शुक्र अस्त, शालीनदी र स्वस्थानी

शुक्र अस्त, शालीनदी र स्वस्थानी

शिव र शक्तिको संयुक्त उपासना गर्ने नेपाली परम्पराअनुसार शिवजी विराजमान रहनु भएको यो क्षेत्रमा दर्शनार्थीको घुइँचो लाग्ने गर्छ। स्कन्दपुराण, हिमवत्खण्ड, नेपाल माहात्म्य अध्याय १२२ अनुसार सनातनकुमारले विशेष व्रत उपासना गरेपछि शिवजी खुसी भएर वरदान माग्न भन्नुभएको थियो।

अहिले शुक्र अस्त छ, मार्ग २२ देखि पूर्वमा अस्ताएको शुक्र आगामी माघ १५ गते पश्चिममा उदाउँछ। यस अर्थमा शुक्रास्तमै यसपालिको स्वस्थानी आरम्भ हुन लागेको छ, यही पुस १९ देखि। नित्यकर्म झैं घरघरमा स्वस्थानीको व्रत आराधना, कथा श्रवण भए पनि नयाँ व्रत लिने र पहिलोपल्ट तीर्थ जानेहरूका लागि भने अहिले अलिक समस्या छ भनौं पृथ्वीतलमा भएका पुण्यका कर्मका साक्षी शुक्र हुँदैनन्, तिनले देख्दैनन्।

माघशुक्ल पूर्णिमा पर्व समापन, व्रत प्रतिष्ठा भने माघ १८ गते रहेको र त्यतिबेला शुक्र उदय भइसकेको हुनेछ। शालीनदी मेलामा अहिले नित्य व्रतमा सहभागीको सय बढी संख्या तय भइसकेको र तयारी तीव्र रूपमा भएको स्थानीय मेला समितिको भनाइ छ। यतिबेला साँखु सहर नयाँ दुलही झैं सिँगारिएको छ, बजार पनि तीव्र रूपमा चलायमान भइसकेको देखिन्छ। नेपाली गरिबीको चित्र प्रस्तुत गरिएकी चन्दावतीको छप्पर पनि सजिसजाउ छ त्यहाँ। साँखु बजारबाट एक–डेढ किलोमिटर पूर्वतर्फ शालीनदी क्षेत्र छ। प्रसिद्ध नदीकै नामबाट यो क्षेत्र शालीनदी क्षेत्रले चिनिन्छ।

साँखु बजारबाट शालीनदी क्षेत्र हुँदै पालुबारी एवं नगरकोट–तेलकोट हुँदै भक्तपुर जोड्ने सडक रमणीय छ, जहाँबाट सिन्धुपाल्चोकलगायतको पूर्वी नाका हराभरा छ अहिले, प्राकृतिक सौन्दर्य लुट्नेदेखि काठमाडौं छिर्ने र फर्कने छिटो बाटो बनेको छ यो। लप्सेफेदीबाट जाने जरसिंहपौवा समेतले प्रसिद्ध मेलम्ची जोड्छ र त्यहाँकी पाल्चोकी भगवती, पाँचपोखरी जानेहरूको त अधिक भिड छ अहिले। नजिकै रहेकी वज्रयोगिनी, बजारको उत्तर ढोकामै रहेका ६४ ज्योतिलिंगमध्येका ज्योतिर्लिंगको चर्चा त जति गरे पनि कम हुन्छ। वज्रयोगिनीको शिरभागमा रहेको काठमाडौंमा पानी आपूर्ति गर्ने मुहानपोखरी झन् बढी हेर्न लायक छ, सुरम्य।

यहाँबाट जहरसिंहपौवाको चिया बगान, भोटचौर पुगी दिनभरि दिल बहलाएर पिकनिक भर्दै काठमाडौं फर्कने क्रम बढेको छ, जसले आन्तरिक पर्यटनको अभिवृद्धि भएको छ। शालीनदी श्रीस्वस्थानी देवीको अति पावनपीठ हो। पौषशुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म यहाँ श्रीस्वस्थानी देवीको व्रत उपासना गरिन्छ। स्कन्दपुराण, केदारखण्डका अनुसार हरेक वैदिक सनातनीहरूका घरघरमा श्रीस्वस्थानी देवीको व्रत उपासना गर्ने, स्वस्थानी कथा भन्ने र सुन्ने चलन छ।

कथाअनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेवलाई पति पाउन यो व्रत गरेकी थिइन्। माघस्नान गर्ने क्रममा शाली नदीमा स्नान गरी नजिकै रहेका हरिहरको पूजा आराधना र स्वस्थानी देवीको पूजा गरेमा राम्रो फल प्राप्त हुन्छ। शालीनदीको जल अर्चन गर्दैमा पनि शरीरको रोग निको भई तनमा कान्ति र मनमा शान्ति हुन्छ। यहीँ उपासना गरेर कुरूप भएकी चन्द्रावतीले सुन्दर शरीर पाएकी थिइन्। शालीनदीमा स्नान गरेर चन्द्रावतीले गुमेका आफ्ना पति नवराजलाई पाएकी थिइन्। शरीरमा नवकान्ति प्राप्त गरेर नजिकै रहेको लावण्यदेशकी रानी भएकी थिइन्। गोमा नामकी ब्राह्मणीले हराएको आफ्नो पुत्र नवराज प्राप्त गरेकी थिइन्।

बिछोड भएका नाग–नागिनीको पुनर्मिलन भएको थियो। धनधान्य र आफ्नो अटल शौभाग्य अनि वैभव प्राप्त गर्न चाहनेहरू श्रीस्वस्थानीको उपासना शालीनदी क्षेत्रमा बसेरै गर्छन्। हातगोडाको नङ काटी, शुद्ध भई, एकभक्तिले रही, नित्य महादेवको पूजा गरी, ठूलो उत्साहका साथ व्रत उपासना गर्छन्। तिनीहरू व्रतकै क्रममा चाँगुनारायण, पनौती, पशुपति क्षेत्रसम्म पुग्छन्। व्रत प्रतिष्ठा गर्दै माघशुक्ल पूर्णिमामा श्रीस्वस्थानी देवीको व्रत साङ्गे गरी विशेष यज्ञसमेत गर्छन्। नवराज राजाले राज्य गरेको क्षेत्रमा अघि शंखदेव राजाले राज्य गरे, यस अर्थमा यहाँको नाम शंखपुर, शंखरापुर हुँदै साँखु नामले चिनियो।

शालीनदी क्षेत्रमा प्रसिद्ध माधवनारायणको मूर्ति, ठूला–ठूला पाटी र सत्तल, विशेष रमणीय स्वस्थानीको मन्दिर र चार सय मिटर जति दक्षिणतिर चन्द्रावती र उनलाई बोक्ने डोलेहरूको शिला छ। कथाअनुसार यहाँं चन्द्रावतीलाई डोलीमा बोकेर ल्याउँदा हावाहुरीमा परी लडेका डोलेका शिलाहरू हुन् ती। स्वर्गदेखि अप्सराहरू आएर यहाँ माघस्नान र श्रीस्वस्थानी देवीको पूजाउपासना गरेकाले यो क्षेत्र पुण्यक्षेत्र भएको हो। यसैक्षेत्रमा बसेर चन्द्रावतीले स्वस्थानी देवीको उपासना गरिन्। स्वस्थानी देवीको स्वरूप यस्तो छ।

सुवर्णवर्णकी, तीन नेत्रधारी, प्रसन्न मुद्रामा रहेकी, कमलनयनी, सिंहासनमा बसेकी, चार हात भएकी देवीले सम्पूर्ण भक्तको मनोकांक्षा पूरा गर्छिन्। एक हातमा नीलकमल, अर्काे हातमा शंख र अर्काे हातमा ढाल अनि अर्काे हातमा वरदमुद्रा लिएकी देवीले आम भक्तहरूको सदिच्छालाई साकार पार्छिन्। स्वस्थानीको शाब्दिक अर्थ हुन्छ– आआफ्नो स्थानमा बसेर आआफ्नो भूमिका र कर्तव्य सबैले निर्वाह गर्ने, कोही पनि पथ भ्रष्ट नहुने, कर्तव्यच्युत नहुने, सम्पूर्ण क्षेत्रबाट सबैले आआफ्नो पदीय आचरण, मर्यादा अनुकूलको विधिव्यवहार सबैले गर्ने।

शिव र शक्तिको संयुक्त उपासना गर्ने नेपाली परम्पराअनुसार शिवजी विराजमान रहनु भएको यो क्षेत्रमा दर्शनार्थीको घुइँचो लाग्ने गर्छ। स्कन्दपुराण, हिमवत्खण्ड, नेपाल माहात्म्य अध्याय १२२ अनुसार सनातनकुमारले विशेष व्रत उपासना गरेपछि शिवजी खुसी भएर वरदान माग्न भन्नुभयो। साथै सनातन कुमारलाई चिरञ्जीवी हुने वरदान पनि दिनुभयो। सुरुमा ब्रह्माजीबाट सृष्टि भएका छ कुमारमध्येका सनातन कुमारले शिला स्थापना गरी यहाँ बसेर शिवजीको तप गर्नु भएको थियो। शिव प्रकट भई सनातन कुमारलाई वरदान दिएपछि उनले स्थापना गरेका शिलाको नाम ज्योर्तिर्लिंगेश्वर भएको हो जसको मन्दिर नजिकै छ।

एकपटक आफ्नो कर्तव्यच्युत भएर कुसंगतका कारण दूराचारी भएका एक ब्राह्मण मृत्युपछि चराको मुख लिएर अशुचियोनिमा जन्म लिन पुगेछन्। के कारणले चराको जस्तो मुख भएको अशुचियोनिमा जन्म भएको होला भन्ने खोज अनुसन्धान गर्ने क्रममा उनले एक त्रिकालदर्शी ब्राह्मणलाई भेटेछन्। पूर्वजन्ममा आपूmले गम्यागम्य, भक्षाभक्ष, पाप–पुण्यको कुनै परवाह नगरेका कारण यस्तो भएको कुरो ज्ञात भएपछि त्रिकालदर्शी ब्राह्मणको उपदेशअनुसार यसै ज्योतिर्लिंगेश्वरको उपासना गरेर आफू शुद्ध भएछन्। त्यसैबेलादेखि यस शिवलिंगको उपासना गर्न थालिएको हो।

वज्रयोगिनीको चर्चा गर्दा सृष्टिको उषाकालमा विष्णुका पसिनाबाट उदय भएका मधुकैटभ सृष्टिकर्ता ब्रह्माप्रति जाइलागे। ब्रह्माजी डराएर योगनिद्रामा रहेका विष्णुलाई जागा भएपछि त्रिदेव ब्रह्मा–विष्णु–शिवले संयुक्त रूपमा स्तुति गरेकाले देवीको नाम योगिनी रहेको र योगिनी देवीको कृपाबाट मोह र क्रोधरूपी मधुकैटभलाई वध गर्न सफल भए। यी देवीको निवास स्थानलाई योगकुट पर्वत भनिन्छ। तान्त्रिक विधिबाट नित्य वज्रयोगिनीको पूजा हुने गर्छ। काठमाडौं खाल्डोबाट चोभारको डाँडो काटी पानी बाहिर पठाउन र स्वयम्भू स्तूपको निर्माण गर्न मञ्जुश्रीलाई प्रेरणा दिने देवी यिनै हुन् भन्ने विश्वास गरिन्छ। वज्रयोगिनी देवी एक प्रसिद्ध शक्तिपीठ हुन्।

लिच्छविकालको अभिलेखले साँखु सहर बौद्धतीर्थ हो भन्ने पनि जनाउँछ। हिन्दुहरूले प्रसिद्ध वज्रयोगिनीलाई काठमाडौंको दक्षिणतर्फ रहेकी दक्षिणकालीकै रूपमा मनाउँछन्। वज्रयोगिनीको अर्काे नाम डाकिनी पनि हो। हिन्दुहरूले ६४ ज्योतिर्लिंगलाई शिवलिंगका रूपमा विशेषगरी मनाए झैं ६४ योगिनीका रूपमा भगवतीलाई मनाउँछन्। ६४ योगिनीमा नैरात्मायोगिनी, खड्गयोगिनी, विद्यायोगिनी आदि प्रमुख हुन्। देवमाला वंशावलीका अनुसार वज्रयोगिनीको मन्दिर सन् ८२४ मा निर्माण भएको हो। नेपालमा रहेका विभिन्न पीठको अध्ययन गर्दा हालसम्म अन्यत्र क्षेत्रमा योगिनीदेवीको मन्दिर भेटिएको छैन। स्कन्दपुराण, हिमवत्खण्ड नेपाल महात्म्यमा ‘ने’– नामक मुनिले योगिनी देवीको विशेष उपासना गरी देवीको वरद कृपाबाट नेपालको स्थापना गरेका हुन् भन्ने उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.