शीतलहर नआई तराईमा कडा जाडो

शीतलहर नआई तराईमा कडा जाडो
फाइल तस्बिर

काठमाडौं : अझैसम्म शीतलहर सुरु भइसकेको छैन। तर, पनि समग्र तराई भेगका बासिन्दा अत्यन्त चिसो बढेको महसुस गरेको बताउँछन्। हप्तौंसम्म घाम नलागेकाले त्यहाँको जनजीवन प्रभावित बनेको उनीहरूको अनुभव छ।

‘पुसको ६/७ गतेदेखि घाम लागेको छैन। मंसिर १५ गते अलिकति देखा पर्‍याथ्यो। अरू बेला त कुहिरोले ढाक्छ। तराई कठ्यांग्रिदो छ नि !’ खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिक ‘तुफान’ले नेपालगन्जको मौसमबारे अन्नपूर्णलाई सुनाए। करिब ३ साता हुनै लाग्दा पनि घाम नलागेकाले स्थानीयको जनजीवन, बालीनाली, यातायातमा प्रभाव पारिरहेको उनको भनाइ छ।

नेपालगन्जको अधिकतम तापक्रम यतिबेला १३ देखि १५ डिग्री सेल्सियस बीचमा छ भने न्यूनतम तापक्रम ६ देखि ८ डिग्री सेल्सियस बीचमा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विकले भने जस्तै सम्पूर्ण तराई एउटै समस्या खेपिरहेको छ। विभागको तथ्यांकले पनि तराई हुस्सुकुहिरोभित्रै रहेको प्रष्ट्याएको छ। विभागको तथ्यांकअनुसार तराईमा प्रायः मध्याह्न वा अपराह्नपछि मौसममा केही सुधार देखिए पनि मजाले घाम भने लाग्न सकेको छैन। स्थानीयले त मौसमै नखुलेको बताएका छन्। ‘हप्तौं भयो घाम नलागेको। हामी दाउरा बाल्ने काम गर्दैै छौं। सरकारी कार्यालय तथा वडा कार्यालयहरूमा दाउरा बालिन्छ। स्थानीयहरू आएर ताप्ने गर्छाैं’, अध्यक्ष विकल भने। 

उनका अनुसार, स्थानीय सरकार भएको हिसाबले उनको पालिकामा भएका असहाय बालबालिका, वृद्धवृद्धालाई न्यानो कपडा वितरण गर्ने काम पनि भएको छ। तराईमा बर्सेनि जाडोमा उस्तै खालको समस्या दोहोरिने भएकाले समस्याग्रस्तहरूको पहिचान गरेर सहयोग गरेको पनि बताए। जाडोमा विषेश गरी बालबालिका, वृद्धवृद्धा तथा रोगीहरूलाई समस्या पर्ने भएकाले स्वास्थ्यकर्मीहरूले घरघरमा पुगेर सेवा दिएको समेत बताए।

 पुस महिना सुरु भएदेखि नै पूर्वदेखि पश्चिमसम्म तराईका जिल्लाहरू हुस्सु, कुहिरोको मारमा परेका छन्। पहाडी जिल्लाहरूमा समेत बाक्लो कुहिरोले ढाकेको छ। तर, शीतलहर भने सुरु भइनसकेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले जनाए। सुदूरपश्चिममा मंगलबारबाट मौसम हल्का खुल्ने देखिन्छ। पूर्वमा खुल्न अझै समय लाग्ने देखिन्छ। बुधबारबाट अझ छिटो मौसममा सुधार हुने जस्तो देखिएको दाहालले बताए।
 ‘तर हुस्सुकुहिरो तुरुन्तै हटेर जाने अवस्था नभएकाले तराईले अझै चिसो खेप्नुपर्नेछ’, उनले बताए। उनले थपे, ‘हालको मौसममा सुधार ल्याउन मजाले पानी पर्नुपर्‍यो कि त हावाले उडाएर लैजानुपर्‍यो। अझै केही दिन यस्तो अवस्था बन्ने देखिँदैन। तर, पारदर्शिता बढ्ने र घाम थोरै मात्रामा लाग्ने जस्तो देखिन्छ।’ मौसम सफा बन्नलाई कुनै नयाँ प्रणाली नबन्ने र हालको अवस्था तत्काल हटिहाल्ने पनि नभएको उनले बताए।

दाहालका अनुसार, शीतलहर नै नलागे पनि तराईको अवस्था प्रभावित भएको छ। यस्तो अवस्थालाई चिसोको दिनहरू भइरहेको भन्ने गरेको उनले सुनाए। कम्तीमा ३ दिन लगातार तापक्रम तल झरेर शीत तप्प चुहिने अवस्था सिर्जना भएपछि मात्रै शीतलहर हुने उनको भनाइ छ। हाल एक दिन चिसो हुने तर अर्को दिन अलि सुधार हुने गरेकाले चिसोका दिनहरू मात्रै चलिरहेको बताए। उनका अनुसार, मुख्यतः नेपालमा जनवरीको दोस्रो सातादेखि फेब्रुअरीतिर शीतलहर चल्ने गर्छ। कहिलेकाहीँ मिति यताउता पनि हुने गरेको उनले बताए। मौसमविद्हरूले तराईको अवस्थालाई निरन्तर मोनिटरिङ गरिरहेका उनको भनाइ छ।

काठमाडौंको तापक्रम पनि घट्ने क्रममा छ। सोमबार बिहानको ३.५ डिग्री सेल्सियस पुगेको तर पानी पर्ने सम्भावना भने नभएको दाहालले बताए। विभागले यो वर्षको हिउँदमा पनि सरदरभन्दा कम वर्षा हुने आकलन गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.