सामुदायिक विद्यालयमा ‘होस्टेल’ र अतिरिक्त कक्षा
प्यूठान : जिल्लाका सामुदायिक विद्यालयहरूले ‘होस्टेल’ र अतिरिक्त कक्षा थालेका छन्। माध्यमिक शिक्षा परीक्षा (एसईई) लक्षित गरी विद्यालयहरूले यस्तो अभ्यास थालेका हुन्।
‘एसईई परीक्षा नतिजा सुधारका लागि विद्यालयहरूले यस वर्ष थप प्रयास थालेका छन्’, शिक्षा विकास तथा समन्वय एकाइ प्यूठानका प्रमुख दुर्गा खड्काले भने, ‘होस्टेल, अतिरिक्त कक्षा, मासिक परीक्षा र अभिभावकसँग छलफललगायत अभ्यास गर्ने गरेका छन्।’
जिल्लामा ९० वटा माध्यमिक विद्यालय एसईई परीक्षामा सामेल हुनेछन्। अधिकांश विद्यालयहरूले परीक्षा आउनुभन्दा तीन महिनाअगावै परीक्षा केन्द्रित कामहरू थालेको उनले बताए।
कक्षा १० मा अध्ययनरत २३ जना विद्यार्थीलाई विद्यालयमै राखेर थप कक्षा सञ्चालन सुरु गरिएको महेन्द्र माध्यमिक विद्यालय सरंगबेंसीका प्रधानाध्यापक कृष्णविक्रम शाहले बताए। ‘होस्टेल सञ्चालनका लागि उपयुक्त कोठाहरू नभए पनि विद्यालयमै सञ्चालन गरेका छौं’, उनले भने, ‘अतिरिक्त कक्षा र होस्टेल सञ्चालनमा हुने खर्च अभिभावकबाटै लिने योजना छ।’ प्रतिविद्यार्थी मासिक ६ हजार ५ सय खर्च हुने अनुमान गरिएको उनले बताए।
कोरोनाकालमा परीक्षामा सहभागी नभई कक्षा चढाइएकाले विद्यार्थीमा पढ्ने बानी हराएको र त्यसको असर अझै देखिने गरेको ऐरावती गाउँपालिकाका शिक्षा शाखा प्रमुख यमप्रसाद पाण्डेले बताए। ‘विद्यालय व्यवस्थापन समितिबाट निर्णय गराएरै पहलहरू थालिएको छ’, उनले भने, ‘एसईई नतिजा सुधारका लागि बेस राम्रो हुनुपर्छ, तर पनि तीन महिनाको प्रयासले नतिजा सुधारमा सहयोग पुग्ने अपेक्षा गरेका छौं।’
नतिजा सुधारका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने ऐरावती गाउँपालिकाका अध्यक्ष नविलविक्रम शाहले बताए। ‘सबै पक्ष जिम्मेवार हुनुपर्ने सार्वजनिक कार्यक्रममार्फत प्रतिबद्धता जाहेर गरेका छौं’, उनले भने, ‘विद्यार्थीको मिहिनेत, अभिभावकको चासो, शिक्षकको लगनशीलता र व्यवस्थापन समितिको चासोले नतिजा सुधार गर्न सकिन्छ।’ विद्यार्थी, शिक्षक, व्यवस्थापन समिति, अभिभावक र पालिका परिवार जिम्मेवार बन्नुपर्नेमा उनको जोड छ।
२०८० सालको माध्यमिक शिक्षा परीक्षामा जिल्लाबाट १२.२७ प्रतिशतमात्र विद्यार्थी उत्तीर्ण भएका थिए। जसले प्यूठान जिल्ला ७७औं स्थानमा परेको थियो। एसईई परीक्षा नतिजामा सुधार ल्याउन एकीकृत योजना बनाई लागू गरेपछि २०८१ को परीक्षामा ४८.८५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।
प्रतिक्रिया दिनुहोस !