काल बन्यो आँगनको हण्डी, डुबेर नाबालिकाको मृत्यु
विराटनगर : मोरङको धनपालथान गाउँपालिका–७ कदमाहामा शनिबार अपरान्ह भएको एउटा दर्दनाक घटनाले स्थानीय समुदायसँगै समग्र समाजलाई नै झस्काएको छ। घरकै आँगनमा राखिएको पानी भरिएको हण्डी (सिलाबरको भाँडो) नाबालिकाको काम बनेको छ। हण्डीमा डुबेर ३ वर्षीया सोनु मण्डलको मृत्यु भएको छ। सामान्य सावधानी अपनाएको भए टार्न सकिने यो घटनाले बाल सुरक्षा र अभिभावकको सतर्कता कमजोर रहेको देखाउँछ।
प्रहरीका अनुसार घटना हुँदा नाबालिकाकी आमा र हजुरआमा घर बाहिर काममा गएका थिए भने उनका बुवा वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन्। नाबालिका घरको आँगनमा एक्लै खेलिरहेको अवस्थामा पानी भरिएको हण्डीमा डुबेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरी स्रोतका अनुसार उद्धारका बेला नाबालिका हण्डीभित्र टाउको तल र खुट्टा माथि भएको अवस्थामा फेला परेकी थिइन्। खेल्ने क्रममा सन्तुलन गुमाएर हण्डीमा खसेपछि टाउको तल परेकाले आफैं बाहिर निस्कन नसकेको देखिएको छ। इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ।
डुबिरहेको अवस्थामा देखेपछि अभिभावकले तत्काल उद्धार गरी उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्याएका थिए। तर, अस्पताल पुर्याएलगत्तै दिउँसो ३:१० बजे चिकित्सकले नाबालिकालाई मृत घोषणा गरे। त्यसपछि शवको पोस्टमार्टम कोशी अस्पतालमै गरिएको प्रहरीले जनाएको छ।
घरभित्र र आँगनमा रहेका सम्भावित जोखिमयुक्त सामग्रीहरूबाट बालबालिकाललाई टाढा राख्न अभिभावकलाई उनको आग्रह छ। उनले भने, ‘बालबालिकाको खेल्ने वातावरण सुरक्षित छ कि छैन भन्ने विषयमा निरन्तर निगरानी आवश्यक छ। सानो लापरवाहीले पनि ठूलो क्षति निम्त्याउन सक्छ।’ घटनापछि मृतक नाबालिकाका अभिभावक गहिरो शोकमा छन्। स्थानीयले पनि घटनाप्रति दुःख व्यक्त गर्दै यस्ता दुर्घटना दोहोरिन नदिन सबै सचेत हुनुपर्ने बताएका छन्। प्रहरीले भने घरमा साना बालबालिका भएका परिवारलाई विशेष सावधानी अपनाउन पुनः आग्रह गरेको छ।
यो घटनाले सामान्य ठानिएका वस्तुहरू पनि बालबालिकाको जीवनका लागि कति घातक हुन सक्छन् भन्ने कठोर सन्देश दिएको एसपी कटवालको भनाइ छ। सधैं सजग रहनु नै यस्ता दुःखद् क्षति रोक्ने एकमात्र उपाय भएको निष्कर्ष उनले सुनाए।
प्रतिक्रिया दिनुहोस !