भूकम्पले बाँझो बनायो, कुलोले हराभरा

भूकम्पले बाँझो बनायो, कुलोले हराभरा
सिँचाइ कुलो मर्मत भएपछि हरिया खेतसहितको विद्युत्गृहको नहर।

मुगु : जाजरकोटको नलगाड नगरपालिका–५, रानीखेतमा गाँडेखोलाबाट ल्याइएको सिँचाइ कुलोले यहाँका खेतबारी सिँचाइ गथ्र्यो। पानी घट्ट घुम्थे र झुम्रेखोला लघुजलविद्युत् आयोजनाले घरघरमा उज्यालो छरिन्थ्यो। तर २०७९ साल कात्तिक १७ गते राति आएको ६.४ म्याग्निच्युडको विनाशकारी भूकम्पले रानीखेतको ती उब्जनी हुने जग्गा बाँझो भए भने पानीबाट चल्ने सबै पूर्वाधार बन्द भए।

भूकम्पपछि कुलो भत्कियो, पानी खेतसम्म पुग्न छाड्यो। करिब २० हेक्टर खेतीयोग्य जमिन बाँझो रह्यो। पानी घट्ट र ३१ किलोवाट क्षमताको झुम्रेखोला लघुजलविद्युत् आयोजना ठप्प भए। ‘खेत सुक्दा घरको चुलो पनि निभेजस्तै भयो’, स्थानीय बासिन्दा सुनीलकुमार विक सम्झन्छन्, ‘जग्गा बाँझो हुँदा परिवार पाल्नै गाह्रो भयो।’

रानीखेतमात्रै होइन, कालीमाटी, रगुनाथ, खनटाकुरा, चारगाउँ, ऐरारी र लविसाका गरी १ सय ७१ घरधुरीको जीवनयापन यही कुलोसँग गाँसिएको थियो। ब्राह्मण, क्षेत्री, जनजाति र दलित समुदाय बसोबास गर्ने यी बस्तीमा कुल जनसंख्या १ हजार ५० रहेको छ। सिँचाइ कुलो अवरुद्ध भएपछि १ सय ७१ घरधुरीको धान, गहुँ, मकै, तोरी र तरकारी खेती ठप्प भएको स्थानीयहरूको भनाइ छ।

यही निराशाबीच आशाको किरण बनेर आयो—जापान सरकारको आर्थिक सहयोगमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को नेतृत्व तथा संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम (यूएन–ह्याविट्याट) को सहकार्यमा छायाँ, नेपालद्वारा कार्यान्वयन गरिएको जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रहरूमा जीविकोपार्जन सुधार तथा विपद् उत्थानशीलता सुदृढीकरण परियोजना।

यो परियोजना अन्तर्गत छाँया नेपालबाट ४ लाख ४७ हजार रुपैयाँ, नलगाड नगरपालिकाबाट १ लाख १८ हजारको लागत साझेदारी तथा समुदायबाट ३६ हजार बराबरको जन श्रमदान जुट्यो। कुल ६ लाख २ हजार ५३ लागतमा गाँडे खोलादेखि रानीखेतसम्मको सिँचाइ कुलो मर्मत तथा सुधार गरिएको इन्जिनियर सुरज परियारले जानकारी दिए।

आज कुलोबाट फेरि पानी बगिरहेको छ। बाँझिएका खेतहरू हरियालीमा फर्किएका छन्। करिब २० हेक्टर जमिनमा धान, गहुँ, मकै, तोरीसँगै बन्दा, काउली, गाजर, मुला, धनियाँ र हरियो सागसब्जी फल्न थालेका छन्। स्थानीय बजारमा तरकारी बेचेर आम्दानी बढेको छ। घरघरमा फेरि चुलो बल्न थालेको स्थानीय दिलसरा सुनारले बताइन्।

सबैभन्दा ठूलो परिवर्तन भने पानीसँगै फर्किएको ऊर्जा हो। ३१ किलोवाट क्षमताको झुम्रेखोला लघुजलविद्युत् आयोजना पुनः सञ्चालनमा आएको छ भने दुईवटा पानी घट्ट पनि घुम्न थालेका छन्। ‘अँध्यारो रात फेरि उज्यालोमा बदलिएको छ। यो कुलो मर्मतले पानीमात्रै होइन, हाम्रो भविष्य फर्काइदिएको छ’, गाँडे खोलादेखि रानीखेत सिँचाइ कुलो मर्मत–सुधार समितिकी सदस्य सृष्टि विक भन्छिन्, ‘भूकम्पले भत्काएको जीवन फेरि उभिन थालेको छ।’

रानीखेतमा अहिले कुलो केवल सिँचाइको साधन होइन, यो आशाको प्रतीक बनेको छ। जहाँ पानीसँगै जीविकोपार्जन आत्मनिर्भरता र विपद् उत्थानशीलताको कथा बगिरहेको स्थानीयको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.