बादलको संयोजकत्वमा एमालेले गठन गर्यो निर्वाचन परिचालन कमिटी
काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले निर्वाचन परिचालन कमिटी गठन गरेको छ। मंगलबार बिहान बसेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा 'बादल' को संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको हो। उक्त कमिटीको सचिवमा विष्णु रिमाल रहेका छन्।
उपमहासचिव लेखराज भट्टका अनुसार कमिटी सदस्यहरूमा छविलाल विश्वकर्मा, राजन भट्टराई,हिक्मत कार्की, रमेश बडाल,मिनबहादुर शाही र भिष्म अधिकारी रहेका छन्। सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति तोकेको छ। त्यसअघि माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ।
यसैगरी, एमालेले निर्वाचन केन्द्रित प्रदेश संयोजक समेत तोकेको छ। जसअनुसार कोशी प्रदेशमा शेरधन राई,मधेश प्रदेशमा लिलानाथ श्रेष्ठ, बागमतिमा महेश बस्नेत,राजधानी प्रदेशमा राजन भट्टराई, कर्णाली प्रदेशमा यमलाल कणेल,गण्डकीमा खगराज अधिकारी र सुदूरपश्चिममा गणेश ठगुन्ना संयोजक रहेका छन्।
थेबे युवा परिचालनको संयोजक
बैठकले क्षितिज थेबेलाई युवा परिचालनको संयोजक तोकेको छ। आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै युवालाई संगठित र सक्रिय रूपमा परिचालन गर्ने महत्वपूर्ण जिम्मेवारी क्षितिज थेबेलाई दिइएको छ। पार्टी नेतृत्वले युवामाझ लोकप्रिय, संगठन निर्माणमा अनुभवी र संघर्षशील नेताका रूपमा परिचित थेबेलाई यो जिम्मेवारी सुम्पिएको हो।
थेबे हाल युवासंघको अध्यक्षको हैसियतमा सक्रिय छन्। उनले संगठन विस्तार, राजनीतिक प्रशिक्षण, र युवालाई वैचारिक रूपमा सशक्त बनाउने अभियानमा निरन्तर भूमिका खेल्दै आएका छन्। विशेषतः संगठनलाई जरा–जरा सम्म विस्तार गर्न, नयाँ पुस्तालाई राजनीतिमा आकर्षित गर्न तथा अनुशासित र जिम्मेवार युवाशक्ति निर्माणमा उनले उल्लेखनीय योगदान दिएका छन्।
पार्टीका अनुसार, आसन्न निर्वाचनमा युवाको भूमिका निर्णायक हुने भएकाले उनीहरूलाई योजनाबद्ध, एकताबद्ध र परिणाममुखी ढंगले परिचालन गर्न आवश्यक छ। यही आवश्यकता अनुरूप थेबेलाई केन्द्रीय स्तरमै युवा परिचालनको समन्वय गर्ने जिम्मेवारी दिइएको जनाइएको छ। उनको नेतृत्वमा देशभरका युवासंघका संरचनाहरूलाई चुनावी अभियानमा सक्रिय बनाइने, घरदैलो अभियान, मतदाता शिक्षा, सामाजिक सञ्जाल अभियान तथा चुनावी अनुशासन कायम गर्ने कार्यहरू अगाडि बढाइने बताइएको छ।
यसैबीच, थेबे ताप्लेजुङबाट प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिससमेत भएका छन्। स्थानीय तहदेखि केन्द्रसम्म संगठनमा खारिएको अनुभव, युवामाझको स्वीकार्यता र निरन्तर राजनीतिक सक्रियताका कारण उनी प्रतिनिधिसभाको सम्भावित उम्मेदवारका रूपमा अघि सारिएका हुन्। ताप्लेजुङमा उनको सिफारिसले स्थानीय नेता–कार्यकर्तामा उत्साह थपिएको बताइएको छ।
युवा परिचालनको जिम्मेवारी पाएका थेबेले युवालाई राष्ट्र निर्माण, लोकतन्त्रको सुदृढीकरण र राजनीतिक स्थायित्वका पक्षमा एकताबद्ध गरिने बताएका छन्। उनले भने, 'युवाशक्ति परिवर्तनको मूल शक्ति हो। आसन्न निर्वाचनमा युवाको सक्रिय सहभागितामार्फत पार्टीलाई जनताको बलियो विश्वास दिलाउने हाम्रो लक्ष्य हो।'

प्रतिक्रिया दिनुहोस !