उम्मेदवार सिफारिसबारे नवलपरासी एमालेमा किचलो
परासी : प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका उम्मेदवारमा सहमति हुन नसकेपछि एमाले नवलपरासीबाट ६ जनाको नाम सिफारिस गरिएको छ। जिल्लामा दुई निर्वाचन क्षेत्र छन्। ती क्षेत्रहरूबाट एकल नाम सिफारिस गर्ने विषयमा नेताहरूबीच दुई दिनसम्म चलेको छलफल र बैठकमा सहमति जुट्न नसकेपछि क्षेत्र नम्बर १ बाट दुई र क्षेत्र नम्बर २ बाट चार जनाको नाम सिफारिस भएको हो।
दुबै क्षेत्रीय बैठकमा सहभागी अधिकांश नेताहरूले क्षेत्र नम्बर १ बाट रामप्रसाद पाण्डे र क्षेत्र नम्बर २ बाट बैजनाथ चौधरीको एकल नाम सिफारिस गर्नुपर्ने प्रस्ताव राखेका थिए। तर, सीमित नेताहरूले एकल नाममा असहमति जनाएपछि बैठकमा छलफल भएका सबैको नाम पठाइएको बताइएको छ। ‘हलमा भएका ९५ प्रतिशत बढीले क्षेत्र नम्बर १ बाट पाण्डे र २ बाट चौधरीको नाम पठाउने प्रस्ताव ल्याए। तर, २/४ जनाले असहमति जनाएपछि सबैको पठाइएको हो,’ एक जिल्ला नेताले भने।
'चौधरी र पाण्डेको एकल नाम नै पठाउन सकिन्छ कि भनेर दुई दिन छलफल गर्यौं केही साथीहरूले एकल हुँदैन इच्छुक अरुको पनि पठाउन पर्छ भनेकाले रायसहित ६ जनाको पठाएका हौं,’ एमाले जिल्ला अध्यक्ष दीपेन्द्रकुमार अधिकारीले भने।
त्यसरी सिफारिस हुनेमा क्षेत्र नम्बर १ बाट रामप्रसाद पाण्डे र किरन पौडेल छन्। पाण्डे सुस्ता गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन्। एमाले केन्द्रीय सदस्यसमेत रहेका किरण पौडेल केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुअघि जनसम्पर्क सल्लाहकार रहेका थिए। युवा संघका पूर्व केन्द्रीय अध्यक्षसमेत रहेका पौडेल २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट पराजित भएका थिए।
त्यसैगरी क्षेत्र नम्बर २ बाट बैजनाथ चौधरी, भगौती यादव, श्यामकुमार बस्याल र सरिता पौडेल सिफारिस भएका छन्। चौधरी लुम्बिनी प्रदेशका पूर्वमन्त्री हुन् भने यादव जिल्ला समन्वय समितिका प्रमुख हुन्। त्यस्तै श्यामकुमार बस्याल मदन भण्डारी फाउण्डेसन नवलपरासीका अध्यक्ष र पौडेल अनेमसंघको केन्द्रीय सदस्य र पार्टी जिल्ला सदस्य रहेकी छन्।
प्रतिक्रिया दिनुहोस !