बालेन-रवि सहमति नजिक, बालेनलाई प्रधानमन्त्री मान्न रवि तयार
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच राजनीतिक सहमति हुने लगभग पक्का भएको छ। केही दिनदेखिको सघन छलफलले उनीहरू एउटै पार्टी बनाएर आगामी निर्वाचनमा सहभागी हुन तयार भएका हुन्।
स्रोतका अनुसार बिहीबार ललितपुरको जुवागलमा भएको लामो छलफलमा रास्वपा सभापति लामिछानेले बालेनलाई प्रधानमन्त्रीको रूपमा अघि बढाउन तयार भएका हुन्। लामिछानेले बालेनलाई प्रधानमन्त्रीको रूपमा स्वीकार्ने र बालेनले लामिछानेलाई पार्टी सभापतिको रूपमा स्वीकार्ने 'अन्डरस्ट्यानिङ' भएको स्रोतको दाबी छ।
सहकारीसम्बन्धी मुद्दामा मुछिएका कारण सभापति लामिछाने प्रधानमन्त्री बन्न अयोग्य हुने निष्कर्षसहित बालेनलाई दोस्रो वरीयतासहित आगामी प्रधानमन्त्रीको रूपमा अघि बढाउन रविसहित रास्वपाका अन्य नेताहरू पनि तयार भएका हुन्। 'जेनजी अगुवाहरूको माग पनि बालेन, रवि र कुलमानलाई एकसाथ निर्वाचनमा सहभागी गराउनु हो। जेनजीहरूको त्यही दबाबले पनि बिहीबार विभिन्न नेताहरूबीच घन्टौं वार्ता चल्यो। त्यही वार्ताले उनीहरूबीच एकता हुने सम्भावना बढेको हो,' वार्तामा सहभागी एक नेताले अन्नपूर्ण पोस्ट्लाई बताए। तर, कार्यवाहक सभापतिसमेत रहेका डोलप्रसाद अर्याल र उपसभापति स्वर्णिम वाग्ले भने बालेनलाई दिइने दोस्रो वरीयतामा असन्तुष्टि जनाएको स्रोतको भनाइ छ।
स्रोतका अनुसार रवि र बालेनका विषयमा टुंगो लागे पनि मन्त्रीसमेत रहेका कुलमान घिसिङको विषयमा सहमति हुन बाँकी छ। घिसिङलाई कस्तो जिम्मेवरी दिने भन्ने विषयमा छलफल जारी रहेको स्रोतको भनाइ छ।
त्यतिमात्र होइन, रवि र बालेनबीच हुने सहमतिको सम्झौता पत्र पनि तयारी भइरहेको छ। सम्झौतामा समावेश गर्नुपर्ने विषयमा उनीहरू निकट नेताहरू जुटेका छन्। निर्वाचनमा जाने मोडालिटी र पार्टीको सैद्धान्तिक नीतिलाई अन्तिम रुप दिएपछि सम्भवतः आज बेलुकासम्म रवि र बालेनबीच सहमति पत्रमा हस्ताक्षर हुन सक्ने स्रोतको दाबी छ।
'मस्यौदामा पार्टी र सरकारको नेतृत्व, समानुपातिक र प्रत्यक्षतर्फको सहभागितालगायत विषयलाई कसरी समेट्ने विषयमा छलफल जारी छ। त्यो टुंगो लागेपछि मस्यौदाले अन्तिम रूप पाउनेछ। सम्भवतः बेलुकासम्म दुईबीच हस्ताक्षर पनि हुनसक्छ,' स्रोतले अन्नपूर्णसँग भन्यो।
प्रतिक्रिया दिनुहोस !