएको जानकारी दिएको छ। यसअघि मधेशका निवर्तमान सभामुख रामचन्द्र मण्डललाई आचरणविरुद्धको कार्य गरेको आरोपमा संसद्को दुई तिहाइबाट पदमुक्त गरिएको थियो।
मधेश प्रदेशसभामा आइतबार सभामुख पदको मतदान हुनेछ।
प्रतिक्रिया दिनुहोस !