खुल्ला तेक्वान्दो प्रतियोगितामा आयोजक जनज्योति प्रथम
सिमरा : बाराको निजगढमा आयोजित चौथो मधेश प्रदेश स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगितामा जनज्योति आधारभूत तेक्वान्दो डोजाङ प्रथम भएको छ। निजगढ नगरपालिका–९ स्थित जनज्योति विद्यालयमा पुस ४ र ५ गते आयोजित प्रतियोगितामा आयोजक २० पदकसहित प्रथम भएको हो।
आयोजकले चार स्वर्ण, ६ रजत र १० कांस्य पदक हात पारेको छ। यसैगरी तीन स्वर्ण, चार रजत र चार कांस्यसहित महोत्तरीको क्रियटिभ तेक्वान्दो डोजाङ द्वितीय भएको छ भने तीन स्वर्ण र दुई रजतसहित सर्लाहीको बरथहवा तेक्वान्दो डोजाङ तेस्रो भएको छ।
प्रतियोगितामा मधेश प्रदेश भित्रका १८ वटा तेक्वान्दो डोजाङबाट करिब दुई सय खेलाडीले सहभागिता जनाएका थिए । प्रतियोगितामा पुरुषतर्फ ९ र महिलातर्फ ७ वटा तौल समूहमा प्रतिस्पर्धा भएको थियो भने पुरुषतर्फ एकल र जोडी दुवै विधामा खेलाडीको सहभागिता रहेको थियो।
प्रतियोगिताको उत्कृष्ट पुरुष खेलाडी आयोजकका सचिन लामा र उत्कृष्ट महिला खेलाडी सर्लाहीको अर्किट तेक्वान्दो डोजाङकी रञ्जु दास घोषित भइन्। उत्कृष्ट खेलाडीले दुई हजार पाँच सय नगद प्राप्त गरे। यसैगरी स्वर्ण विजेता खेलाडीले एक हजार र रजत पदक जित्ने खेलाडीले जनही पाँच सय रुपैयाँ पाएका छन्।
प्रतिक्रिया दिनुहोस !