प्रदूषणको चिन्ता
पुसको आरम्भसँगै देशैभरि मौसम अनुकूल छैन। काठमाडौं उपत्यकामा पहिलो साता हावाको एक्यूआई पीएएम १७२ पुगी संवेदनशील अज्वस्थामा छ। हावा मापनको सूचकांक १०० सम्मलाई सामान्य, १५० सम्मलाई संवेदनशील र त्यसमाथिलाई रेडजोन भन्ने गरिएको छ। विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा त कता हो कता बढीमा छौं हामी। बढ्दो सवारी चाप, पुराना सवारीहरू र भएका औद्योगिक कलकारखानाहरूबाट निस्केको प्रदूषित हावा चिसो मौसममा बाहिर जान पाउँदैन, गह्रौं हुन्छ। घनत्व बढी हुन्छ र गर्मी बेलामा हावा हलुका भई बाहिर जानेजस्तो सजिलो हुन्न।
काठमाडौं उपत्यका कचौरा आकारको छ, माथि गएको हावा पनि फर्केर तलै आउँछ, उत्तर चिसो हिमाल दक्षिण अग्ला महाभारतका शृंखलाहरूले गर्दा। दैनिक १३ लाखभन्दा बढी सवारी काठमाडौं उपत्यकामा चल्ने गर्छन् र बाहिरबाट आउने जाने करिब १८ हजार बढी छन्। सरकारले सवारीमा प्रदूषणको मापदण्ड तोकेको छ, व्यवहारमा खासै लागू छैन। २० वर्ष माथिका सवारीहरू विस्थापन गर्ने सरकारी नीति पनि कार्यान्वयन हुन सकेको छैन। यसपालिको बजेटमै पछिल्लो दुई वर्षको कर तिरे अरू मिनाहा हुनेभन्दा पनि यस्ता सवारी विस्थापनमा खासै चासो दिएको पाइँदैन। अहिले उपत्यका बाहिर कतिपय उडान बन्द भएका छन् र यो पर्यटक पाहुना आउने समय पनि हो।
नोभेम्बरदेखि फेब्रुअरीसम्मको समय बढी जाडो हुने, वर्षा न्यून हुने भएकाले प्रदूषण वृद्धि हुने गर्छ भने अरू देशले त कृत्रिम वर्षा पनि गराउने गरेका छन्, हामीसँग यो प्रविधि छैन। प्रदूषणमा हामी अब्बल छौं हरेक वर्ष, विप्रेषण झैं। वात भन्नाले हावा र त्यसको ढकनी भन्नाले आवरण बुझिन्छ, वात र आवरण शब्दले वातावरण भनौं। हामी वरिपरिको हावा भन्ने बुझिन्छ, जुन तीव्र रूपमा प्रदूषित भएको छ। संविधानले हरेक नेपालीलाई स्वच्छ वातावरणको हकको व्यवस्था गरेको छ। संविधानमा व्यवस्था भएअनुसार प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ।
वातावरणीय प्रदूषणबाट हुने क्षतिबापत पीडितलाई प्रदूषण्बापत कानुनबमोजिम क्षतिपूर्ति प्राप्त हुने उल्लेख छ। विकाससम्बन्धी कार्य र वातावरणबीच सन्तुलन गरिने पनि उल्लेख छ। प्रदूषणमुक्त वातावरण सन्तुलित र संरक्षित हुन धेरै विषयको ख्याल गर्नुपर्ने हुन्छ। वायु प्रदूषणका कारण वृद्ध, बालबालिका, गर्भवती महिलाहरू बढी आक्रान्त हुने गर्छन्। दम रोग, फोक्सो, मुटु, मस्तिष्क, क्यान्सरको समस्या, दीर्घ रोगीहरूका लागि त प्रदूषण घातक नै हो, झन् हामी कोरोना र डेंगुपछि थप मारमा छौं। उद्योग, कलकारखानाको धूलो, पुराना गाडी, मान्छेको भीड, नदीहरूको दूरवस्था, खुल्ला ढल, हाम्रो बाटो सधैं जाम हुनुले प्रदूषणको यथार्थ अवस्था झल्काउँछ।
सन् २०१९ मा प्रदूषणकै कारण यहाँ ४२ हजारको ज्यान गएको, त्यसमा १९ प्रतिशत मानिस पाँच वर्षमुनिका बालबालिका रहेका र २७ प्रतिशत बढी ७० वर्ष उमेरसमूहका रहेको एक अध्ययनले देखाएको थियो। विश्व स्वास्थ्य संगठनले वायुको गुणस्तरको मात्रा तोकेको तर तोकिएकोभन्दा २५ गुणा खराब भएको काठमाडौंको वायुको गुणस्तर विश्वमै पहिलो भएको थियो। देशमा वातावरण विभाग छ, भन्छ– डढेलो पनि यसको कारण हो, हिउँदमा किसानले कृषि अवशेष बढी जलाउने गर्छन्। त्यसो त दक्षिण एसियामा सबैभन्दा प्रदूषणको समस्या छ। त्यसमा पनि भारतको दिल्लीलगायत अन्य केही भाग, अन्य क्षेत्र ढाका, हनोई, बैंककजस्ता सहर बढी मारमा छन्। विश्वका १०१ सहरको वायुको मात्रा मापन गर्दा हाम्रो राजधानी काठमाडौंले अग्रणी स्थान ओगटेको हो अतीतमा।
राज्यको नीति त छ, तर उदासीन छ यसमा। छैटौं पञ्चवर्षीय योजना अवधिदेखि नै वातावरणप्रति सचेत हुँदै आएको हो। मुलुकले दर्शाएको अन्तर्राष्ट्रिय प्रतिबद्धता, वातावरणसम्बन्धी सन्धि, महासन्धिलाई अनुमोदन गर्दै दिगो विकासको अवधारणालाई आत्मसात् गर्दै आएको हो। वातावरण निर्देशिका २०५३, वातावरण संरक्षण ऐन २०५३ र नियमावली २०५४ कार्यान्वयन हुँदै आएको हो तर काम भने कर्मकाण्डी भयो। सहस्राब्दी विकास लक्ष्य र नेपालको दिगो विकासको एजेन्डामा वातावरणीय पक्षलाई उच्च प्राथमिकता भनिएको छ। स्थानीय स्तरमा वातावरण सुधार कार्यक्रम, जनचेतना अभिवृद्धिका कार्यक्रम, योजना तर्जुमा गर्दा वातावरणीय पक्षलाई समावेश गर्ने कार्य, वातावरण शिक्षातर्पm प्राथमिक तहदेखि विश्व विद्यालयस्तरसम्म शिक्षाको पठन पाठन चालु भएर राष्ट्रियस्तरमा उच्चस्तरीय जनशक्ति उत्पादनका कार्यसम्म यस क्षेत्रबाट गरिने भनिएको छ। जति नीति र योजना बने पनि देश भने पछिल्तिर धकेलिन थाल्यो। सबै विषय गएर ठोक्कियो अस्थिर राजनीतिमै।
धेरै कर्म विद्युतीय हुँदा पनि प्रदूषण घटेको छैन। साँच्चै विश्वका ५० सहरमध्ये काठमाडौं प्रदूषणमा पहिलो श्रेणीमा छ। काठमाडौं मात्रै नभएर पूर्वको विराटनगर, पश्चिमको नेपालगन्ज पनि उस्तै रह्यो। अघिल्ला वर्षहरूमा पुस एक दिनको २४ घण्टाको प्रदूषणमापन रत्नपार्कमा ४४१, विराटनगरमा ३६६, भैंसेपाटीमा ३३१ र जनकपुर, चितवन, हेटौंडा, पोखराको स्थिति पनि त्यस्तै रहेको थियो। नेतृत्व मानव स्वास्थ्यमा संवेदनशील छैन भन्ने यसले देखाउँछ। अब वेदको भनाइ हेरौं, माटो, पानी, हावा, वृक्ष, वनस्पति, ओखती, अनाज, अन्तरिक्ष, भूगोल र खगोल सबै शुद्धीकृत हुनुपर्छ। जसबाट मानव र उसका तमाम परिवेश सफा हुन्छ, शुद्ध हुन्छ, पवित्र हुन्छ। तर हाम्रो अहिले न धन, मन, तन नै पवित्र छ, परिवेशत छैन नै। विकृत र अशुद्ध हावा पानी लिएर जिउने हामी वैज्ञानिक भनिएका अभागी नर प्राणी भएका छौं। बाहिर खान्छौं फोहोर गर्न घरभित्र आउँछौं, नदीनालालाई त भुसुक्कै बिगारिसकेका छौं।
नदी सभ्यताबिना जीवन सभ्यता रामो हुन्न, चाहे अर्बौं, खर्बौं डलर नै खनाइयोस्, आजको बागमती र अरू नदीको तस्बिरले पुष्टि गरिसकेको छ। बहाना सवारीमात्रै होइन, हाम्रो दिनचर्या पनि हो, हाम्रो केमिकलयुक्त जीवन शैली पनि हो। सबैभन्दा थप मार अहिले हुने भनेको मधुमेह, उच्च रक्तचाप, मुटु, स्ट्रोक, दम रोगी, बालबालिका, गर्भवती, अपांग र जोसँग घरभित्र उच्च सुविधा छैन ती गररबका लागि नै हो। धनीले जसोतसो टार्लान् औषधिमुलोमा खर्च पनि गर्न सक्लान् तर आम सर्वसाधारणका लागि यो ऋतु असह्य छ, त्यसो त वर्षा, वा अन्य पनि हामीलाई सह्य भएन, बाढी, पहिरो, चीत्कार क्रन्दनले नै बितेको हो। हिउँद असहज यसकारण कि मौसम अति चिसो छ मौसमअनुसारको खाना र आराम वा शारीरिक अभ्यास छैन हाम्रो।
प्रतिक्रिया दिनुहोस !