तीन सन्तान जन्माउनेलाई गाउँपालिकाबाट मासिक भत्ता
स्याङ्जा : कालीगण्डकी गाउँपालिकाले एक जोडीबाट तीन सन्तान जन्माउनेलाई प्रोत्साहन स्वरुप नगद उपलब्ध गराएको छ । जनसंख्या बृद्धिदर बढाउने उद्देश्यले गाउँपालिकाले सञ्चालन गरेको कार्यक्रम अन्तर्गत यस वर्ष १७ परिवारलाई जनही ४÷४ हजार नगद प्रोत्साहन स्वरुप सो रकम उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले कार्यविधिअनुसार तेस्रो सन्तान जन्माउने परिवारलाई दुई वर्षसम्म मासिक ४ हजार रुपैयाँका दरले प्रोत्साहन रकम उपलब्ध गराउने जनाएकोे छ । कार्यक्रममार्फत परिवारमा सन्तानप्रतिको सकारात्मक सोच विकास गर्ने, घट्दो जन्मदरलाई सन्तुलनमा ल्याउने र पोषणमैत्री स्थानीय शासनलाई प्रभावकारी बनाउने लक्ष्य लिइएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष सावित्रा कोइरालाले जानकारी दिइन् ।
अध्यक्ष कोइरालाका अनुसार ‘तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता प्रदान गर्ने कार्यविधि–२०८२’ अनुसार मापदण्ड पूरा गरेका १७ परिवारले आर्थिक वर्ष २०८२/८३ मा अनुदान पाएका हुन् । कार्यविधि अनुसार, ‘गाउँपालिकाभित्र स्थायी बसोबास गर्नेले २०८२ साल साउनभन्दा पछाडि तेस्रो सन्तान जन्माएको परिवारले आवश्यक कागजातसहित सम्बन्धित वडा कार्यालयमा निवेदन पेस गर्न पालिकाले अनुरोध गरेको थियो ।’
पछिल्ला वर्षमा जन्मदर निरन्तर घट्दै गएपछि गाउँपालिकाले सो अभियान सञ्चालनमा ल्याएको जनाएको छ । यसका लागि परिवारले आमा–बुबाको नागरिकता, तीनै सन्तानको जन्मदर्ता, विवाहदर्ता प्रमाणपत्र, तेस्रो सन्तान नेपाल सरकारबाट सूचीकृत स्वास्थ्य संस्थामै जन्मिएको हुनुपर्ने र सोही गाउँपालिकाको बासिन्दा भएको कागजात पेश गर्नुपर्ने व्यवस्था छ ।
घट्दो जनसंख्या बृद्धिदरलाई नियन्त्रण गर्ने उद्देश्यले परिवारलाई सन्तानप्रतिको सकारात्मक प्रेरणा दिने तथा दीर्घकालीन जनसंख्या सन्तुलनमा राख्ने तथा पोषणमैत्री स्थानीय शासन कार्यान्वयनको उद्देश्यले गाउँपालिकाले तीन सन्तान जन्माउने परिवारलाई मासिक चार हजार रुपैयाँ दिने नीति लिएको थियो । स्थानीय सरकारले जनसंख्या सन्तुलन, मातृ तथा शिशु स्वास्थ्य प्रवर्द्धन र परिवारलाई प्रोत्साहनका लागि सुरु गरेको यो कार्यक्रम स्याङ्जा जिल्लामै पहिलो र फरक खालको देखिएको छ ।
प्रतिक्रिया दिनुहोस !