विराटनगरका क्यासिनोमा नेपालीलाई प्रवेश, १७ जनामाथि अनुसन्धान

विराटनगरका क्यासिनोमा नेपालीलाई प्रवेश, १७ जनामाथि अनुसन्धान

विराटनगर : कानुनले नेपाली नागरिकलाई क्यासिनो प्रवेशमा पूर्णरूपमा निषेध गरेको छ। तर विराटनगरका तारे होटलभित्र सञ्चालित क्यासिनोमा नेपालीले निर्बाध प्रवेश पाउने गरेको पत्ता लागेको छ। 

विराटनगरका दुई ठूला होटलमा सञ्चालित क्यासिनोमा प्रहरीले आइतबार राति छापा हानेर २० जना नेपालीलाई पक्राउ गरेको थियो। प्रारम्भिक छानबिनपछि ३ जना भने क्यासिनाको कर्मचारी भएको पाइएको छ। उनीहरूलाई प्रहरीले छाडेको छ। बाँकी १७ जनाविरुद्ध जुवा ऐनअन्तर्गत मुद्दा चलाउन सोमबार म्याद थप गरी अनुसन्धान अघि बढाइएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन्। 

उनका अनुसार जिल्ला प्रहरी कार्यालयले विराटनगर महानगरपालिका–११ स्थित रत्ना होटलमा सञ्चालित ‘गोल्डेन कोइन’ क्यासिनो र बिग होटलमा रहेको ‘च्याम्पियन जोन’ क्यासिनोमा छापा हानेको थियो। छापा हान्दा क्यासिनोभित्र नेपाली नागरिकहरू कुनै पनि आधिकारिक क्यासिनो आइडी नलिई जुवाजन्य खेल खेलिरहेको अवस्थामा फेला परेपछि सबैलाई नियन्त्रणमा लिइएको चुँडालले बताइन्। 

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार पक्राउ परेकाहरूको परिचयपत्र, जिम्मेवारी र क्यासिनोभित्रको भूमिकाका आधारमा ‘स्क्रिनिङ’ गरिएको थियो। ‘तीन जना क्यासिनोकै कर्मचारी भएको पुष्टि भयो। बाँकी १७ जना भने खेल्ने तथा खेलाउने कार्यमै संलग्न देखिएपछि उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १२५ अनुसार मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ,’ एसपी कटवालले बताए।
प्रहरीले गोल्डेन कोइनबाट १४ र च्याम्पियन जोनबाट ६ जनालाई नियन्त्रणमा लिएको हो। 

रत्ना होटलको गोल्डेन कोइन क्यासिनोबाट सोलुखुम्बुको लिखुपिके गाउँपालिका–६ का ४३ वर्षीय लोकेन्द्रबहादुर बस्नेत, झापाको मेचीनगर नगरपालिका–७ घर भई हाल विराटनगर–६ बस्ने ४० वर्षीय रोशन गिरी, झापाको दमक नगरपालिका–४ का ४० वर्षीय घनश्याम गिरी, विराटनगर–१ का २६ वर्षीय कृष्णकुमार कुर्मी, २४ वर्षीय विवेककुमार मण्डल, विराटनगर–१ का ४५ वर्षीय तेजराज गिरी र विराटनगर–७ का २७ वर्षीय पवन गोस्वामी पक्राउ परेका छन्। 

त्यस्तै, रामेछापको सुनापति गाउँपालिका–४ का राज लामा (मणी लामा योन्जन), सुनसरीको इटहरी उपमहानगरपालिका–५ का २७ वर्षीय रुपेश दाहाल, इटहरी–८ का २९ वर्षीय प्रमोद घिमिरे, मोरङको सुन्दरहरैँचा नगरपालिका–४ का २३ वर्षीय आदेश विक, बुढीगंगा गाउँपालिका–२ का ४२ वर्षीय महमद जाकिर हुसेन, मोरङको कटहरी गाउँपालिका–४ का २६ वर्षीय सुरज राय र उदयपुरको चौदण्डीगढी नगरपालिका–५ का ३८ वर्षीय सन्तोष बस्नेत पनि पक्राउ परे। 

यसैबीच, बिग होटलमा रहेको च्याम्पियन जोन क्यासिनोबाट काभ्रेको बनेपा नगरपालिका–११ का ४५ वर्षीय रामकृष्ण गौतम, बैतडीको दशरथचन्द नगरपालिका–८ का ५३ वर्षीय हरि भट्ट र विराटनगर–८ का साजन साह पक्राउ परेका छन्। बिगबाट पक्राउ परेका अन्य ३ जना छुटेका छन्। पक्राउ परेकामध्ये लोकेन्द्रबहादुर बस्नेत गोल्डेन कोइनका महाप्रबन्धक र रामकृष्ण गौतम च्याम्पियन जोनका व्यवस्थापक रहेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार पक्राउ परेका केही व्यक्तिले आफू क्यासिनोमा डान्सर, स्टाफ वा व्यवस्थापक भएको दाबी गरे पनि उनीहरूसँग आवश्यक परिचयपत्र नपाइएकाले खेलाडीसरह अनुसन्धान अघि बढाइएको छ। छापा हान्दा नेपाली नागरिक क्यासिनो आइडी नै नलिई तास, चिप्स र नगदमार्फत जुवा खेलिरहेको पुष्टि भएपछि सबैलाई अनुसन्धानको दायरामा ल्याइएको एसपी कटवालको भनाइ छ। 

कानुनअनुसार क्यासिनो विदेशी नागरिकका लागि मात्र सीमित रहने व्यवस्था भए पनि विराटनगरका क्यासिनोहरूमा नेपाली उद्योगी, व्यापारी, विद्यार्थी र युवाहरू नै मुख्य ग्राहक रहेको आरोप लामो समयदेखि लाग्दै आएको थियो। क्यासिनोको लतले परिवार विखण्डन, आर्थिक संकट र आपराधिक गतिविधि बढाएको भन्दै स्थानीयले पटक–पटक गुनासो गरे पनि सम्बन्धित निकायको बेवास्ताका कारण नेपालीले निर्बाध प्रवेश पाउने गरेका छन्। 

क्यासिनोमा जानाजान नेपालीलाई प्रवेश गराएको, कानुनी व्यवस्था उल्लंघन गरिएको र क्यासिनो सञ्चालन नियमावली विपरीत गतिविधि भएको पाइएको प्रहरीले जनाएको छ। क्यासिनो प्रवेश गर्दा विदेशी नागरिक पुष्टि हुने आधिकारिक परिचयपत्र अनिवार्य रूपमा देखाउनुपर्ने व्यवस्था छ। तर, विराटनगरका दुवै क्यासिनोमा वर्षौंदेखि यो कानुनी व्यवस्था खुलेआम उल्लंघन हुँदै आएको थियो। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.