प्रचण्डमार्फत भारतको सन्देश- लोकतन्त्र जोगाउने हो भने दलहरू चुनावबाट पन्छिनु हुँदैन
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभलबीच भेटवार्ता भएको छ। नयाँ दिल्लीको ताजमान सिंह होटलमा उनीहरूबीच आइतबार राति भेटवार्ता भएको हो।
स्रोतका अनुसार उनीहरूले त्यहाँ 'डिनर' गरेका थिए। भेटका क्रममा नेपालको समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो। सल्लाहकार डोभलले सरकारले निर्वाचनको मिति तोकिसकेको अवस्थामा त्यसको विकल्प खोज्न नहुने सुझाव दिएका थिए। डोभलले भारत सरकारले निर्वाचनमार्फत नेपालमा स्थिर सरकार चाहेको सन्देश सुनाएका थिए। निर्वाचनबाट नै राजनीतिक प्रणाली जोगिने र भारतले समेत सोही कुरा चाहेको प्रचण्डलाई डोभलले सुनाएको स्रोतले बताएको छ।
लोकतन्त्र जोगाउन उत्तम विकल्प नै निर्वाचन भएको डोभलले जोड दिएका थिए। जवाफमा प्रचण्डले नेपालको राजनीतिक दलहरू निर्वाचनको विपक्षमा नरहेको बताएका थिए। प्रचण्डले आफू दिल्ली आउनु अगाडि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेको समेत बताएका थिए।
प्रचण्ड छोरी गंगाका साथमा आइतबार नयाँ दिल्ली गएका थिए। त्यस्तै नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवासमेत सोमबार नयाँ दिल्ली गएकी छन्।
प्रतिक्रिया दिनुहोस !