राष्ट्रिय विभूति भीमसेन थापाप्रति श्रद्धाञ्जली अर्पण
काठमाडौं : भीमसेन थापाको जन्म जयन्तीका अवसरमा राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठान र बगाले थापा क्षेत्री राष्ट्रिय फाउण्डेशन, नेपालले शनिबार काठमाडौंको धरहरा परिसरमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो । सो क्रममा प्रधानसेनापति अशोकराज सिग्देलले थापाको तस्बिरमा माल्यार्पणसहित पुष्पगुच्छा अर्पण गरी सम्मान प्रकट गरे ।
समारोहमा सहभागीहरुले भीमसेन थापाका योगदानहरुको स्मरण गरेका थिए । नेपाल एकीकरणको प्रमुख अध्याय समाप्त भएको करिव छ वर्षपछि विसं १८३२ साउन ९ गते बगाले थापाकुलका पिता साना अमरसिंह थापा र माता सत्यरूपातर्फका पाँच भाइ छोरामध्ये जेठा छोराका रूपमा भीमसेन थापाको जन्म गोरखा बोर्लाङमा भएको थियो ।
विसं १८५५ मा २३ वर्षकै उमेरमा उनले सरदार पदवी प्राप्त गर्न सफल भएका थिए । राष्ट्रिय स्वाभिमान, स्वाधीनता र स्थायित्वका लागि अङ्ग्रेजसँग युद्ध गरेका थापाले जेलमा बन्दी अवस्थामै १८९६ साउन ८ गते प्राण त्याग गर्ने प्रयास गरेको आठ दिनपछि वीरगति प्राप्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस !