क्रियाशील सदस्यताकै लफडा, पुसमै सम्भव होला कांग्रेस महाधिवेशन ?
काठमाडौं : कांग्रेस केन्द्रीय कार्यसमितिमा झन्डै एक महिना लामो गलफत्ति चल्यो– चुनाव अघि महाधिवेशन गर्ने कि पछि भन्नेमा ? अझ मंसिरमै नियमित गर्ने कि अलिपछि विशेष महाधिवेशनमा जाने ? यो विवादले यति उग्ररूप लियो कि, सुझबुझपूर्ण निर्णय नभए पार्टी नै फुट्न सक्ने धारणा नेताहरूबाटै आए। जेन–जी आन्दोलनपछि पार्टीको सक्रिय नेतृत्व त्यागेका सभापति शेरबहादुर देउवा सिंगापुरबाट फर्केपछि मात्रै पार्टीमा मध्यमार्गी बाटो अवलम्बन गरियो।
केन्द्रीय कार्यसमितिको मंसिर १५ गतेको बैठकले पुस २६ देखि २८ सम्म महाधिवेशन गर्ने भन्दै कार्यतालिका पनि पारित गर्यो। तर, कार्यतालिका त पारित भयो, त्यसअनुसार काम अघि बढेन। त्यसैकारण कांग्रेस महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुनेमा नेताहरू पनि विश्वस्त छैनन्।
क्रियाशीलमा सिरियल नम्बर भेटिएन, विवाद बढ्यो
केन्द्रीय कार्यसमिति बैठकले पारित गरेको कार्यतालिका अनुसार काम गर्न महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समिति सक्रिय छ। केन्द्रीय समितिको बैठकले मंसिर २० गतेभित्रै नयाँ क्रियाशील सदस्यता फाराम केन्द्रबाट वितरण गरिसक्ने र २४ गतेसम्म वडा तहसम्म पुर्याउने कार्यतालिका तय गरेको थियो। तर, सो कार्य समयमै हुन सकेन। केन्द्रीय समितिको निर्णयअनुसार थापा नेतृत्वको समितिले जिल्ला हुँदै तल्लो तहमा पठाएका ४ लाख नयाँ क्रियाशील सदस्यता फाराममा सिरियल नम्बर नभएको पाइएपछि कांग्रेसको विवाद झन् बढ्यो। क्रियाशील समितिका सदस्यले केन्द्रबाट सिरियल नम्बर तोकिदिएर त्यही फाराम भर्दा हुने बताउँदै आएका थिए।
यही बीचमा कांग्रेस इत्तर पक्षका नेता डा. शेखर कोइरालाले सभापति देउवालाई भेटेरै सिरियल नम्बर बिनाका फाराम मान्य नहुने र सोही आधारमा प्रक्रिया अघि बढे महाधिवेशन हुन गाह्रो हुने ‘चेतावनीपूर्ण’ धारणा राखे। सभापति देउवाले सिरियल नम्बरबिनाको सदस्यता फाराम रद्द गरी नयाँ पठाउन क्रियाशील सदस्यता तथा व्यवस्थापन समितिलाई आग्रह गरे। महामन्त्री थापाले समितिको बैठक राखेर सिरियल नम्बर नभएका फाराम फिर्ता माग्ने र सिरियल नम्बरसहितका नयाँ फाराम छापेर पुनः पठाउने निर्णय गरे।
सोही निर्णयबमोजिम केन्द्रीय कार्यालयले नयाँ फाराम छापेर गत बिहीबारदेखि पठाउन सुरु गरिसकेको थियो। सोही त्रुटिका कारण मंसिर २४ गते नै वडा–वडामा पुग्नुपर्ने फाराम पुस २ गते मात्रै केन्द्रीय कार्यालयबाट पठाइए। नयाँ क्रियाशील सदस्यताको फाराम मात्र नभई मंसिर २५ गतेभित्र नवीकरणको काम सकिसक्नुपर्ने थियो। तर, मंसिर २९ गतेभित्र सक्ने भनेर मिति लम्ब्याइएको थियो।
शेखरले भने–पुसमा महाधिवेशन चुनौतीपूर्ण
कांग्रेस नेता डा. शेखर कोइरालाले १५औं महाधिवेशन घोषित मितिमा हुन कठिन रहेको प्रतिक्रिया सार्वजनिक गरिसकेका छन्। महाधिवेशनको मिति सर्ने सम्भावनाबारे विराटनगरमा पत्रकारले सोधेको प्रश्नमा डा. कोइरालाको जवाफ थियो– ‘अहिले नै त्यसो नसोचौं, हामी समयमै गर्ने पक्षमा छौं। तर, सिरियल नम्बर नै नभएका फारामहरू जिल्लामा गएपछि तोकिएकै मितिमा हुन्छ भन्नु अलि चुनौतीपूर्ण नै देखिन्छ।’ कुनै विवाद नहुँदा पनि पुस २६ को समयसीमा भेट्न गाह्रो हुने भन्दै केन्द्रीय समितिकै बैठकमा कतिपय नेताले आशंका व्यक्त गरेका थिए। त्यसमाथि क्रियाशील सदस्यतामै विवाद र ढिलाइ भएपछि महाधिवेशन सर्नु निश्चितजस्तै छ।
पूर्वउपसभापति विमलेन्द्र निधि क्रियाशील सदस्यता व्यवस्थापन समितिको कमजोरीका कारण महाधिवेशन सर्न सक्ने बताउँछन्। निधिकै गृहजिल्ला धनुषाले क्रियाशीलको सूची अझै पठाउन सकेको छैन। केन्द्रीय समितिको निर्णयअनुसार पुस ८ गतेभित्र नयाँ क्रियाशील सदस्यता वितरणको काम सक्ने भनिएको थियो। त्यसैगरी जिल्लास्तरीय प्रारम्भिक छानबिन समिति गठन गर्ने, समितिले पुस १२ गतेभित्र केन्द्रलाई प्रतिवेदन बुझाउने र पुनरावेदनको काम १४ गतेसम्म सक्ने तालिका छ। पुस १४ गते नै केन्द्रीय सभापतिलाई सदस्यताको अन्तिम सूची बुझाउनुपर्ने भनिएको छ।
यस्तै पुस १५ गतेभित्र विदेशस्थित जनसम्पर्क समितिको अधिवेशन, १६ गते वडा, १७ गते पालिका, १९ गते प्रदेशसभा निर्वाचन क्षेत्र र २१ तथा २२ गते जिल्ला अधिवेशन गर्ने तालिका छ। पुस २३ र २४ गते प्रदेश अधिवेशन सकेर २६ देखि २८ गतेसम्म काठमाडौंमा १५औं महाधिवेशन गर्ने निर्णय भएको थियो।
महाधिवेशन स्थलकै टुंगो छैन
पूर्वनिर्धारित मितिअनुसार महाधिवेशन सुरु हुन अब २० दिनमात्रै बाँकी छ। क्रियाशील सदस्यता नवीकरण र वितरणसम्बन्धी काम नसकिएकाले पूर्वनिर्धारित मितिमा महाधिवेशन हुने सम्भावना अन्त्य भएको कांग्रेसका एक पदाधिकारीले बताए। उनका अनुसार महाधिवेशन मिति सार्ने विषयमा शीर्ष नेताहरूबीच छलफल सुरु भइसकेको छ।
सभापति देउवा निकटकै ती पदाधिकारीले भने, ‘कुनै विवाद नहुँदा पनि पुस २६ को समयसीमा कसरी पुग्छ ? ‘क्रियाशीलको काम मात्र हैन अरू तयारी के भएको छ र ? कांग्रेसको महाधिवेशन कुन ठाउँमा हुने हो त ? लाखौं कार्यकर्ता कहाँ उतार्ने हो ? महामन्त्रीले यो गरेनन् त्यो गरेनन् भनेर मात्र हुँदैन। अरू तयारीका लागि फेरि बहाना गर्ने ? नेकपा एमालेले यही परिस्थितिमा महाधिवेशन सम्पन्न गर्यो। कांग्रेसको सधैं बाहना ? यो नेतृत्वकै चाहना हो भन्ने स्पष्ट छ।’ ती नेताले भने, ‘सिरियल नम्बरबिनाको फाराम पठाइएपछि एकखाले विवाद त भएको हो। त्यो विवाद समाधान गर्न महामन्त्री मैदानमै हुनुहुन्छ। यो कुरा सबैले स्विकार्नुपर्छ। ४ लाखप्रति नयाँ क्रियाशील सदस्यता फाराम फेरि जिल्लामा पठाउनुपरेको छ।’
कसरी टुंगिन्छ क्रियाशील सदस्यता ?
केन्द्रले पठाएको क्रियाशील फाराम जिल्लाबाट क्षेत्र हुँदै वडा तहसम्म पुग्छ। क्रियाशील लिन चाहनेहरूको नाम वडाले सर्वसम्मत ढंगबाट टुंग्याएर क्षेत्र, जिल्ला, प्रदेश समिति हुँदै केन्द्रमा पठाउनुपर्ने हुन्छ। केन्द्रले आफ्नो वेबसाइटमा नाम सार्वजनिक गरिसकेपछि दाबी विरोधका लागि समय दिइन्छ। दाबी विरोध परेमा जिल्लास्थित छानबिन समितिले विवाद टुंग्याउने प्रयास गर्छ। त्यहाँबाट सम्भव नभए केन्द्रको छानबिन समितिले अन्तिम निर्णय गर्ने व्यवस्था छ। यी सब प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले पुस २६ सम्म सकस छ।
कांग्रेस केन्द्रीय सदस्यता व्यवस्थापन समितिका एक सदस्यले नवीकरण र नयाँ वितरण प्रक्रिया सँगसँगै अगाडि बढेकाले यो धेरै दिन नजाने बताउँदै भने, ‘कतिपय जिल्लाले नवीकरण सकिसकेका छन्। सिरियल नम्बरबिनाको फारामसम्बन्धी विवाद समाधान भइसकेको छ । जनसम्पर्कतर्फ क्यानाडा, यूके, अस्ट्रेलिया र जापानमा थप समय माग भएको छ। केही दिन समय दिएर समाधान हुन्छ।’
केन्द्रीय कार्यसमितिले तय गरेको कार्यतालिकाअनुसार मंसिर २० गतेभित्रै क्रियाशील सदस्यता फाराम वितरण भइसक्नुपर्ने थियो। ती फारामहरू प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यको फाराम मंसिर २४ गतेभित्र पठाइसक्नुपर्ने कार्यतालिका छ। पुसमा मात्रै क्षेत्रीय समितिमा पुगेको छ।
सुर्खेतका एकजना क्षेत्रीय समिति सभापतिले ‘कार्यतालिका एकखाले भए पनि आफूहरूले दुई दिनअघि मात्रै फाराम प्राप्त भएको बताए। फाराम नै समयमा नआएपछि क्रियाशील सदस्यता टुंग्याउन ढिला हुन्छ। फाराम आयो अब काम हुन्छ।’ क्रियाशील सदस्यता छानबिन समितिका संयोजकसमेत रहेका सहमहामन्त्री महेन्द्र यादव समय कम भएकाले पुसमै महाधिवेशन गर्न चुनौती भएको बताउँछन्। ‘समय कम छ, प्रयास गरिरहेका छौं,’ उनले भने, ‘महाधिवेशन गर्न अरू पनि थुप्रै काम बाँकी छन्।’
पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले सदस्यता वितरण र नवीकरणमा ढिलाइ भएको बताए। ‘सदस्यताको काम नसकी अधिवेशन प्रक्रिया अघि बढ्दैन,’ डा. महतले भने, ‘सिरियल नम्बर नभएका फारामका कारण कार्यतालिका प्रभावित भइसक्यो। अब कसरी अघि बढ्ने भन्नेबारे केही दिनमा छलफल गरेर निर्णय लिइनेछ।’ त्यसो त महाधिवेशनको विषयमा कांग्रेस पूर्णरूपमा तयारीमा देखिँदैन। महामन्त्री थापा निकटका एक नेता भन्छन्, ‘मुख्य नेता जसले यो महाधिवेशन समयमा नहोस् भन्ने चाहानुभएको छ । उहाँहरूकै जिल्लाबाट क्रियाशीलको सूची अझै आएको छैन। यो भनेको त महाधिवेशन गर्नै नदिइएको हो ।’
पदाधिकारीकै जिल्लामा टुंगिएन क्रियाशील विवाद
क्रियाशील सदस्यताको विवाद कृष्णप्रसाद सिटौलाको क्षेत्र र कार्यबाहक सभापति पूर्णबहादुर खड्काको जिल्ला सुर्खेतबाट पनि सल्टिएको छैन। महामन्त्री थापा भन्छन्, ‘अब महाधिवेशन क्रियाशीलकै कारण नहोला भन्ने छैन २,४ दिनमा अन्तिम प्रक्रियामा जान्छ। जुन–जुन जिल्लामा रोकिएका छन् तिनमा पनि समन्वय गरिरहेका छौं। क्रियाशीलकै कारण महाधिवेशन रोकिँदैन।’
महाधिवेशनको तयारीका विषयमा छलफल गर्न पदाधिकारीसँग शनिबार सभापति देउवाले छलफल गरे। उनले पदाधिकारीसँग महाधिवेशनको तयारीका विषयमा के–के भइरहेको छ भनेर चासो देखाएका थिए। उनले कार्यसम्पादन समितिको बैठक बोलाउन निर्देशन दिएका छन्। उपसभापति धनराज गुरुङले भने, ‘विधान संशोधन समिति बनाउने निर्णय भयो। कसलाई राख्ने भन्ने कुरा निक्र्यौल गर्न बाँकी छ। कार्यतालिका संशोधन गर्ने भनिएको छ। त्यसमा पनि छलफल भयो। तोकिएको समयमा गर्ने भन्ने त सबैको कुरा छ। तर, निर्णय गरिएको छैन। बाँकी अनुशासन समितिको विषयमा जति कारबाही गर्न बाँकी छ। त्यसलाई अहिले अगाडि नबढाउँ भन्ने खालको छलफल भएको छ।’
कांग्रेस नेता रामहरि खतिवडा भने समय कम भएकाले व्यवस्थापन गर्न सकस भएको बताउँछन्। यद्यपि महाधिवेशन समयमै गर्नुपर्ने उनको भनाइ छ। ‘यो समय कसले के गरे कि गरेनन् भन्ने बेला हैन,’ खतिवडाले भने, ‘अब कार्य सम्पादन समितिको बैठक बसेर सभापतिजीले छलफल गर्न खोज्नुभएको छ।
त्यसपछि मात्र महाधिवेशनका बारेमा कांग्रेसमा धारणा बन्छ। अहिले नै दोषारोपण गर्ने बेला भएको छैन। महामन्त्री गगन थापाजी पनि क्रियाशीलको आफूलाई जिम्मेवारी आएको विषय निष्कर्षमा पर्ुयाउँदै हुनुहुन्छ। लाग्नुभएको छ। कार्यबाहक अध्यक्ष पनि आफ्नो ठाउँबाट माहोल बनाउन लाग्नुभएको छ।’ खतिवडाले अगाडि भने, ‘महाधिवेशन गर्न नचाहने नहोस् भन्ने लगभग कोही छैन। यो परिस्थिति यसरी सिर्जना भइदिएको मात्र हो। महाधिवेशनका लागि देशभर माहोल बनेको छ। जनतामा उत्साह देखिएको छ।’
विशेष महाधिवेशनको माग गरेका नेता गुरु घिमिरे क्रियाशीलको विषय सुचारु रूपले समयमै सम्पन भयो भने वडा अधिवेशन सुरु गर्न समस्या नहुने बताउँछन्। घिमिरे भन्छन्, ‘त्यसपछि पालिका र प्रदेश अधिवेशन गर्न अलि गाह्रो छ। कम्तीमा ३ दिनको ग्याप चाहिन्छ। जिल्लामा पनि ग्याप चाहिन्छ। त्यो गर्नलाई पनि समय चाहिन्छ। पहाडमा हिमाली जिल्ला तराईमा हुस्सु लागेको छ। यो अहिलेको समयमा कठिनको परिस्थिति हुन्छ तर कार्यकर्ताले पनि बुझ्छन्। यसमा हामी छलफल गर्छौं।’
घिमिरेले विशेष पक्षधरको प्रस्ताव केन्द्रीय समितिमा दर्ता भएको प्रस्तावको बैधानिकत अहिलेसम्म कायम रहेको भन्दै अगाडि भने, ‘अहिले नियमित महाधिवेशन तलमाथि भयो भने विशेष बोलाउनुपर्ने भन्ने छ। विधानअनुसार नियमित गर्न नसके विशेष बोलाउनु भनिएको छ। केन्द्रीय समितिले आफैं बोलाउनुपर्छ। अथवा ४० प्रतिशतले हस्ताक्षर गरेपछि पनि बोलाउनै पर्ने व्यवस्था छ। यसमा हामी सल्लाह गरेर अघि बढ्छौं।’
नेता नैनसिंह महर केन्द्रीय समितिले केन्द्रीय महाधिवेशनको निर्वाचनको मिति तोक्ने जिम्मेवारी भएको बताउँदै भने, ‘त्योभन्दा तलका तालिका निर्वाचन समिति र केन्द्रीय समिति बसेर मिति तोकिन्थ्यो। तर, यसपालि निर्वाचन समितिको अनुपस्थितिमा केन्द्रीय समितिले निर्णय गर्यो। एउटा प्रदेशको अधिवेशन गर्न कम्तीमा ७ दिन चाहिन्छ। यो मौसमलाई २, ३ दिनमा महाधिवेशन अधिवेशन हुन कति सम्भव छ ? पदाधिकारीहरू पनि हिमाली पहाडी जिल्लाहरूमा भनेर सोचेर पछि हटिएको जस्तो बुझिन्छ।’
कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको महाधिवेशनमा सर्व सम्ममत रूपमा केन्द्रीय समितिले पारित गरेको हुँदा महाधिवेशन नहोला भनेर आशंका गर्न नमिल्ने भन्दै अगाडि भने, ‘महाधिवेशन पनि एक किसिमले फागुन २१ गतेको आमनिर्वाचन जस्तै पार्टीभित्रको निर्वाचन हो। आमनिर्वाचनका लागि मतदाता नामावली अपडेट गरेको हामीलाई थाहा छ नि!, मतदाता नामावलीको अपडेट पूरा भएपछि न निर्वाचनको प्रक्रिया सुरु हुन्छ। नेपाली कांग्रेसको महाधिवेशन हुनका लागि पनि क्रियाशील वितरण गर्ने प्रक्रियालाई कांग्रेसको विधानअनुसार हुनुपर्छ त्यही मुख्य पाटो नै सम्पन्न हुन नसक्दा समस्या देखिएको हो जस्तो लाग्छ अब पदाधिकारी साथीहरू त्यसमा लागेको देखिन्छ।’
‘महाधिवेशन किन नहुने ? सर्वसम्मत रूपमा कार्यतालिका पारित भएको छ। यसको प्रक्रिया पूरा गर्नका लागि विधि पूरा गर्नुपर्छ। कसैलाई हतार भयो भन्दैमा विधि प्रक्रिया नै नपुर्याई विधि मिचेर महाधिवेशनलाई अगाडि बढाउने भन्ने चाहिँ हुँदैन,’ सिंहले अगाडि भने।
के भन्छन् विश्लेषक शंकर तिवारी ?
नेपाली कांग्रेसलाई यथास्थितिमा राख्ने र अग्रगमनमा लिएर जाने समूहहरूबीच प्रतिस्पर्धा चलेको छ त्यो प्रतिस्पर्धामा कांग्रेसलाई राष्ट्रिय चुनावभन्दा अगाडि नै नयाँ नेतृत्व दिनुपर्छ अगाडि नयाँ नेतृत्व चयन गर्नुपर्छ भनेर, विशेष अधिवेशनका लागि हस्ताक्षर गरिएको हो।
त्यसको जगमा जुन शैलीबाट नियमित अधिवेशनको कार्यतालिका लिएर आइयो। प्रस्तुत गरियो। त्यसकाप्रति त्यो प्रस्तुत गरेका दिनमा नै सन्देह देखा परेको थियो अहिले महाधिवेशनका लागि जुन किसिमको ढिलाइ गरिँदैछ त्यसले त्यही आशंकालाई पुष्टि गरेको छ।
कांग्रेस पार्टीले जेन–जी उथलपुथलपछि राष्ट्रिय राजनीतिलाई नेतृत्व प्रदान गर्ने जुन अपूर्व अवसर पाउँदै थियो। महाधिवेशन ढिला गरेर कांग्रेसले त्यो अवसरबाट आफैंलाई वञ्चित गर्ने खतरा बढेको छ।
समयमै कांग्रेस महाधिवेशन नहुनु भनेको कांग्रेसले राष्ट्रिय राजनीतिलाई नेतृत्व गर्ने अवसर गुमाउनु हो। कांग्रेस पार्टीले दल दर्ता गरेको मितिमा नै नयाँ सभापति लिएर दलदर्ता गर्नुपर्ने थियो तर यति समय बितिसक्दा पनि १०० दिन पुगिसक्दा पनि वडा तहकै सम्मेलन कहिले गर्ने भनेर अलमलिनु राम्रो संकेत होइन। यसले कांग्रेस पार्टीलाई यथास्थितिमा राख्न चाहनेहरूको हालीमुहाली बढेको देखाउँछ।
क्रियाशीलकै लफडा
निर्धारित मितिमा कांग्रेस महाधिवेशन गर्न २० दिन मात्रै बाँकी छ। तर, क्रियाशील सदस्यताको लफडा सुल्झेको छैन। जबकी कांग्रेस महाधिवेशन सम्पन्न गर्न क्रियाशील सदस्यताको टुंगो लगाउनु महत्वपूर्ण पाटो मानिन्छ। किनभने, वडा, नगर, क्षेत्रदेखि केन्द्रसम्म पार्टीको आन्तरिक प्रतिस्पर्धामा उम्मेदवार बन्न क्रियाशील सदस्य हुनै पर्छ। कांग्रेसमा महाधिवेशन प्रतिनिधि बन्न पनि क्रियाशील सदस्यता अनिवार्य सर्त हो।
हुन त, पार्टीका हरेक महाधिवेशनअघि क्रियाशील सदस्यता वितरण र नवीकरण विवादित बन्ने गर्छन्। केन्द्रीय कार्यसमितिले कार्यतालिका बनाए पठाउने गरे पनि यसअनुसार क्रियाशील सदस्यता टुंगिएको विगतमा पनि विरलै मात्रै पाइन्छ। यसपटक महाधिवेशन अचानक गर्नु परेकाले पनि क्रियाशीलको विषयमा अल्झन देखिएको हो। सभापति शेरबहादुर देउवानिकट एक नेता भने चुनावमा एकजुट भएर होमिनुपर्ने बेला महाधिवेशन थाती राख्नुपर्ने बताउँछन्। महाधिवेशन पार्टीको आन्तरिक विषय भएकाले विधानअनुसार यसलाई जुनसुकै बेला पनि गर्न सकिने देउवा निकट नेताहरूको तर्क छ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने जसरी पनि पुसमै महाधिवेशन गर्नुपर्ने अडान राख्दै आएका छन्। त्यसकै लागि उनीहरूले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर अभियान चलाएर नेतृत्वमाथि दबाब पनि सिर्जना गरे। विशेष महाधिवेशनको प्रस्ताव पार्टी कार्यालयमा दर्ता पनि भयो। सभापति देउवामाथि दबाब बढेपछि पुसमै महाधिवेशनको मिति तोकियो। महाधिवेशन मिति तोक्ने विवादकै कारण पार्टी विभाजन हुने हो कि भन्ने त्रासका कारण सभापति देउवाले महामन्त्रीहरूलाई साथ दिए र सोहीअनुसार नै पुसमा महाधिवेशनको मिति तोक्न सहमत भएका थिए। तर, त्यही मिति अहिले धरमर भएको अवस्था छ।
प्रतिक्रिया दिनुहोस !