साफ महिला क्लब च्याम्पियनमा कहाँ चुक्यो एपीएफ क्लब ?
काठमाडौं : नेपालको एपीएफ क्लब र भारतीय इस्ट बंगाल फुटबल क्लबबीच साफ महिला क्लब च्याम्पियनसिपको पहिलो संस्करणको फाइनल खेल भयो। एन्फा महिला लिगको विजेता टोली एपीएफले भारतीय च्याम्पियन इस्ट बंगाल एफसीसँग कमजोर देखियो।
फाइनल खेलमा ३–० को नतिजासहित उपाधि भारतीय क्लब इस्ट बंगाललाई सुम्पिएको एपीएफका प्रशिक्षक जीवेश कुमार पाण्डेले फाइनल खेलमा हरेक पक्षमा कमजोर देखिएको बताए। फाइनल खेलमा हार व्यहोरिसकेपछि पत्रकार सम्मेलनमा बोल्दै जीवेश पाण्डेले हारको कारण औँल्याउँदै हरेक पक्षमा टिम कमजोर देखिएको र गल्तीहरू गरेको बताए।
‘फाइनल खेलमा कुनै एकजना र एक पक्षबाट गल्ती भएको होइन समग्रमा सबै हामी चुकेका हौँ,’उनले सुरुवाती मिनेटबाटै हरेक पक्षमा योजना भन्दा विपरीत तरिकाले मैदानमा खेल भएको बताए। ‘सुरुवाती ११ को छनोटदेखि हरेक पक्षमा हामी कमजोर रह्यो र हामी सबैजना फाइनल खेलमा फेल भएका हौँ,’ उनको यो जवाफ खेल अनुसार सही पनि थियो।
नेपालको च्याम्पियन टोली अर्थात् नेपाली राष्ट्रिय टिमको ९० प्रतिशतभन्दा बढी खेलाडी रहेको नेपाल एपीएफ क्लब भारतको एउटा क्लबसँग पराजित भयो। फाइनल खेलमा नेपाली राष्ट्रिय टिमका प्रायः खेलाडी थिए। राष्ट्रिय टिमकै झझल्को दिने एपीएफ क्लब मैदानमा उत्रिएको थियो।
भारतीय क्लब इस्ट बंगालका प्रशिक्षक एन्थोनी सामसन एन्ड्रीयुजले समेत राष्ट्रिय टिमको संज्ञा दिएको एपीएफ क्लब भारतीय च्याम्पियन क्लब इस्ट बंगालसँग फाइनलमा उपाधि गुमायो। घरेलु महिला फुटबलमा एक छत्र दबदबा बनाएको एपीएफ अन्तर्राष्ट्रिय प्रतियोगितामा कमजोर देखियो। यसको कारण बताउँदै प्रशिक्षक पाण्डे भन्छन् ‘हामीले अन्तर्राष्ट्रिय स्तरको यो पहिलो अनुभव लियौँ। यस किसिमको प्रतियोगिताहरूका लागि हामीले अझै धेरै टिममा सुधार गर्न आवश्यक छ।’
तर एपीएफ टिमका केही महत्त्वपूर्ण खेलाडी प्रतियोगितामा उपलब्ध थिएनन्। जसमा सावित्रा भण्डारी (साम्बा), प्रीति राई, सविता राना मगर र एन्जिला तुम्बापो सुब्बा टिममा थिएनन्। खेलाडीहरूको कमी टिमले खेलमा अनुभव गर्यो। विशेषतः साबित्रा भण्डारीको अनुभव र उनको अट्याकिङ क्षमता टिमले यो प्रतियोगितामा खड्कियो। फिनिसिङ लाइनमा लिग चरणको खेलहरूमा पनि कमजोर देखिएको एपीएफले फाइनलमा पनि कुनैपनि स्कोर बनाउन सकेन। जसको फलस्वरूप भारतीय क्लब इस्ट बंगाल क्लिन सिट राख्दै प्रतियोगिताको उपाधि विजेता बन्यो।
सविता राना मगर चोटिल बनिन्। एन्जिला तुम्बाबो सुब्बा हाल भारतीय फुटबल क्लब सेथु एफसीमा व्यावसायिक फुटबल खेलिरहेकी छिन्। प्रीति राई पनि यस प्रतियोगिताका लागि एपीएफमा उपलब्ध थिइनन्। मिडफिल्डमा प्रीति र अग्रपङ्क्ति (फरवार्ड लाइन)मा सविता राना मगर र साबित्रा भण्डारीको कमी महसुस एपीएफले गर्यो। तर पनि एपीएफले कुनै पनि विदेशी खेलाडी भित्र्याएन।
अन्तर्राष्ट्रिय एक्स्पोजरको हिसाबमा राम्रो अनुभव लिएको बताउँदै जीवेशले भने, ‘हामीले यो प्रतियोगिताबाट नेपाली खेलाडीहरूले नै एक्स्पोजर पाउन् भन्ने हिसाबले विदेशी खेलाडी भित्र्यानौं।’ यसो भन्दै गर्दा नेपाल पुलिस क्लबमा आबद्ध रहेकी मीना देउवालाई टिमले यही प्रतियोगिताको अग्रपङ्क्ति फरवार्ड लाइन बलियो बनाउन टिममा भित्राएको थियो। टिमको गोलपोस्ट अन्जना राना मगरले सम्हालिन्। गोलपोस्टको जिम्मेवारीको लागि महिला लिगमा चर्च ब्वाइज युनाइटेड महिला टिमबाट खेलिरहेकी लीला जोशीलाई पनि टिमले भित्र्याएको थियो। तर उनले भने खेल्ने मौका पाइनन्। नेपाली खेलाडीले नै राम्रो एक्स्पोजर पाउन् भन्ने एपीएफको धेय रहेको प्रशिक्षक पाण्डेले बताए।
नेपाली खेलाडीले एक्स्पोजर पाउने भन्दै गर्दा उनलाई खेल सकिएपछि पत्रकारले प्रतिप्रश्न गरे,‘एक्सपोजरकै लागि मात्रै थियो त यो खेल?’ जवाफमा उनले भने, ‘यो एक्स्पोजर मात्रै भन्दा पनि हामीले फाइनलसम्मको यात्रा तय गर्यौ। यसमा हामीले उपाधि नै जित्ने लक्ष्य राखेका थियौँ। तर हामीले यो प्रतियोगितालाई सफल तरिकाले सम्पन्न गर्न सकेनौँ।’
इस्ट बंगाल एफसीको लागि विदेशी खेलाडीहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको प्रशिक्षक जीवेश पाण्डेले बताए। ‘अन्य खेलाडीहरूभन्दा विदेशी खेलाडीहरू हामीभन्दा माथिल्लो स्तरका देखि उनीहरूको प्रदर्शनकै कारण पनि फाइनल खेलको नतिजामा फरक पर्यो।’
फिनिसिङमा चुकेको एपीएफ !
एपीएफले लिग चरणदेखि नै गोल गर्न संघर्ष गरिरहेको थियो। पहिलो खेलमा बंगलादेशको नाश्रीन क्लबविरुद्ध चार गोल गर्यो, दोस्रो खेल भुटानको ट्रन्सपोर्ट युनाइटेड लेडिज एफसीसँग शून्य बराबरी र तेस्रो खेलमा कराँची एफसीविरुद्ध १–० को जित निकाल्यो। एपीएफले लिग चरणको अन्तिम खेलको रुपमा चौथो खेलमा भारतीय क्लब इस्ट बंगालसँग शून्य बराबरी खेल्यो। प्रतियोगिता अवधिभर नै एपीएफको अग्रपङ्क्ति (फर्वाड लाइन) कमजोर देखियो। पाएको बलहरूलाई कन्भर्ट गर्न नसक्ने समस्या फाइनलसम्म पनि यथावत् रह्यो।
एपीएफका लागि फर्वाड लाइनमा साबित्रा भण्डारी साम्बाको कमी खड्कियो। तर यसलाई एपीएफले बहाना बनाउन भने मिल्दैन। फर्वाड लाइन बलियो बनाउनकै लागि नेपाल पुलिस क्लबमा आबद्ध रहेकी मीना देउवालाई एपीएफले अनुबन्ध गरेको थियो। फाइनल खेलमा उनलाई बल पासेसहरू नै कम निस्कियो। रश्मि घिसिङ र अनिता बस्नेतले केही राम्रो मौकाहरू कन्भर्ट गर्न सकेनन्।
फाइनल अघि प्रशिक्षक जीवेश पाण्डेले बारम्बार आफ्नो फर्वाड लाइनले पाएको अवसरहरू गुमाइरहेको बताएका थिए। सो समस्या फाइनलसम्म पनि उस्तै रह्यो। जसको फलसहरू नेपालको प्रतिनिधित्व गरेको राष्ट्रिय टिमका खेलाडीले भरिपूर्ण रहेको एपीएफ टिम भारतको इस्ट बंगालसँग पराजित भयो। फर्वाड लाइनमा मात्रै नभई एपीएफ फाइनल खेलमा रक्षा पङ्क्ति (डिफेन्स लाइन)मा पनि कमजोर देखियो। फाइनल खेल अघि क्लिन सिट राख्दै फाइनल आइपुगेको एपीएफले फाइनल खेलमा डिफेन्स लाइनमा कमजोर देखियो।
इस्ट बंगाल जस्तो एसियन क्लब च्याम्पियनसिप खेलेको टिमसँग एपीएफको डिफेन्स लाइन लिग चरणको अन्तिम खेलमा उही इस्ट बंगालसँग खेल्दा भन्दा कमजोर देखियो। फाइनल खेलमा गोलकिपर अन्जना राना मगर पनि हतोत्साहित देखिइन्। पहिलो हाफमा २ गोल खाएको एपीएफलेदोस्रो हाफको पहिलो मिनेटमा तेस्रो गोल खाएपछि बेन्चमा रहेका २ गोलकिपरलाई वार्मअपमा पठाएको थियो। तर परिवर्तन भने गरेन।
प्रतिक्रिया दिनुहोस !