कांग्रेस महाधिवेशन, वैशाखमा नियमित कि पुसमै विशेष ?
काठमाडौं : महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कांग्रेसको १५औं विशेष महाधिवेशन पुस २६ देखि २८ सम्म गर्ने भन्दै भृकुटीमण्डपको हल बुकिङ गरेपछि कांग्रेसमा हलहच पैदा भयो । सभापति शेरबहादुर देउवा पक्षको सहमतिबिनै महामन्त्रीद्वयको निर्णयमा विशेष महाधिवेशनको मिति तोकिएपछि कांग्रेस विभाजन हुने त होइन भन्ने आशंका व्यक्त गरिए । लगत्तै संस्थापन पक्षले शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो ।
बैठकले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि वैशाखमा मात्र पार्र्टीको १५औं महाधिवेशन गर्ने निर्णय गर्यो । यद्यपि, महामन्त्रीद्वय थापा र शर्माले भने पुसमै विशेष महाधिवेशन गर्नुपर्ने अड्डी कस्दै संस्थापन पक्षको निर्णयमा फरक मत राखेका छन् । उनीहरूले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि हस्ताक्षर बुझाइसकेको भन्दै पुस २७ देखि विशेष महाधिवेशन हुने दाबी गरेका छन् । महामन्त्रीद्वयको यो अडानले कांग्रेस विवाद झन् पेचिलो बनेको छ ।
यसैकारण महाधिवेशनको विषयलाई लिएर कांग्रेसको द्वन्द्व उत्कर्षमा पुगेको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको १५ औं महाधिवेशनको मिति वैशाखमा धकेलेको छ । अर्कोतिर नियमित महाधिवेशन नहुने निश्चित भएपछि महामन्त्रीद्वय थापा र शर्मा विशेष महाधिवेशन बोलाउने तयारीमा लागेका छन् ।
महामन्त्रीद्वयले विशेष महाधिवेशनको निर्णय गर्ने जानकारी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइसकेका छन् । उक्त जानकारी प्राप्त गरेपश्चात् सभापति देउवाले बिहीबार महामन्त्रीद्वयलाई छलफलमा बोलाएका थिए । तर, महामन्त्रीहरूसँग नभेटी देउवाले आफू निकटका नेतालाई भेटेर कार्यसम्पादन समितिको बैठक बोलाए । उक्त बैठकले वैशाखमा महाधिवेशन गर्ने बहुमतले निर्णय गरेको हो ।
शुक्रबारको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले २०८३ को वैशाखमा पार्टीको महाधिवेशन गर्न प्रस्ताव गरे । उनले २०८३ वैशाख २८, २९, ३० र ३१ गते काठमाडौंमा नियमित महाधिवेशनका लागि गरेको प्रस्ताव बहुमतले पारित गरेको थियो । खड्काको प्रस्तावमा आगामी चैत २१ गते गाउँ, नगर र वडा अधिवेशन गर्ने, गाउँ र नगरपालिका अधिवेशन चैत २५ गते तथा प्रदेश सभा अधिवेशन चैत २८ गते गर्ने भनिएको छ ।
त्यस्तै, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २०८३ वैशाख २ गते, दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्ला अधिवेशन २०८३ वैशाख ५ गते गर्ने भनेर गरिएको प्रस्ताव बहुमतले पारित गरेको थियो । सो प्रस्तावमा २०८३ वैशाख १०, ११ र १२ गते प्रदेश अधिवेशन गर्ने भनिएको छ ।
सभापति देउवाको म्याद थपियो
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिको म्याद आगामी जेठ मसान्तसम्म थपिएको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति खड्काले कार्यकाल थप्न गरेको प्रस्ताव पारित भएको हो । यसमा कांग्रेसका सबै तह र निकायको कार्यकाल आगामी जेठ मसान्तसम्म थप्ने निर्णय भएको छ । अहिलेको विशेष परिस्थितिका कारण सबै तह र निकायको म्याद थप्नुपर्ने भएकाले प्रस्ताव राखिएको र उक्त प्रस्तावलाई पारित गरिएको हो । कार्यवाहक सभापति खड्काले राखेको प्रस्तावमा ‘यो विशेष परिस्थितिमा कांग्रेसको विधान, २०१७ ‘संशोधनसहित’ को धारा ४३ बमोजिम पार्टीका सबै तह र निकायका पदाधिकारी तथा सदस्यहरूको पदावधि २०८३ जेठ मसान्तसम्म’ थप्ने भन्ने प्रस्ताव पारित भएको हो ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रस्ताव पारित गरेसँगै कांग्रेसका सबै तह र निकायको म्याद आगामी २०८३ जेठ मसान्तसम्म थपिएको छ ।
कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले विशेष महाधिवेशनको औचित्य मंसिर १५ बाटै समाप्त भइसकेको बताएका छन् । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महाधिवेशनको कार्यतालिका हेरफेर गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अहिले पार्टी १५औं महाधिवेशनमा प्रवेश गरिसकेको बताए । उनले भने, ‘चुनावको कारणले यसअघिको कार्यतालिका प्रभावित भएको कारणले केही समय पर धकेलिएको हो ।’
कांग्रेस नेता विमलेन्द्र निधिले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेकाले कुनै पनि भेलाको केही अर्थ नभएको बताएका छन् । मंसिर १५ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सर्वसम्मतिबाट नियमित कार्यतालिका पास भएपछि विशेष महाधिवेशनको औचित्य त्यसै समाप्त भएको उनले दाबी गरे ।
‘जुन दिन पुस २६ देखि २८ सम्म नियमित महाधिवेशन हुन्छ भनेर सर्वसम्मतिले निर्णय भयो त्यसै दिनदेखि विशेष महाधिवेशनको औचित्य समाप्त भएको हो, विशेष महाधिवेशन नगर्ने बारेमा १५ गते नै टुंगो लागिसकेको छ ।’ निधिले भने, ‘सबै दल निर्वाचनमा होमिइसकेकाले निर्वाचनअगाडि विशेष वा नियमित महाधिवेशन कुनै पनि महाधिवेशन हुन नसक्ने भन्दै उनले अगाडि भने, ‘केन्द्रीय कार्यसमितिले जे निर्णय गरेको छ त्यसको कार्यान्वयन गर्नु महामन्त्रीको काम हो । केन्द्रीय कार्यसमितिले त अहिले विशेष महाधिवेशन गर्ने भनेर निर्णय गरेको छैन, त्यसैले विशेष महाधिवेशनका लागि आह्वान गर्नु भनेको केन्द्रीय कार्यसमितिको निर्णयविपरीत काम हो ।
कांग्रेस नेता रमेश लेखकले विशेष महाधिवेशन हुने अवस्था नरहेको प्रस्ट पारेका छन् । उनले भने, नियमित प्रक्रिया अघि बढेपश्चात् विशेष महाधिवेशन हुँदैन । अहिले विशेष महाधिवेशन हुने अवस्था छैन ।’विधानको धारा ४३ प्रयोग गरेर केन्द्रीय समितिमा प्रस्ताव राखियो । हामीले ४, ५ जना साथीहरूले फरक मत राख्यौं । यद्यपि, प्रस्ताव पास गरेर पारित गरियो ।
विशेष पक्षधर भन्छन् : पुस महिनामा महाधिवेशन हुन्छ
कांग्रेसका महामन्त्री गगनकुमार थापाले नियमित महाधिवेशनको मिति वैशाख २८ देखि ३१ मा गर्ने प्रस्ताव बहुमतले पारित भए पनि विशेषको विषय नटुंगिएको बताएका छन् । उनले विधानको धारा १७ ‘२’ अनुसार नै पुस मसान्तभित्र विशेष महाधिवेशन आह्वान हुने दाबी गरे । शुक्रबारको कार्यसम्पादन बैठकपछि महामन्त्री थापाले भने, ‘कार्यवाहक सभापतिले कार्यविधि थप्दै महाधिवेशन वैशाखमा गर्ने प्रस्ताव गर्नुभएको छ । धारा ४३ को प्रयोग गरेर प्रस्ताव राख्नुभयो । हामी ४, ५ जनाको फरक मत भयो तर बहुमतले पारित भयो । विशेष महाधिवेशन माग गरेर पत्र बुझाएको ३ महिनाभित्र बोलाउनु पर्नेछ । पुसको २८ र २९ तीन महिनाको अन्तिम म्याद हो ।’
मंसिर १५ को केन्द्रीय समितिको बैठकले कम्तीमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेअनुसार विशेष महाधिवेशन नियमित महाधिवेशन हुने अवस्थामा मात्रै त्यो स्थगित हुने भनिएको तर नियमित नभए उक्त माग सम्बोधन गर्नुपर्ने अवस्था सुरु हुने थापाको भनाइ छ ।
उनले अब विशेष महाधिवेशनबारे निर्णय हुने पनि बताए । ‘आजको बैठकमा फरक मत लेख्यौं, घर गयौं सुत्यौं भन्ने होइन । अझै एकदुई दिन हेर्छौं । सभापतिले, कार्यवाहकले भोलि नै बैठक राखेर विधानको धाराअनुसार विशेष बोलाउनुभयो भने उत्तम हुन्छ । हैन थप्यौं सबै घर जाऔं भन्नुभयो भने यो मान्दैनौं । यस्तो अवस्थामा विधान १७ को २ को पालना मैले गर्छु, गराउँछु ।’
‘मन लागेको विषयमा विधान हेर्ने, मन नलागेको विषयमा विधान नहुने भन्ने हुँदैन । विशेष महाधिवेशनबारे निर्णय हुनैपर्छ । एक–दुई दिन केन्द्रीय कार्यसमितिलाई पर्खिने भन्दै उनले भने, ‘केन्द्रीय कार्यसमितिले आयोजना गर्ने वा नगर्ने एक–दुई दिनमा प्रस्ट हुन्छ । थापाले देशभरका महाधिवेशन प्रतिनिधिलाई आह्वान गर्दै भने, ‘पुस मसान्तभित्र विशेष महाधिवेशनका लागि काठमाडौं आउने तयारी गर्नुहोला । ‘थापाले भने, ‘केन्द्रीय कार्यालय भनेको महामन्त्रीको हो । केन्द्रीय कार्यालयको आयोजनामा विशेष महाधिवेशन हुन्छ ।’
महामन्त्री थापाले विशेष महाधिवेशनमा सहभागी हुन देशभरिका नेता र कार्यकर्तालाई आह्वान गरेका छन् । विशेष महाधिवेशनको कार्यविधि पनि बनाइने उनको भनाइ छ । केन्द्रीय कार्यसमितिले महाधिवेशन गर्यो भने कार्यविधि पनि उसैले बनाउँछ । बैठक भएन भने विशेष महाधिवेशनले कार्यविधि आफैं बनाउँछ ।’
महामन्त्री थापाले पार्टी फुटको हल्ला नगर्न आग्रह पनि गरेका छन् । उनले विधानको पालना नगर्ने नेताहरूले नै पार्टी फुट्ने भ्रम फैलाइरहेको बताए ।’ थापाले अगाडि भने, ‘यो प्रांगणमा उभिएर भन्दैछु । भदौ २३ र २४ पछि अथवा अघिको अवस्था एउटै होइन । जस्तोसुकै अवस्था आए पनि, जुनसुकै विषम परिस्थिति होस । पार्टी फुट्दैन, पार्टी फुट्न दिँदैनौं । जसले पार्टी फुट्छ भनिरहेका छन्, जवाफ पनि उसैले दिनुपर्छ ।’ कांग्रेसमा विशेष महाधिवेशन जसरी पनि गर्नैपर्ने भन्दै नेताहरूले पार्टी नेतृत्वमाथि दबाब बढाएका छन् । शुक्रबारको कार्यसम्पादन समितिको बैठकपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन नहुने भएसँगै विशेष महाधिवेशन गर्नुपर्ने माग गरेको अवस्थामा अन्य नेताहरूले पनि विशेष महाधिवेशनको विकल्प नरहेको बताएका छन् ।
थापाले पार्टीमा विशेष महाधिवेशनको व्यवस्था किन राखेको ? भन्दै सभापतिलाई प्रश्न गरेका छन् ।
‘अहिलेसम्म मेरो अपेक्षा भनेको पार्टी सभापतिज्यूले पटकपटक पार्टी फुट्न दिन्नँ, पार्टीलाई अप्ठेरोमा पर्न दिन्नँ, कम्तीमा मेरो जीवनमा पार्टीलाई अप्ठेरामा पर्न दिन्नँ भन्नुभएको हुनाले, पहिलो कुरा यो विशेष महाधिवेशन उहाँ शेरबहादुर देउवाले नै डाक्नुहुन्छ, केन्द्रले नै डाक्छ । नहुँदै गर्दा पनि विशेष महाधिवेशनमा जाने मेरो जिम्मेवारी हो भन्ने विश्वास राखेर मैले बोल्छु । त्यो विश्वासभन्दा पर म जान्नँ ।’
शुक्रबारै विशेष पक्षधरले पत्रकार सम्मेलन गर्दै नेताहरूले जसरी पनि पुस २७ र २८ मा विशेष महाधिवेशन गर्नुपर्ने बताएका थिए । ‘अब स्पष्ट छ, कांग्रेससँग विशेष महाधिवेशनबाहेक अन्य कुनै विकल्प बाँकी रहेन । विशेष महाधिवेशन, महाधिवेशन प्रतिनिधिको विशेष वैधानिक अधिकार हो । यो कसैको छनोटको विषय होइन, रहेन । कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले आफ्नो विधानको बाध्यकारी व्यवस्था नमान्ने हो भने संविधान, विधिको शासनको वकालत गर्दै नागरिकमा जाने नैतिक धरातल कसरी रहन्छ ?
विशेष महाधिवेशन पक्षले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘अतः पार्टी विधानभन्दा माथि कोही पनि हुन सक्दैन । विधानको बाध्यकारी व्यवस्थाको पालना गर्नु पार्टी नेतृत्वको न्यूनतम जिम्मेवारी हो ।’
विधानले तोकेको समयसीमा माग भएको तीन महिना अर्थात् २०८२ पुस २८ भित्रै विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नैपर्ने हुँदा विधानको सीमाभित्र रही हामी विशेष महाधिवेशन मागकर्ताहरूको निवेदनअनुसार आगामी पुस २७ – २८ मा विधानको धारा १७ (२) बमोजिम केन्द्रले विशेष महाधिवेशन गर्न माग गरिएको छ ।
विशेष महाधिवेशनलाई कसैको जित र हारको रूपमा नलिई पार्टीको एकता कायम राख्न तथा पार्टीको आन्तरिक लोकतन्त्र जोगाउँदै जनताप्रति जवाफदेही बन्ने अवसरको रूपमा ग्रहण गर्न आग्रह गरिएको छ ।
वैशाखमा महाधिवेशन गर्ने निर्णयमा ५ जनाले राखे फरक मत
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मासहित ५ जनाले फरक मत राखेका थिए । महामन्त्री थापाले भने, ‘आजको बैठकमा कार्यवाहक सभापतिले कार्यविधि थप्दै महाधिवेशन वैशाखमा गर्ने प्रस्ताव गर्नुभयो । धारा ४३ को प्रयोग गरेर प्रस्ताव राख्नुभयो । हामी ४, ५ जनाको फरक मत भयो तर, बहुमतले पारित भयो ।’
नेता अर्जुननरसिंह केसी, फर्मुल्ला मन्सुर र उमा रेग्मीले फरक मत राखेका हुन् । उनीहरूले बैठकमा नियमित तालिका ल्याए पनि विशेष महाधिवेशनको मागबाट भाग्न नमिल्ने भन्दै स्पष्ट अडान राखेका थिए ।
महामन्त्री शर्माका तीन प्रस्ताव
कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनका लागि तीनवटा प्रस्ताव राखेका छन् । शुक्रबार छलफलका लागि आएका २५ बढी केन्द्रीय सदस्यसँग शर्माले केन्द्रीय समितिले नै आह्वान गर्ने गरी तीनवटा प्रस्ताव गरेका हुन् ।
शर्माले भने, ‘पहिलो, केन्द्रीय समितिले नै बैठक आह्वान गरेको अवस्थामा पुस २६ गते महाधिवेशन बोलाउने र नीति र नेतृत्व चयन भने २७ गते गर्न सकिन्छ ।’ ‘दोस्रो – केन्द्रीय समितिले नै बोलाउने र यसलाई नीति महाधिवेशनका रूपमा गरेर संकल्प महाधिवेशनमा रूपान्तरण गर्ने । यी दुवै भएनन् भने तेस्रो विकल्प हो विधानअनुसार अहिलेको मागअनुसार विशेष महाधिवेशन गर्ने ।’
शर्माले कांग्रेसमा जारी समस्या समाधान गर्न कुनै ठूलो कुरा नभएको भन्दै भने, ‘कांग्रेसले सबै समस्या मुस्कुराउँदै हल गर्छ । विधानअनुसार अगाडि बढौं, पार्टी फुट्दैन । पार्टी एकढिक्का रहन्छ । यो आशंका नपाल्नुहोस् । पार्टी फुटाउने कुरा हुन्न ।’
‘नेतृत्व का लागि नभई नीतिका लागि पनि कांग्रेस पार्टी यतिबेला विभाजन हुँदैन । अहिलेको परिस्थितिमा महाधिवेशन गरेर नेतृत्व परिवर्तन गरेर जानुपर्छ । नियमित नहुँदा विशेषको विकल्प छँदैन । छोटो समयमा नयाँ नेतृत्व लिएर निर्वाचनमा जान सकिन्छ भन्ने हाम्रो प्रयास हो । सिंगो समाजलाई एकताबद्ध बनाएर लैजानुपर्छ ।
- केन्द्रीय कार्यसम्पादन समितिले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि वैशाखमा मात्र पार्र्टीको १५औं महाधिवेशन गर्ने निर्णय गरेको छ।
- महामन्त्रीद्वय थापा र शर्माले भने पुसमै विशेष महाधिवेशन गर्नुपर्ने अड्डी कस्दै संस्थापन पक्षको निर्णयमा फरक मत राखेका छन्।
- महाधिवेशनको विषयलाई लिएर कांग्रेसको द्वन्द्व उत्कर्षमा पुगेको छ।
- कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिको म्याद आगामी जेठ मसान्तसम्म थपिएको छ।
- प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २०८३ वैशाख २ गते गर्ने निर्णय।
विशेषको विपक्षमा लागेका शेखर के भन्छन् ?
कांग्रेस नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशन माग्दैमा मात्र महाधिवेशन पूरा नहुने बताए । ‘महामन्त्रीजीहरूले नै बोल्नुभएको विशेष महाधिवेशनको पनि प्रक्रिया होला,’ कोइरालाले भने, ‘कसले गर्ने विशेष महाधिवेशन ? कि त केन्द्रीय समितिले भन्नुपर्यो, यसको पनि विधि होला । नेपाली कांग्रेसका महामन्त्रीहरू आपैंm विशेष महाधिवेशनको कुरा गर्नुहुन्छ भने त भएन नि कुरा एकदम स्पष्ट छ । केन्द्रीय समितिले निर्णय गर्नुपर्यो ।’
विशेष महाधिवेशनका लागि कार्यविधि बन्नुपर्ने भए पनि उक्त कार्यविधि नबेनको कोइरालाले स्पष्ट गरे । ‘खाली महाधिवेशनका लागि महाधिवेशन हैन ? कस्तो गर्ने कसले गर्ने ? भन्ने कुरा हो,’ कोइरालाले भने, ‘त्यसका लागि केन्द्रीय समितिले कार्यविधि बनाउनुपर्छ । जसले क्रियाशील सदस्यताको जिम्मा लिनुभएको छ, किन अभैm सकिएको छैन । नवीकरण पनि ९ वटा जिल्लाको आएको छैन भनिएको छ । सिरियल नम्बर नहाली कसले पठाउने भनेको थियो ? किन भयो ढिला ? त्यसैले भएको हो । दोष लगाएर मात्र हैन कमजोरी हामी सबैबाट भएको छ । कमजोरी भएको छ, यसलाई सुधार्दै जाने हो ।’
हस्ताक्षर फिर्ता लिनेको लर्को
विशेष महाधिवेशनको मिति तोकिएपछि कांग्रेसका केही कार्यकर्ताले हस्ताक्षर फिर्ता लिन थालेका छन् । नियमित महाधिवेशनका निम्ति दबाब दिन गरिएको हस्ताक्षरबाट उनीहरू पछि हटेका हुन् ।
कैलालीका केही महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिइएको भन्दै विज्ञप्ति जारी गरेका छन् । हस्ताक्षर फिर्ता लिनेमा कैलाली–५ बाट महाधिवेशन प्रतिनिधि रहेकी रीता भण्डारी पनि छिन् ।
यस्तै, कैलाली–२ का महाधिवेशन प्रतिनिधि कर्णबहादुर चौधरी, दीपा बडायक, प्रेमबहादुर विष्ट, शिवा थापा, बिसुदेवी बडुवाल र रंगबहादुर
सुनार छन् ।
उनीहरूले विगतमा नियमित महाधिवेशनका निम्ति दबाब दिन गरिएको हस्ताक्षरलाई विशेषका लागि भनेर प्रयोग गर्न खोजिएकोे आरोप लगाएका छन् । महामन्त्रीद्वय थापा र शर्माले यही पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने गरी मिति तोकेका छन् । ‘नेपाली कांग्रेस विशेष महाधिवेशन आयोजक समिति २०८२’ का नाममा काठमाडौंको भृकुटीमण्डपस्थित ‘हल बुक’ समेत गरिएको छ ।
कांग्रेसको विधानमा के छ व्यवस्था ?
विशेष महाधिवेशन कांग्रेसको विधानमै भएको व्यवस्था हो । कांग्रेसको विधानअनुसार तीनवटा अवस्थामा पार्टी विशेष महाधिवेशनमा जान सक्छ । पहिलो, विधानको धारा १७ ‘२’ बमोजिम केन्द्रीय कार्यसमितिले आवश्यकता महसुस गरे विशेष महाधिवेशन बोलाउन सक्छ ।
दोस्रो, सोही धाराअनुसार केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्र समक्ष लिखित अनुरोध गर्न सक्छन् । ‘केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्र समक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्नेछ ।’ विधानको धारा १७ ‘२’ मा भनिएको छ ।
तेस्रो, केन्द्रीय सभापतिले पदबाट राजीनामा दिएमा वा कुनै कारणले पद रिक्त हुन गएको अवस्थामा पनि विशेष महाधिवेशन आयोजना गरेर नयाँ नेतृत्व छनोट गर्ने विधानमा व्यवस्था छ ।
विधानको धारा २६ अन्तर्गत ‘केन्द्रीय सभापतिको राजीनामा’ राखेर विधानमा निम्नानुसार लेखिएको छ । केन्द्रीय सभापतिले राजीनामा दिन चाहेमा उप–सभापतिमार्फत केन्द्रीय कार्यसमितिमा प्रस्तुत गर्नुपर्ने छ । अर्को केन्द्रीय कार्यसमितिले राजीनामा स्वीकृत गरेमा उप–सभापतिले कार्यवाहक सभापति भई कार्यभार सम्हाल्ने छ र ६ महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाई केन्द्रीय सभापतिको
निर्वाचन गरिनेछ ।
तेस्रो कारण अन्य कुनै कारणबाट केन्द्रीय सभापतिको पद रिक्त हुन आएमा उपधारा ‘२’ बमोजिम गरिने छ । तर, विधानमा विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने, चयन भएको नेतृत्वको कार्यकाल कति हुने लगायतका अन्य प्रावधानबारे विस्तृत व्याख्या भने गरिएको छैन ।
विधानले तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउने भने पनि महाधिवेशन कसरी आयोजना गर्ने, त्यसबाट चुनिने नेतृत्वकोे कार्यकाल कति हुने, कति समयपछि महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने भन्नेबारेमा केही उल्लेख छैन ।
अहिले माग गरिएको विशेष महाधिवेशनले २०१४ मा भएको पार्टीको पहिलो विशेष महाधिवेशनले गरेको जस्तै काम गर्छ । ‘यो १५ औं महाधिवेशनका रूपमा गणना हुँदैन । ०१४ सालको विशेष महाधिवेशन पनि पार्टीको महाधिवेशनमा गणना छैन । उक्त महाधिवेशनले नेतृत्वको नवीकरण गर्यो, नीतिको नवीकरण गर्यो र विशेष परिस्थितिमा पार्टीले गर्नुपर्ने सबै काम गर्यो । अहिले भनिएको विशेष पनि त्यही किसिमको हुन्छ ।
कांग्रेसमा विशेषको इतिहास यस्तो थियो
११ जेठ २०१४ मा कांग्रेसको विशेष अधिवेशन विराटनगरमा सुरु भएको थियो । यो नै कांग्रेसको इतिहासको एकमात्र विशेष महाधिवेशन हो । दुई दिनसम्म चलेको विशेष महाधिवेशनले बीपी कोइरालालाई सभापतिमा सर्वसम्मत चयन गरेको थियो । तत्कालीन सभापति सुवर्णशमशेर कोषाध्यक्ष बनेका थिए । विश्वबन्धु थापा र तुलसी गिरीलाई महामन्त्री चयन गरिएको थियो ।
विशेष महाधिवेशनबाट सभापति चुनिएका बीपी कोइरालाको नेतृत्वमा पहिलो संसदीय चुनाव ‘२०१५’ मा प्रतिस्पर्धा गरेको कांग्रेसले १०९ सिटमध्ये दुईतिहाइ बहुमत ‘७४ सिट’ पाएको थियो । कम्युनिस्ट पार्टीले चार सिटमात्रै जितेको थियो ।
प्रतिक्रिया दिनुहोस !