टिपरले स्कुटरलाई ठक्कर दिँदा बालकको मृत्यु, बुवा घाइते
विराटनगर : मोरङमा टिपरले बिहीबार साँझ स्कुटरलाई ठक्कर दिँदा बालकको मृत्यु भएको छ। प्रहरीका अनुसार विराटचोक–घिनाघाट सडक खण्डअन्तर्गत ग्रामथान गाउँपालिका–५ ककडमाडीमा साँझ ५ बजेतिर दुर्घटना भएको हो।
गिट्टी बोकेर विराटचोकबाट विराटनगरतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ख ९७७० नम्बरको टिपरले उत्तरबाट दक्षिणतर्फ बाटो क्रस गर्दै गरेको प्रदेश १–०२–०५२ प ९००५ नम्बरको स्कुटरलाई साँझ ५ बजेतिर ठक्कर दिँदा दुर्घटना भएको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले बताए।
उनका अनुसार टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि सवार ग्रामथान–५ बस्ने १४ वर्षीय अनुप कार्कीको मृत्यु भएको छ। दुर्घटनामा परेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल लगिएको थियो। बालकलाई चिकित्सकले साँझ ५:४५ बजेतिर मृत घोषित गरिदिएको इन्स्पेक्टर न्यौपानेले बताए।
दुर्घटनालगत्तै प्रहरीले टिपर र चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–४ का अन्दाजी २४ वर्षीय सञ्जय चौधरीलाई नियन्त्रणमा लिएको छ। टिपर चालक चौधरीलाई इलाका प्रहरी कार्यालय हरैँचामा र टिपरलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ। स्कुटर प्रहरी चौकी तेतरियाको नियन्त्रणमा छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट टिपरको तीव्र गति र चालकको असावधानीका कारण दुर्घटना भएको पत्ता लागेको छ। घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरीको नेतृत्वमा टोली खटिएको छ।
प्रतिक्रिया दिनुहोस !