नुहाउन गएकी युवती खोलामा मृत फेला
विराटनगर : घरबाट नुहाउनलाई भनेर हिँडेकी एकजना युवती मोरङको ग्रामथान गाउँपालिका–४ चपरमाडीस्थित लोहन्द्रा खोलामा आइतबार राति मृत फेला परेकी छन् । खोलामा डुडिरहेको अवस्थामा ग्रामथान–६ की २६ वर्षीय पूजा माझीको शव फेला परेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् ।
उनका अनुसार नुहाउन भनेर खोलामा गएकी पूजालाई आइतबार राति १० बजेतिर डुबेर मृत्यु भएको अवस्थामा फेला पारिएको हो । कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाइएको जानकारी चुँडालले दिइन् ।
अविवाहित रहेकी पूजाको मृत्युको कारण यकिन हुन सकिरहेको छैन । 'नुहाउनलाई भनेर घरबाट हिँडेको पाइयो । खोलामा डुबिरहेको अवस्थामा राति अबेर शव फेला परेको छ । हालसम्म मृत्युको कारण पत्ता लागेको छैन,’चुँडालले भनिन् । उनका अनुसार नुहाउने क्रममा कठ्यांग्रिएर मृत्यु भएको हो कि घटनाको अन्य कुनै कारण छ भनेर पत्ता लगाउन अनुसन्धान तीव्र पारिएको छ ।
मृत फेला परेकी पूजा करिब १०–१२ वर्षदेखि छारेरोग (मिर्गी)को बिरामी रहेको जानकारी परिवारका सदस्यले प्रहरीलाई दिएका छन् । मृत्युको कारण पत्ता लगाउन इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस !