प्रमुख दललाई पाखा राख्ने सोच त्याग्न कर्णालीका मुख्यमन्त्रीको सुझाव
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आगामी फागुन २१ गते तोकिएको प्रतिनीधिसभा सदस्य निर्वाचन तोकिएकै मितिमा गराउने हो भने प्रमुख राजनितिक दललाई पाखा राख्ने सोच त्याग्न संघीय सरकारलाई सुझाव दिएका छन्। उनले निर्वाचनको विषयमा अझै संशय रहेको र दलहरूबीचको सहमतिले मात्र निर्वाचनको वातावरण बन्ने बताए। गृह मन्त्रालय र कर्णाली प्रदेश सरकारद्वारा संयुक्त रुपमा आयोजित कर्णाली प्रदेशस्तरिय सुरक्षा गोष्ठीमा मुख्यमन्त्री कँडेलले सरकारका कतिपय गतिविधिकै कारण निर्वाचनको वातावरण अझै तयार नभएको समेत दाबी गरे।
मुख्यमन्त्री कँडेलले निर्वाचनका सन्दर्भमा भयरहित वातावरण र सुरक्षा प्रमुख विषय रहेको भन्दै भदौ २३ र २४ गतेपछिको सुरक्षा अवस्थाले भयरहित वातावरण बन्न नसकेको बता । उनले सुरक्षा अवस्था पहिलेको जस्तो नरहेको र सुरक्षाकर्मीमा समेत मनोवैज्ञानिक त्रास रहेको बताउँदै निर्वाचनको वातावरण बनाउन सुरक्षाकर्मी त्रसित मनोविज्ञानबाट मुक्त हुनुपर्ने धारणा राखे। ‘यहाँ व्यक्त नभए पनि सुरक्षाकर्मी साथीहरू एकप्रकारले मनोवैज्ञानिक रूपमा त्रसित हुनुहुन्छ, उहाँलाई दिइएको हतियार परि आएमा प्रयोग गर्ने वा नगर्ने द्विविधामा हुनुहुन्छ, यस्तो अन्यौलपूर्ण अवस्थामा निर्वाचनको वातावरण कसरी बन्न सक्ला ?’ मु्ख्यमन्त्री कँडेलले प्रश्न गरे।
निर्वाचनका सन्दर्भमा दलहरूबीच नै सहमति नभएकोले अन्योल रहेकाले सरकारले दलिय सहमतिलाई प्राथमिकता दिनुपर्ने मुख्यमन्त्री कँडेलको भनाइ छ। निर्वाचनको बुथमा रहने ४ जना प्रहरीको भरमा मतदान केन्द्रको सुरक्षा कसरी हुन्छ भन्दै प्रश्न गरेका उनले भने ‘दलले भाग लिने परिस्थिति बन्न सके मात्र निर्वाचन सम्भव हुन्छ।’ मुख्यमन्त्री कँडेलले प्रमुख दलका शीर्ष नेतालाई स्थान हद तोकेर निर्वाचनको वातावरण बन्न नसक्ने बताए। ‘यस सम्बन्धमा सरकारले तत्काल निर्णय गर्नुपर्छ,’ उनले भने, ‘दलीय व्यवस्थामा दललाई पाखा राखेर निर्वाचनको वातावरण सम्भव छैन, निर्वाचन गराउने हो भने दलहरूसँग सघन छलफल गर्नुहोस्।’
मुख्यमन्त्री कँडेलले प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख दलका शीर्ष नेताहरुसंग गरेको संवादलाई सकारात्मक रूपमा लिनुपर्ने र यस्तो संवाद र छलफलले मात्र मुलुकलाई निर्वाचनमा लैजान सकिने बताए। जेनजीका नाममा समाजमा कतिपय आतंक सिर्जना गरिएको बताउदै मुख्यमन्त्री कँडेलले कानुन उल्लघंन गर्ने जोकोहीलाई पनि दण्डित गर्ने अवस्था नरहे शान्ति सुरक्षा बनावटी मात्र हुने धारणा राखे। ‘भदौ २३ गते युवाहरूले उठाएको भ्रष्टाचार नियन्त्रण र सुशासनको मागप्रति कसैको विमत्ति छैन तर २४ गते भएको विध्वश र आगजनी गर्नेमाथि कारबाही नभएसम्म शान्ति सुरक्षाप्रति विश्वस्त हुने अवस्था छैन,’ उनले भने। मुख्यमन्त्री कँडेलले आगजनी र लुटपाटमा संलग्नमाथि सरकारले नै कारबाही नगर्न सुरक्षा निकायमाथि दिएको दवावप्रति असन्तुष्टि जनाए।
कर्णाली राजमार्गमा बढ्दो सवारी दुर्घटना, लागु पदार्थको दुर्व्यसनी जस्ता विषयमा यहाँका सुरक्षा निकायले कडाइका साथ नियन्त्रण गर्नु पर्ने मुख्यमन्त्री कँडेलको भनाइ छ। उनले कर्णालीमा सुरक्षाकर्मीहरूको पूर्वाधार र स्रोत साधनको अवस्था दयनीय रहेकाले पनि शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रशासनलाई परेको अप्ठ्यारोप्रति गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
प्रतिक्रिया दिनुहोस !