खानेपानीको चर्को समस्या, रित्तिदै मधुलेख
अर्घाखाँची : आजभन्दा ६ वर्षअघि पाणिनि गाउँपालिका–८ को मधुलेख गाउँमा झन्डै ७० घरपरिवार बसोबास गर्थे। अहिले मुस्किलले मधुलेखको गाउँमा २५ घरपरिवार मात्र बसोबास गर्छन्।
चिटिक्क परेको गाउँसम्म परेको बारीका पाटा, खेती हुने मलिलो र समथर भूभाग भए पनि यस गाउँबाट बसाइँसराइ गर्नुको मुख्य कारण भनेको खानेपानी रहेको मधुलेखका स्थानीय विवेक पन्थीले बताए।
उनी भन्छन्, ‘म मधुलेख गाउँको एक साधारण नागरिक हुँ। आज २१औं शताब्दीमा पनि मेरो गाउँका मानिसहरूले पिउने पानीको चरम अभाव झेलिरहेका छन् भन्ने कुरा भन्नु अत्यन्त पीडादायक छ। यहाँका मानिसहरू आफ्नो घरबाट टाढा–टाढा डोको र गाग्री बोकेर थोरै पानीको आशामा हिँड्न बाध्य छन्। एक–दुई गाग्री पानी ल्याउन पनि घण्टौं समय लाग्छ।’
पाणिनि गाउँपालिकाको केन्द्र दुर्गाफाँटबाट १ घण्टाको पैदल दूरीमा यो समथर चिटिक्क परेको मधुलेख गाउँमा पुग्न सकिन्छ। पहिले चिदिका गाविसमा पर्ने यो गाउँ स्थानीय पालिकाको संरचनाअनुसार पाणिनि गाउँपालिकामा पर्छ। गाउँमा मोटरबाटो पुगेको छ। बिजुली पुगेको छ। तर, खानेपानीको अभावले गाउँ रित्तिदै गएको छ। बसाइँसराइ बढेपछि खेतीयोग्य जमिन पनि बाँझिदै
गएको छ।
पानीकै कारण मानिस धमाधम गाउँ छाडेर तराई तथा विभिन्न क्षेत्रमा लागिरहेका छन्। स्थानीय कृष्णप्रसाद पन्थीले भने, ‘निर्वाचनका समयमा सबै नेताहरू आएर पर्याप्त खानेपानी ल्याइदिने चिल्ला कुरा गर्छन्। तर, निर्वाचन जितेपछि वास्तै गर्दैनन्।’ ‘अधिकांश मानिसहरू पानी खान नसकेर हिँडिसके। जहिले पनि नेताहरू पालिकामा आउनुभयो। वडामा आउनुभयो। आश्वासन धेरै दिनुभयो तर मधुलेखले पानी खान पाएन।’
गाउँमा युवाहरू छैनन्। वृद्धवृद्धा र महिलाहरू मात्र बसोबास गर्छन्। मधुलेखमा मात्र होइन। पाणिनि गाउँपालिकामा पनि पछिल्लो समय बसाइँसराइ बढ्दो छ। २०७५ सालको वैशाखदेखि २०८२ मंसिर मसान्तसम्म पाणिनि गाउँपालिकाबाट ८६० घरपरिवार बसाइँसराइ गरेर गएको नेपाल सरकारको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको तथ्यांक छ। तीव्र बसाइँसराइले अर्घाखाँचीमा खेतीयोग्य जमिन बाँझिदै गएको छ। एक दशकमा ७ हजार ३ सय ६२ हेक्टर जमिन बाँझिएको छ। खेतीयोग्य जमिन बाँझिदै जाँदा आगामी दिनमा खाद्य संकट निम्तिन सक्छ।
बसाइँसराई तीव्र भएपछि खेतीयोग्य जमिन बाँझिदै छन्। कृषि विकास कार्यालय, अर्घाखाँचीको तथ्यांकअनुसार, ३० वर्ष अघि ४५ हजार ७ सय १२ हेक्टर क्षेत्रफलमा खेती हुन्थ्यो। २०७० मा खेतीयोग्य जमिन घटेर २८ हजार ६ सय नौ हेक्टरमा खुम्चिएको थियो। कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेका भनाइमा, अहिले २१ हजार २ सय ४७ हेक्टर क्षेत्रफलमा खेती हुन्छ। दशकमै ७ हजार ३ सय ६२ हेक्टर खेतीयोग्य जमिन बाँझो भएको छ। नेपाल सरकार गृह मन्त्रालय, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको व्यक्तिगत घटनादर्ताको तथ्यांकअनुसार जिल्लाको बसाइँसराइ दर बिकराल छ। अर्घाखाँचीबाट पाँच वर्षयता ५ हजार ८२ घरपरिवारले बसाइँ सरेका छन्। अर्थात् एक घरमा ५ जनाको हिसबलै औसत निकाल्दा पनि झन्डै २५ हजार मानिसले जिल्ला छाडेका छन्।
२०६८ को राष्ट्रिय जनगणनाअनुसार अर्घाखाँचीको कुल जनसंख्या १ लाख ९७ हजार ६ सय ३२ थियो। २०७८ को राष्ट्रिय जनगणनाअनुसार यहाँको जनसंख्या १ लाख ७७ हजार ८६ रहेको छ। १० वर्षको जनसंख्या हेर्दा २० हजार ५ सय घटेका छन्।
प्रतिक्रिया दिनुहोस !