सासू र ससुरालाई खानामा विष : भतिजी बुहारीलाई थुनामा राख्न आदेश

सासू र ससुरालाई खानामा विष : भतिजी बुहारीलाई थुनामा राख्न आदेश

विराटनगर : वृद्ध अवस्थाकी काकी सासू र काका ससुरालाई खानामा विष मिसाएर खुवाउने भतिजी बुहारीलाई जिल्ला अदालत मोरङले थुनामा पठाउन आदेश दिएको छ। अदालतको आदेशपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलमा बस्दै आएकी ३२ वर्षीया सुनिता कार्की कारागार चलान गरिएको छ। न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले सुनितालाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न बिहीबार आदेश दिएको हो।

अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार थुनामा राख्नुपर्ने आदेश आएपछि उनलाई मोरङ कारागार चलान गरिएको छ। प्रहरी अनुसन्धानबाट सुनिताले मंसिर २० गते काकी सासू ७७ वर्षीया इन्द्रमाया राई र काका ससुरा ७० वर्षीय भक्तबहादुर राईलाई खाना विष मिसाएर खुवाएको पत्ता लागेको छ। विष मिसाएर खुवाउँदा इन्द्रमायाको मृत्यु भएको थियो भने भक्तबहादुर विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचार गराएर निको भएपछि फर्किएका छन्। 

सुनिताविरुद्ध प्रहरीले कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान गरेको थियो। अनुसन्धान सकेर प्रहरीले मिसिल (अनुसन्धान प्रतिवेदन) बुझाएपछि सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार पार्दै मोरङ अदालतमा मुद्दा दायर गरेको हो। अदालतमा सुनिताको बयान सकिएपछि वादी नेपाल सरकार र प्रतिवादीतर्फका कानुन व्यवसायीबीच थुनछेक बहस भएको थियो। थुनछेक बहस सकिएपछि तत्काल प्राप्त प्रमाणका आधारमा पछि ठहरे बमोजिम हुने गरी उनलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश भएको जानकारी अदालतका सूचना अधिकारी बुढाथोकीले दिए। 

अनुसन्धानका क्रममा सुनिताले ‘घरमा धेरै कराएको रिसमा आफूले काकी सासू र काका ससुरालाई खानामा विष मिसाएर खुवाएको’ बयान दिएकी छन्। मंसिर २० गते दिउँसो घरनजिकको खोल्सामा बेहोस अवस्थामा भेटिएका ७० वर्षीय भक्तबहादुरलाई स्थानीयले उद्धार गरेर घरमा ल्याउँदा उनकी पत्नी ७७ वर्षीया इन्द्रमायासमेत बेहोस अवस्थामा ढलिरहेकी थिइन्। घर वरपर हेर्दा खोरमा रहेका ३ वटा कुखुरासमेत मरिरहेको अवस्थामा भेटिए। बेहोस अवस्थामा भेटिएका वृद्ध दम्पतीलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। आईसीयूमा उपचाररतमध्ये इन्द्रमायाको मृत्यु भएको हो। त्यसै दिन प्रहरीले भतिजी बुहारी सुनितालाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याएको थियो। अँगेनोमा हालेर जलाइएको अवस्थामा विषादीको बट्टा पनि घटनास्थलबाट प्रहरीले बरामद गरेको थियो। 

प्रहरीको अनुसन्धानबाट सुनिताले पारिवारिक झगडाका क्रममा वृद्ध अवस्थाका सासू र ससुरालाई खानामा विष मिसाएर खुवाएको पत्ता लागेको छ। वृद्ध दम्पतीले आफूले खाएर उब्रिएको खाना खान दिँदा कुखुरा पनि मरेको पाइएको हो। भक्तबहादुर राई र इन्द्रमाया राईका आफ्ना सन्तान छैनन्। वृद्ध दम्पतीसँग भतिजो प्रशान राई र उनकी श्रीमती सुनिता कार्की बस्दै आएका थिए। प्रशान घर बाहिर रहेका बेला सुनीताले काकी सासू र काका ससुरालाई खानामा विष मिसाएर खुवाएको पत्ता लागेको प्रहरीले जनाएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.